कैलालीको गोदावरीमा बाढी

नदी तटीय क्षेत्रलाई उच्च सर्तकतामा रहन आहृवान
मोहन बुढाऐर

धनगढी — कैलालीको गोदावरी नगरपालिकाका विभिन्न वडाका बस्तीमा स्थानीय नदीको बाढी पसेको छ । बाढीले दर्जनौं घर परिवार विस्थापित भएका छन् ।

कैलालीको गोदावरीमा बाढी

इलाका प्रहरी कार्यालय अत्तरियाका अनुसार बिहीबार रातिदेखि भएको वर्षाले चुरेबाट निस्केको भालु खोला र गोदावरी नदीमा आएको बाढीले वडा नम्वर १ र ४ का विभिन्न बस्ती जलमग्न भएका हुन् । भालु खोलाले वनखेतका ४ र बासकोठाका १० घरमा बाढी पसेको छ । उनीहरु अर्काको घरमा आश्रय लिएर बसेका छन् ।

श्रीलंका शिविर क्षेत्रको बाढी

त्यस्तै, ढल निकास नहुँदा गोदावरीको सदरमुकाम अत्तरिया बजारसमेत जलमग्न भएको छ । गोदावरीको गेटा मेडिकल कलेज आसपास क्षेत्रका बासिन्दाको घरभित्र पनि स्थानीय खोलाको बाढी पसेको छ । वडा नम्वर १३ गेटाको श्रीलंका शिविरका मुक्त कमैयाको घरभित्र पनि मोहना नदीको बाढी पसेको छ । शिविरका ३० परिवारलाई उद्धार गरेर स्थानीय विद्यालयमा राखिएको छ । शिविरमा मोहना नदीको बाढी लागेको हो ।

कैलालीका कर्णाली, मोहना, पथरिया, शिवगंगा, गौरीगंगालगायतका चुरेबाट निस्कने अन्य नदी र उक्त नदीका सहायक नदीमा समेत भारी वर्षाले पानीको बहाव बढेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षा सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित : असार ३१, २०७८ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?