बाढीले ४० परिवार विस्थापित- सुदूरपश्चिम - कान्तिपुर समाचार

बाढीले ४० परिवार विस्थापित

मोहन बुढाऐर

धनगढी — कैलालीको गोदावरी नगरपालिकाका विभिन्न वडाका बस्तीमा बाढी पस्दा ४० परिवार विस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय अत्तरियाका अनुसार बुधबार रातिदेखिको अविरल वर्षाले चुरेबाट निस्कने भालुखोला र गोदावरी नदीमा आएको बाढीले वडा १ र ४ का विभिन्न बस्ती जलमग्न भएका छन् ।

भालु खोलाले वनखेतका ४ र बास्कोठाका १० घरमा बाढी पसेको छ । उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । ढल निकास नहुँदा गोदावरीे नगरपालिकाको केन्द्र रहेको अत्तरिया बजारसमेत जलमग्न भएको छ । गोदावरीको गेटा मेडिकल कलेज आसपास क्षेत्रका बासिन्दाको घरभित्र पनि स्थानीय खोलाको बाढी पसेको छ ।

वडा १३ गेटाको श्रीलंका शिविरका मुक्त कमैयाको घरभित्र पनि मोहना नदीको बाढी पसेको छ । शिविरका ३० परिवारलाई उद्धार गरेर स्थानीय स्कुलमा राखिएको छ । शिविरमा मोहना नदीको बाढी पसेको हो ।

कैलालीका कर्णाली, मोहना, पथरिया, शिवगंगा, गौरीगंगालगायतका चुरेबाट निस्कने नदी र ती नदीका सहायक नदीमा समेत भारी वर्षाले पानीको बहाव बढेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षा सतर्कता अपनाउन आह्वान गरिएको कैलाली जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । ‘बाढी पूर्वअनुमान महाशाखाले संकेत गरेका नदी र तिनका सहायक नदीमा सम्भावित बाढीको जोखिमलाई ख्याल गर्दै प्रहरी संयन्त्रको माध्यमबाट स्थानीयलाई पूर्वजानकारी गराउने काम भएको छ,’ उनले भने, ‘बाढीपहिरो बिपद् व्यवस्थापनका लागि कार्ययोजना पनि तयार गरिएको छ ।’

प्रकाशित : श्रावण १, २०७८ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्

प्रारम्भलाई गाडीको डर

सानो क्षेत्रमा खुम्चिए आक्रामक हुन्छन्, जुध्छन्, भाले–पोथी भेट नभए प्रजनन प्रक्रिया खलबलिन्छ
रमेशकुमार पौडेल

चितवन — तन्नेरीहरू निडर हुनु अस्वाभाविक होइन । ‘प्रारम्भ’ करिब ७/८ वर्षको भाले हो । मस्त र तन्दुरुस्त भालेलाई केको डर होला र ? तर ऊ डराएको खुल्यो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा भइरहेको अध्ययनले यस्तो देखाएको छ । 

पर्सा राष्ट्रिय निकुञ्जमा सेटलाइट कलर जडान गरिएको ‘प्रारम्भ’ नामको बाघ । तस्बिर सौजन्य : एनटीएनसी

‘प्रारम्भ’ नाम पर्सा राष्ट्रिय निकुञ्जको त्यो भाले बाघलाई दिइएको हो, जसलाई गत फागुन २ मा सेटलाइट कलर जडान गरेर छाडिएको छ । उक्त यन्त्र राखेपछि बाघ कहाँ कहाँ डुल्यो भन्ने जीपीएस ट्र्याकिङको तथ्यांक कम्प्युटर सफ्टवेयरमा आउँछ । पथलैया–वीरगन्ज सडकदेखि पूर्व रहेको जंगलमा ‘प्रारम्भ’ भेटिएको थियो ।

सेटलाइट कलरले दिने संकेतको अध्ययन चितवन सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयबाट गरिन्छ । कोषको सौराहा कार्यालयका प्रमुख बाबुराम लामिछाने ती संकेतहरू हेरेर प्रारम्भ कहाँ कहाँ पुग्यो, कति समय रोकियो, हिँडाइको चाल कस्तो रह्यो भन्ने नियालिरहेका हुन्छन् । ‘कलर राखेपछि संकेतहरू नियमित आइरहेको छ । ती हेर्दा के देखियो भने त्यो बाघले मे २० (जेठ ६) मा मात्रै राजमार्ग पार गरेर पश्चिम क्षेत्र लागेको छ,’ लामिछानेले भने । तीन महिनामा यो बाघ डुल्दाडुल्दै सवारी आवागमनको चाप रहने राजमार्गमा नआएको होइन । चार/पाँच पटक राजमार्ग नजिक आयो । तर पार गरेर पश्चिम लागेन । राजमार्गको आडैआड उत्तर लागेर फेरि पूर्व नै मोडियो ।

