अझै सुरु भएन बूढीगंगा जलविद्युत् आयोजनाको निर्माण- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अझै सुरु भएन बूढीगंगा जलविद्युत् आयोजनाको निर्माण

आयोजनाका हरेक काम गर्दा साउदीले स्विकारेपछि मात्रै काम सुरु गर्न पाउने सम्झौतामा उल्लेख
मेनुका ढुंगाना

अछाम — अछामको साँफेबगर नजिकै ठाँटीमा निर्माण हुने २० मेगावाटको अर्धजलाशययुक्त बूढीगंगा जलविद्युत् आयोजनाको डीपीआर तयार भएको एक वर्ष भइसक्दा पनि निर्माण कार्य भने अझै सुरु भएको छैन ।

अछामस्थित बूढीगंगा जलविद्युत् आयोजनाकोनिर्माण स्थल । तस्बिर : कान्तिपुर

कतार र साउदी अरबको ऋण लगानीमा आयोजनाको काम सुरु हुने भएकाले ठेक्का साउदी अरबले स्वीकार गरेपछि मात्रै आयोजनाले काम गर्न पाउने सर्त छ । आयोजना निर्माणका लागि २०१४ जुन १८ मा साउदी फन्ड फर अरब डेभलपमेन्टसँग ६ अर्ब नेपाली रुपैयाँको ऋण सम्झौता भइसकेको छ ।

उक्त सम्झौतामा आयोजनाका हरेक काम गर्दा साउदीले स्विकारेपछि मात्रै काम सुरु गर्न पाउने उल्लेख छ । ‘ठेक्का प्रक्रियामा हामी गइसकेका थियौं । डीपीआर तयार भएपछि आयोजना निर्माणका लागि पनि अघि बढेका थियौं । तर अन्तिममा साउदीलाई प्रि–क्वालिफिकेसन देखाउँदा भएन भन्दै रिजेक्ट गर्‍यो,’ आयोजनाका साइट इन्चार्ज इन्जिनियर वीरबहादुर बोहराले भने, ‘हामीले आफ्नो तरिकाले काम गरेका हुन्छौं । अन्तमा साउदीले रिजेक्ट गरिदिन्छ । ऋण सम्झौतामा नै साउदीले स्वीकृत गरेपछि आयोजनाको काम अघि बढाउन पाउने सम्झौता छ ।’

उनका अनुसार आयोजनाले एक वर्षको अवधिमा निर्माणका लागि अघि बढाएको ठेक्का प्रक्रियालगायतका अन्य कार्य साउदीले नमानेपछि पुनः साउदी अरबले स्विकार्ने गरी काम अघि बढेको छ । ‘एक वर्षसम्म सबै कागजात तयार पार्दा समय, खर्च र जनशक्ति प्रयोग गरेको खेर गयो । नेपाल सरकारले साउदीसँग वार्ता गरेको भए रिजेक्ट नहुने अवस्था पनि हुन्थ्यो,’ साइट इन्चार्ज बोहराले भने, ‘आयोजनाको निर्माण प्रक्रिया सुरु हुन अब कम्तीमा पनि एक वर्ष लाग्छ । यस्ता आयोजनामा सरकारको चासो के कति हुन्छ, त्यसमा पनि भर पर्छ ।’

अछाममा निर्माण हुने २० मेगावाटको बूढीगंगा अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि नेपाल सरकारले साउदी सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । २०७२ असार १४ गते सम्झौता भई २०७३ पुसमा जिम्मा पाएका अस्ट्रेलियन कम्पनी स्मेक इन्टरनेसनल प्रालि र नेपालको उदय कन्सल्टेन्सीले १ वर्षअघि डीपीआर तयार पारेको हो । डीपीआर तयार गर्न करिब १९ करोड ९१ लाख लागत छ । सरकार आफैंले निर्माण गर्ने २० मेगावाट क्षमताको बूढीगंगा जलविद्युत् आयोजनाको निर्माणका लागि २०५२ देखि नै अध्ययन सुरु भएको थियो । सन् १९९७ मा सम्पन्न सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन अध्ययनअनुसार अनुमानित कुल लागत नेपाली मुद्रामा करिब ६ अर्ब अर्थात् ६० मिलियन अमेरिकी डलर रहेको छ ।

आयोजना कार्यालयका अनुसार इन्जिनियरिङ डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन अध्ययन गरी ऋण सम्झौता भइसकेको छ । त्यसैगरी २०१२ जुलाई ४ मा कुवेत फन्ड फर अरब इकोनोमिक डेभलपमेन्टसँग ५ मिलियन कुवेती दिनार (१.८ अर्ब रुपैयाँ) ऋण सम्झौता भइसकेको छ । बाँकी रकम सरकारले बेहोर्ने उक्त ऋण सम्झौतामा उल्लेख छ । बूढीगंगा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा खपत हुने र बाँकी विद्युत् कैलालीको पहलमानपुरसम्म पुर्‍याएर केन्द्रीय प्रसारण लाइनमा जोड्ने लक्ष्य छ । ८ दशमलव ६४ हेक्टर क्षेत्रफल रहेको आयोजनाको मुख्य संरचनामा बाँध, इन्टेक, सेटलिङ, बेसिन, सुरुङ, सर्जट्यांक, विद्युत् गृह, टेलरेस, सब–स्टेसन, प्रसारण लाइन रहनेछन् ।

