१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सामान्य झरीमै बजार जलमग्न

भवानी भट्ट

कञ्चनपुर — आइतबार बिहान भएको वर्षाले कञ्चनपुर सदरमुकामसँंगै आसपासको क्षेत्र डुबानमा परेको छ । चुरे क्षेत्रबाट बग्ने खोलानालाहरूमा आएको बाढीका कारण महेन्द्रनगर बजार क्षेत्रसंँगै आसपासको बस्ती डुबानमा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–१० को श्रे मन्दिर आसपासका ६० घर डुबानमा परेका थिए ।

दिउँसोपछि डुबान कम भएको छ । यसैगरी सोही वडाको भुजेला खोला किनारका वस्ती समेत डुबानमा परेको छ । भुजेला खोला बस्तीमै पसेको थियो । भीमदत्त नगरपालिका–११ को भुजेला क्षेत्र पनि खोलाको बाढी पसेपछि डुबानमा परेको थियो । यसैगरी भीमदत्त नगरपालिकाको भासी, उल्टाखाम र निम्बुखेडा क्षेत्र समेत डुबानमा परेको स्थानीयले बताए ।

बिहान केहीबेर मात्रै भएको वर्षाले महेन्द्रनगर बजारसंँगै आसपासका बस्तीहरू भासी, ऐठपुर र जानकी टोल क्षेत्र जलमग्न बनेको थियो । व्यवस्थित ढल निकासको अभाव र खोला नाला मासेर घर निर्माण हुँदा हालका वर्षमा डुबानको समस्या बढ्दै गएको स्थानीय बताउँछन् । ‘खोला नाला मासेर घर बनाएपछि बजार क्षेत्रमा डुबानको समस्या बढ्दै गएको छ,’ महेन्द्रनगरका स्थानीय गणेश भट्टले भने, ‘सामान्य वर्षाले पनि डुबान हुन थाल्यो ।’ उनले खोला नालाको बहाव रोकिएर बस्ती जलमग्न हुने गरेको बताए ।

भीमदत्त नगरपालिका –१० जिमुवामा भुजेला खोला वस्तीतिर पस्दा १० घरहरू डुबानमा परेका थिए । दिउँसो खोलाको वहाव कम भएपछि घरभित्र पसेको पानी घटेको थियो । ‘बिहान डुबान भएर विस्थापित भएकाहरू पानी घटेपछि घर फर्किसकेका छन्,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले भने, ‘दिउँसोपछि सबै क्षेत्रमा पानी घटिसकेको छ ।’ उनका अनुसार दोधारा चाँदनी नगरपालिका –३ को जमुनाघाडी र वडा नं. १० को कतियाकभर क्षेत्रमा समेत डुबान भएको थियो । कुतियाकभरमा रहेको बीओपीसमेत डुबानमा परेको थियो ।

यसैगरी, आइतबार महाकाली नदीमा समेत बाढी आएको छ । डीएसपी न्यौपानेका अनुसार आइतबार दिउँसो महाकाली नदीमा पानीको बहाव १ लाख ३६ हजार क्युसेक पुगेको छ । शारदा ब्यारेजको पुलमा चार पांग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ । झण्डै सय वर्ष पुरानो पुल जीर्ण भएका कारणका जोखिम हुने भन्दै नदीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिक्कै चार पांग्रे सवारीसाधन आवागमनमा रोक लगाइन्छ ।

प्रकाशित : असार ३०, २०७८ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?