कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुदूरपश्चिममा ४१ हजारले लगाए कोरोना खोपको पहिलो डोज

‘धनगढीबाट सबै जिल्ला र पालिकामा तत्काल  खोप अभियान सञ्चालन गर्ने योजना बनाएका छौं’
अर्जुन शाह

धनगढी — सुदूरपश्चिममा कोरोनाविरुद्धको कोभिसिल्ड खोप पहिलो मात्रा पाएका २ लाख ५ हजार ५ सय ६ जनामध्ये ३७ हजार ९ सय ६ जनाले मात्रै दोस्रो मात्रा पाएका छन् ।

सुदूरपश्चिममा ४१ हजारले लगाए कोरोना खोपको पहिलो डोज

भारतमा उत्पादित उक्त खोपको दोस्रो मात्रा नपाएका १ लाख ६७ हजार ६ सय जनाले कहिले पाउने यकिन छैन । चीनबाट आएको भेरोसेल खोप भने यहाँका बासिन्दाले पाउने भएका छन् । सुदूरपश्चिममा यतिबेला भेरोसेलको दोस्रो मात्रा खोप अभियान सञ्चालन भइरहेको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ४१ हजार ४ सय ८८ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् । दोस्रो मात्रा लगाउनेको संख्या बुधबारसम्म २९ हजार २ सय ७८ छ । दोस्रो मात्रा अहिले पनि विभिन्न जिल्लामा चलिरहेको निर्देशनालयले जनाएको छ । पहाडी जिल्लाका कतिपय ठाउँमा दोस्रो मात्रा खोप अभियान चलिरहे पनि पहिलो मात्रा लगाएका कतिपय व्यक्तिहरू अझै खोप लगाउन नआएको स्वास्थ्यकर्मीले बताए । ‘अब आउने खोप अभियानका लागि औपचारिक परिपत्र अझै आइसकेको छैन । मापदण्ड तोकेर परिपत्र आउनासाथ तीव्र गतिमा खोप अभियान चलाउने छौं,’ बाजुराको टाँटे स्वास्थ्यचौकीका इन्चार्ज दीपक शाहले भने ।

यसै सातासम्ममा थप भेरोसेल र जोन्सन एन्ड जोन्सनको पहिलो मात्रा यस प्रदेशमा आइपुग्ने भएको छ । यो चरणमा पहिलो मात्रा लगाउन भेरोसेलेको ९८ हजार ६ सय २८ भाइल आउने भएको छ । एउटा भाइल दुई जनालाई लगाउन मिल्नेछ । जसअनुसार १ लाख ९७ हजार २ सय ५६ जनाले भेरोसेल खोप पाउने छन् । निर्देशनालयले प्रदेशका ९ वटै जिल्लाले पाउने उक्त खोपको भाग पनि छुट्याइसकेको छ । त्यसअनुसार सबैभन्दा बढी कैलालीमा ६३ हजार ३ सय ७१ जनाले खोप पाउने छन् । दार्चुलामा १० हजार १ सय ६२ जनालाई खोप दिइनेछ ।

बाजुरामा १० हजार २ सय ४३, बझाङमा १५ हजार १ सय ८८, बैतडीमा १७ हजार ८ सय ९६ जनालाई भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ । यस्तै, डडेलधुरामा ११ हजार ३ जना, डोटीमा १४ हजार ६१, अछाममा १८ हजार ८ सय ५९ र कञ्चनपुरमा ३६ हजार ४ सय ६३ जनालाई उक्त खोप लगाउने योजना रहेको स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । ‘दुई–तीन दिनभित्रै खोप धनगढी पुग्ने योजना छ । धनगढीबाट सबै जिल्ला र पालिकाहरूमा तत्काल ढुवानी गरेर खोप अभियान सञ्चालन गर्ने योजना बनाइसकेका छौं,’ उनले भने, ‘बाटोघाटो र अन्य केही प्राविधिक कारणले रोकिएको अवस्थामा बाहेक सबै ठाउँमा निर्धारित समयमै खोप अभियान सञ्चालन हुन्छ ।’

यस्तै, अमेरिकामा उत्पादित जोन्सन एन्ड जोन्सन खोपको २८ हजार २ सय भाइल सुदूरपश्चिममा आउने भएको निर्देशनालयले जनाएको छ । एउटा भाइलबाट ५ जनालाई लगाउन पुग्ने मात्रा हुन्छ । जसअनुसार १ लाख २५ हजार २ सय ४० जनाले जोन्सन एन्ड जोन्सन खोप पाउने छन् । यो खोप पनि सबैभन्दा धेरै कैलालीका ४० हजार ७ सय ९३ र सबैभन्दा कम दार्चुलाका ६ हजार १ सय ५८ जनालाई दिइने भएको छ ।

अब आउन थालेको भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई लगाइने योजना छ । यसबाहेक सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरू, विश्वविद्यालय र विद्यालयका शिक्षक तथा कर्मचारीहरू, अत्यावश्यक सेवा प्रवाहमा संलग्न व्यक्तिहरूलाई खोप उपलब्ध गराउने योजना छ । विदेश जाने नेपाली नागरिकलाई पनि अबको खोप दिइने योजना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गत जेठ २५ गतेदेखि यस प्रदेशमा भेरोसेलको पहिलो खोप लगाइएको थियो । ‘त्यसबेला हामी त पालै नपाएर फर्किनुपरेको थियो,’ धनगढी–५ का ६५ वर्षीय लालप्रसाद भट्टले भने, ‘अब त्यसो नहोस् ।’ पहिलो मात्रा लगाएकाहरूलाई यतिबेला दोस्रो मात्रा दिइराखेको छ । यसअघि उपलब्ध भएको खोप तोकिएको उमेरभन्दा पनि अन्य क्षेत्रकाले पनि पाएका भए पनि अबको खोपमा भने तोकिएको उमेरका व्यक्तिलाई लक्षित गरिएको निर्देशक डा. अवस्थी बताउँछन् ।

प्रकाशित : श्रावण १, २०७८ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?