१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

महामारीमा घर फर्केर व्यवसाय

उन्नत जातका बाख्राबाट किसानलाई राम्रो आम्दानी
मेनुका ढुंगाना

अछाम — कोरोनाको बढेपछि भारतका विभिन्न सहरबाट घर फर्केका युवा गाउँमै विभिन्न पेसा व्यवसायमा आबद्ध हुन थालेका छन् । कतिपय कोरोनाको पहिलो लहरपछि पनि भारत नै कामको सिलसिलामा फर्किए भने कतिपय गाउँमै बाख्रा पालन, कुखुरा पालन र तरकारी खेती सुरु गरेका छन् । 

महामारीमा घर फर्केर व्यवसाय

‘कम मिहिनेत र लगानीमै राम्रै आम्दानी हुन थालेपछि यसतर्फ आकर्षण बढेको हो’ अछामको कमलबजार नगरपालिका–६ का दीपेन्द्र शाहीले भने, ‘कोरोनाको कारणले बम्बै गएर पनि काम पाइने जस्तो देखिएन । अहिले गएकाहरूले पनि काम पाएका छैनन् । बाख्रा र खसी गरी जम्मा २५ वटा पालेको छु । माग हेरेर अरू थप गर्छु ।’

पछिल्लो समयमा बाख्रापालनको राम्रो सम्भावना भएकाले यो व्यवसायमा आकर्षण बढेको कृषकहरू बताउँछन् । उन्नत जातका बाख्राबाट जन्मिएका बोका हुर्काएर खसी पारी कृषकले मासुका रूपमा बिक्री गर्न थालेपछि राम्रो आम्दानी गर्न थालेका छन् ।

बजारमा खसीको मासु प्रतिकेजी ७ सय पुगेपछि अछामका कृषक बाख्रा पालेर लाखौं रुपैयाँ आयआर्जन गरिरहेका छन् । गाईभैंसी पालेर दूध बिक्री गर्नुभन्दा बाख्रा खसी पाल्दा बढी आम्दानी हुन थालेपछि बाख्रा पालन सुरु गरेको ढकारी गाउँपालिका–४ बलाताका सेतबहादुर कामीले बताए । ‘छोराछोरीको पालनपोषण गर्न, पढाउने खर्च जुटाउन भए पनि अहिले बाख्रा पालन सुरु गरेँ’ उनले भने, ‘अहिले मसँग २१ बाख्रा छन् । ४ छोराछोरीको पढाइ खर्च निकाल्न सकिएको छ । कोरोनाले आत्मनिर्भर बन्न सिकायो ।’

दीपेन्द्र र सेतबहादुर मात्रै होइन भारतबाट फर्केका अन्य युवाले पनि ससानाृ व्यवसाय सुरु गरेका छन् । दसैं र अन्य समयमा समेत यहाँका खसी बाख्राले अछाम सदरमुकाम मंगलसेन, सुर्खेत दैलेख र नेपालगन्जसम्म बजार पाउने गरेको ढकारीकी स्थानीय आइता साउदले बताइन् । ‘यहाँका धेरै महिलाको माइतीघर सुर्खेत र दैलेखमा छ । चिनजान पनि उतै हुने भएकाले माइत जाने निहुँमा खसी बाख्रा बेचेर पनि आउँछौं,’ उनले भनिन्, ‘ भारतबाट श्रीमान् आएका छन् । अहिले दुवै जना मिलेर व्यवसाय गरिरहेका छौं ।’

पहिले २/४ वटा बाख्रा पालेर गुजारा गरिरहेकी ढकारी गाउँपलिका–४ की कला साउदले श्रीमान्को साथ पाएपछि व्यावसायिक रूपमा बाख्रा पालन सुरु गरेको बताइन् । ‘पहिले ६ महिना पनि खाना नपुग्ने परिवारमा बाख्रापालन गरेर समाजमा आर्थिक हैसियत राम्रो बनाउन सकेकी छु । भारतबाट फर्किएपछि दुवै जना यसैमा लागेका छौं’ उनले भनिन् । १५/१६ वटा बाख्रा पाल्दै आएकी साउदले घर खर्च मात्र नभई छोराछोरीलाई पढाउन पनि सजिलो भएको बताइन् । बाख्राको उचित स्याहारसुसार गर्ने हो भने आम्दानीको गतिलो माध्यम बन्ने उनको भनाइ छ ।

कुनै सरकारी तथा गैरसरकारी संस्थाको सहयोगबिना व्यवसाय गर्ने मान्छे भेटिन मुस्किल परेका बेला आफ्नो गाउँका महिलाले गरेको व्यवसाय देखेर प्रभावित भएको ढकारी गाउँपालिका– ४ का वडाध्यक्ष भक्तबहादुर बुढाले बताए । ‘अनुदानबिना नै यहाँका स्थानीयले आफ्नै लगानीमा व्यवसाय सुरु गरेका छन् ।’ उनले भने, ‘गाउँपालिकाले व्यवसाय भरपर्दो बनाउनका लागि आगामी दिनमा सहयोग गर्नेछ ।’

प्रकाशित : असार ३१, २०७८ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?