१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कञ्चनपुरमा संक्रमण बढ्दै

भवानी भट्ट

कञ्चनपुर — निषेधाज्ञा खुकुलो भएसँगै कञ्चनपुरमा कोरोना संक्रमण बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार केही दिनयता संक्रमणको दर एकाएक बढेको छ ।

कञ्चनपुरमा संक्रमण बढ्दै

स्वास्थ्य कार्यालयका अनुसार मंगलबार पीसीआर र एन्टिजेन परीक्षण गराएकामध्ये ४४ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गराएका ८० जनामध्ये ३४ जनामा संक्रमण पुष्टि भएको छ । जुन ४२ प्रतिशतभन्दा बढी हो । एन्टिजेन परीक्षण गरिएका ३ सय ३६ मध्ये १० जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार पनि जिल्लामा २२ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालयका अनुसार ५० जनाको पीसीआर परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको थियो । ३ सय २४ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार आइतबार पनि १६ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसअघिसम्म जिल्लामा दैनिक १०/१२ जनामा संक्रमण पुष्टि भएको थियो । निको हुनेको संख्या पनि यही हाराहारीमा थियो । अहिले निको हुनेको संख्या दैनिक १०/१२ मात्रै छ । तर संक्रमित हुनेको संख्या भने दोब्बर–तेब्बर भएको छ । जसका कारण जिल्लामा फेरि जोखिम बढ्न थालेको स्वाथ्यकर्मीहरू बताउँछन् ।

‘संक्रमण फेरि एकाएक बढ्न थाल्यो,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले भने, ‘यही अवस्था रहे फेरि जोखिम बढ्न सक्छ ।’ उनका अनुसार दोस्रो लहरको संक्रमण ओरालो लागेपछि अवस्था सहज बन्दै गएको थियो । एक्कासि संक्रमण बढ्न थालेपछि नयाँ भेरिएन्ट आएको पनि हुन सक्ने उनले बताए । यस विषयमा तत्काल अध्ययन गर्नुपर्ने उनले बताए । पछिल्लो समय लक्षणसहितका बिरामी बढी देखिएका छन् । यसका आधारमा समेत नयाँ भेरिएन्ट आएको अनुमान गर्न सकिने उनले बताए । ‘अध्ययन र परीक्षण नगरी ठोकुवा गर्न मिल्दैन,’ जनस्वास्थ्य निरीक्षक भट्टले भने, ‘जुन अनुपातमा संक्रमण बढेको छ र लक्षणसहितका बिरामी देखिएका छन् यसलाई हेर्दा अर्को भेरिएन्टको अनुमान गर्न सकिन्छ ।’

एक/डेढ सातायता महाकाली प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराउनेको संख्या पनि बढेको छ । लक्षणसहितका बिरामी बढ्नुका साथै गड्डाचौकी नाकाबाट भारत जान कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरेपछि परीक्षण गराउने बढेका हुन् । एक साताअघिसम्म महाकाली प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराउनेको संख्या १०/१५ जनामा पुगेको थियो । अहिले दैनिक ७५/८० जनाको स्वाब संकलन र परीक्षण भइरहेको छ । पीसीआर ल्याबका इन्चार्ज केशवराज जोशीका अनुसार पछिल्लो २४ घण्टामा ८० जनाको नमुना परीक्षण गरिएको छ ।

महाकाली प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकाया भने अहिले संक्रमित देखिएकामध्ये अधिकांश सामान्य अवस्थाका रहेको बताउँछन् । उनका अनुसार केही दिनयता परीक्षण बढेका कारण संक्रमण बढेको हो । ‘अहिले नै धेरै जोखिम हुन्छ भन्न सकिन्न, तर यही अवस्थामा बढ्दै गए रोकथाम गर्न गाह्रो हुन्छ,’ उनले भने, ‘यसतर्फ सबैले सचेत हुनु आवश्यक छ ।’

जिल्लामा कोरोना संक्रमणका कारण हालसम्म १ सय ८७ जनाको मृत्यु भएको छ । दोस्रो लहर सुरु भएयता मात्रै १ सय ७१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ५४ छ । दोस्रो लहर सुरु भएपछि वैशाखयता मात्रै पीसीआर परीक्षणबाट ३ हजार ६ सय ३९ र एन्टिजेन परीक्षणबाट २ हजार ३ सय ६० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : असार ३१, २०७८ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?