उत्तरमा पनि पूर्वपश्चिम राजमार्ग पर्छ । तीन महिनासम्म बाघले न वीरगन्ज–पथलैया सडक नाघ्यो न त पूर्वपश्चिम राजमार्ग पार गर्‍यो । कोरोना संक्रमण बढ्दै गएपछि मध्य वैशाखपछि धेरै ठाउँ निषेधाज्ञा लाग्यो । यात्रु बसहरू चलेनन् । निजी गाडीहरू पनि धेरै हदसम्म बन्द भए । अनुसन्धानकर्ता लामिछानेलाई लाग्छ ‘सडकमा गाडी चल्न कम भएपछि नै बल्ल बाघले राजमार्ग नाघ्यो ।’

उनलाई यही नै सत्य हो झैं पनि लाग्छ । ‘किनकि अहिले धेरै हदसम्म निषेधाज्ञा खुकुलो भएको छ । गाडी चल्न थालेका छन् । पूर्वबाट राजमार्ग पार गरेर निकुञ्जको पश्चिम भागको जंगलमा आएको पाटे बाघ फेरि फर्कन सकेको छैन । पहिला पूर्व थियो, दुई चार दिन भयो अहिले पश्चिममा बसेको छ,’ लामिछानेले भने । गाडी कम हुँदा राजमार्ग कटेर पश्चिम पुगेर ८/१० किलोमिटर डुलेर फर्कने बाघ अहिले रोकिन थालेको छ ।

सेटलाइट कलर राख्नुअघि त्यो क्षेत्रमा कतिवटा बाघ होलान् भनेर थाहा पाउन क्यामेरा राखेर हेरेको लामिछानेले बताए । त्यो बेला क्यामेरामा परेका पाँच बाघमध्ये दुइटा भाले थिए । ‘हामीले सेटलाइट कलर राखेर हेरेको बाघको दैनिकी यस्तो देखियो । अरूको पनि सायद यही नै हो । बाघ मात्रै हैन वनमा रहेका अन्य सानाठूला जीवजन्तु सबैको अवस्था यही होला,’ उनले भने ।

पर्सा निकुञ्जमा मात्रै नभएर चितवनमा अध्ययन गर्दा पनि यस्तै पाइएको उनले बताए । चितवन निकुञ्जलाई चुरेर महाभारत पर्वत शृंखलासँग जोड्ने जैविक मार्ग हो बरन्डाभार वन । यो वनको टिकौली खण्डलाई पूर्वपश्चिम राजमार्गले चिरेको छ । ‘टिकौली जंगलमा पनि राजमार्गको तल–माथि क्यामेरा राखेर बाघको गतिविधि हेरेका थियौं । तल्लो खण्डमा क्याप्चर भएका बाघको फोटो माथिल्लो क्यामेरामा परेन,’ उनले भने ।

व्यस्त राजमार्ग पार गर्न खोज्दा गाडीको ठक्करले बाघहरू मारिएका पनि छन् । गत पुस १८ को बिहान बाराको पथलैया सडकमा कारको ठक्करले एउटा पाटेबाघ मरेको थियो । बाघ विश्वबाट लोप हुने जोखिममा रहेको दुर्लभ वन्यजन्तु हो । बाघको बासस्थल चिरेर जाने सडक, तिनमा हुइँकिने गाडीहरूले पनि उनीहरूलाई समस्यामा पार्न थालेको अध्ययनले देखाएको छ ।

‘त्यसैले हामीले वन्यजन्तु हिँडडुल गर्दा समस्या नआउने गरेर सडक र अन्य संरचना बनाउनुपर्छ भनेको हो,’ राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत बाघविज्ञ चिरञ्जीवी पोखरेलले भने । बाघकै विषयमा विद्यावारिधि गरेका पोखरेल हाल सदर चिडियाखाना जावलाखेलका प्रमुख पनि हुन् । आफ्नो बासस्थलमा वन्यजन्तु निस्फिक्री ओहोरदोहोर गर्न नपाए समस्याहरू आउने उनले बताए ।

‘बाघकै कुरा गर्ने हो भने सानो क्षेत्रमा खुम्चिए उसको आक्रामकपन बढ्छ । जुध्न थाल्छन् । बस्ती छिर्न थाल्छन् । भाले–पोथी भेट नभए प्रजनन प्रक्रिया खलबलिन्छ । अन्धाधुन्ध हिँडे गाडीको ठक्करले मर्दछन् । मान्छेसँग जम्काभेट भएर दुर्घटना हुन्छ,’ उनले भने । यस्ता कुराहरू हेक्का नराख्दा मानव र वन्यजन्तु दुवैले नोक्सानी बेहोर्नुपर्ने उनको भनाइ छ ।

सडक बनाउँदा वन्यजन्तुको बासस्थल भएको क्षेत्रमा विशेष विधि अपनाउन उनले आग्रह गरे । पछिल्लो पटक सन् २०१८ को सेप्टेम्बरमा सार्वजनिक भएको तथ्यांकअनुसार नेपालभर २ सय ३५ बाघ छन् । चितवनमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ छन् ।

प्रकाशित : श्रावण १, २०७८ ११:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×