१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बाढीले ४० परिवार विस्थापित

मोहन बुढाऐर

धनगढी — कैलालीको गोदावरी नगरपालिकाका विभिन्न वडाका बस्तीमा बाढी पस्दा ४० परिवार विस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय अत्तरियाका अनुसार बुधबार रातिदेखिको अविरल वर्षाले चुरेबाट निस्कने भालुखोला र गोदावरी नदीमा आएको बाढीले वडा १ र ४ का विभिन्न बस्ती जलमग्न भएका छन् ।

बाढीले ४० परिवार विस्थापित

भालु खोलाले वनखेतका ४ र बास्कोठाका १० घरमा बाढी पसेको छ । उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । ढल निकास नहुँदा गोदावरीे नगरपालिकाको केन्द्र रहेको अत्तरिया बजारसमेत जलमग्न भएको छ । गोदावरीको गेटा मेडिकल कलेज आसपास क्षेत्रका बासिन्दाको घरभित्र पनि स्थानीय खोलाको बाढी पसेको छ ।

वडा १३ गेटाको श्रीलंका शिविरका मुक्त कमैयाको घरभित्र पनि मोहना नदीको बाढी पसेको छ । शिविरका ३० परिवारलाई उद्धार गरेर स्थानीय स्कुलमा राखिएको छ । शिविरमा मोहना नदीको बाढी पसेको हो ।

कैलालीका कर्णाली, मोहना, पथरिया, शिवगंगा, गौरीगंगालगायतका चुरेबाट निस्कने नदी र ती नदीका सहायक नदीमा समेत भारी वर्षाले पानीको बहाव बढेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षा सतर्कता अपनाउन आह्वान गरिएको कैलाली जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । ‘बाढी पूर्वअनुमान महाशाखाले संकेत गरेका नदी र तिनका सहायक नदीमा सम्भावित बाढीको जोखिमलाई ख्याल गर्दै प्रहरी संयन्त्रको माध्यमबाट स्थानीयलाई पूर्वजानकारी गराउने काम भएको छ,’ उनले भने, ‘बाढीपहिरो बिपद् व्यवस्थापनका लागि कार्ययोजना पनि तयार गरिएको छ ।’

प्रकाशित : श्रावण १, २०७८ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?