प्रकाशित : श्रावण १, २०७८ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्

महामारीमा घर फर्केर व्यवसाय

उन्नत जातका बाख्राबाट किसानलाई राम्रो आम्दानी
मेनुका ढुंगाना

अछाम — कोरोनाको बढेपछि भारतका विभिन्न सहरबाट घर फर्केका युवा गाउँमै विभिन्न पेसा व्यवसायमा आबद्ध हुन थालेका छन् । कतिपय कोरोनाको पहिलो लहरपछि पनि भारत नै कामको सिलसिलामा फर्किए भने कतिपय गाउँमै बाख्रा पालन, कुखुरा पालन र तरकारी खेती सुरु गरेका छन् । 

भारतबाट फर्केर बाख्रापालनमा लागेका कमल बजारका युवा । तस्बिर : मेनुका/कान्तिपुर

‘कम मिहिनेत र लगानीमै राम्रै आम्दानी हुन थालेपछि यसतर्फ आकर्षण बढेको हो’ अछामको कमलबजार नगरपालिका–६ का दीपेन्द्र शाहीले भने, ‘कोरोनाको कारणले बम्बै गएर पनि काम पाइने जस्तो देखिएन । अहिले गएकाहरूले पनि काम पाएका छैनन् । बाख्रा र खसी गरी जम्मा २५ वटा पालेको छु । माग हेरेर अरू थप गर्छु ।’

पछिल्लो समयमा बाख्रापालनको राम्रो सम्भावना भएकाले यो व्यवसायमा आकर्षण बढेको कृषकहरू बताउँछन् । उन्नत जातका बाख्राबाट जन्मिएका बोका हुर्काएर खसी पारी कृषकले मासुका रूपमा बिक्री गर्न थालेपछि राम्रो आम्दानी गर्न थालेका छन् ।

बजारमा खसीको मासु प्रतिकेजी ७ सय पुगेपछि अछामका कृषक बाख्रा पालेर लाखौं रुपैयाँ आयआर्जन गरिरहेका छन् । गाईभैंसी पालेर दूध बिक्री गर्नुभन्दा बाख्रा खसी पाल्दा बढी आम्दानी हुन थालेपछि बाख्रा पालन सुरु गरेको ढकारी गाउँपालिका–४ बलाताका सेतबहादुर कामीले बताए । ‘छोराछोरीको पालनपोषण गर्न, पढाउने खर्च जुटाउन भए पनि अहिले बाख्रा पालन सुरु गरेँ’ उनले भने, ‘अहिले मसँग २१ बाख्रा छन् । ४ छोराछोरीको पढाइ खर्च निकाल्न सकिएको छ । कोरोनाले आत्मनिर्भर बन्न सिकायो ।’

दीपेन्द्र र सेतबहादुर मात्रै होइन भारतबाट फर्केका अन्य युवाले पनि ससानाृ व्यवसाय सुरु गरेका छन् । दसैं र अन्य समयमा समेत यहाँका खसी बाख्राले अछाम सदरमुकाम मंगलसेन, सुर्खेत दैलेख र नेपालगन्जसम्म बजार पाउने गरेको ढकारीकी स्थानीय आइता साउदले बताइन् । ‘यहाँका धेरै महिलाको माइतीघर सुर्खेत र दैलेखमा छ । चिनजान पनि उतै हुने भएकाले माइत जाने निहुँमा खसी बाख्रा बेचेर पनि आउँछौं,’ उनले भनिन्, ‘ भारतबाट श्रीमान् आएका छन् । अहिले दुवै जना मिलेर व्यवसाय गरिरहेका छौं ।’

पहिले २/४ वटा बाख्रा पालेर गुजारा गरिरहेकी ढकारी गाउँपलिका–४ की कला साउदले श्रीमान्को साथ पाएपछि व्यावसायिक रूपमा बाख्रा पालन सुरु गरेको बताइन् । ‘पहिले ६ महिना पनि खाना नपुग्ने परिवारमा बाख्रापालन गरेर समाजमा आर्थिक हैसियत राम्रो बनाउन सकेकी छु । भारतबाट फर्किएपछि दुवै जना यसैमा लागेका छौं’ उनले भनिन् । १५/१६ वटा बाख्रा पाल्दै आएकी साउदले घर खर्च मात्र नभई छोराछोरीलाई पढाउन पनि सजिलो भएको बताइन् । बाख्राको उचित स्याहारसुसार गर्ने हो भने आम्दानीको गतिलो माध्यम बन्ने उनको भनाइ छ ।

कुनै सरकारी तथा गैरसरकारी संस्थाको सहयोगबिना व्यवसाय गर्ने मान्छे भेटिन मुस्किल परेका बेला आफ्नो गाउँका महिलाले गरेको व्यवसाय देखेर प्रभावित भएको ढकारी गाउँपालिका– ४ का वडाध्यक्ष भक्तबहादुर बुढाले बताए । ‘अनुदानबिना नै यहाँका स्थानीयले आफ्नै लगानीमा व्यवसाय सुरु गरेका छन् ।’ उनले भने, ‘गाउँपालिकाले व्यवसाय भरपर्दो बनाउनका लागि आगामी दिनमा सहयोग गर्नेछ ।’

प्रकाशित : असार ३१, २०७८ १०:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×