कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

लगातारको हिंसाले आत्महत्या !

वसन्तप्रताप सिंह

बझाङ — श्रीमान्को निरन्तरको यातना सहन नसकी बझाङमा एक महिलाले आत्महत्या गरेको परिवारले भने पनि  उनको हत्या भएको माइती पक्षको आरोप छ ।

खप्तडछान्ना गाउँपालिका–७ की २९ वर्षीया सुशीला रोकायाले श्रीमान्को यातना सहन नसकेर झुन्डिएर आत्महत्या गरेकी हुन् । उनले १६ वर्षअघि १३ वर्षकै उमेरमा खप्तड छान्नाको गडराय गाउँका बम्म रोकायासँग भागेर प्रेम विवाह गरेकी थिइन् । विवाहलगत्तै सुरु भएको यातनाले आत्महत्याको बाटो रोज्न बाध्य बनाएको उनका छिमेकीहरू बताउँछन् ।

विवाह गरेको केही महिनापछि नै बम्मले सुशीलालाई कुटपिट गर्न सुरु गरेका थिए । उनी घरमा हुँदा श्रीमती नपिटेको कुनै दिन खाली हुन्थेन । विद्यालयको परीक्षा छोडेर घर गएर उनले श्रीमतीलाई पिट्ने गरेको छिमेकीहरू बताउँछन् । ‘स्कुलमा परीक्षा चलिरहेको हुन्थ्यो, बिहान उहाँ (सुशीला) लाई पिटेर आएका रहेछन् । भागेर माइत जान भनेर हिँडेको खबर पाएपछि परीक्षा छोडेर सबैका अगाडि उनलाई कुट्दैकुट्दै ल्याएका थिए,’ मृतककी छिमेकी निर्पा रोकायाले भनिन्, ‘नकुटेको दिनै हुन्थेन ।’ असार १७ गते राति पनि मदिरा सेवन गरेर मात्तिएका बम्मले रातभर सुशीलालाई कुटेको स्थानीय बताउँछन् । घरभन्दा केही टाढा रहेको पसलमा बसेका बम्मले खाना खाएर छोराहरूलाई सुत्न पठाएपछि कुटपिट सुरु गरेका थिए । त्यसको भोलिपल्ट सुशीला पसलभन्दा दुई सय मिटर टाढा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको शरीरभरि चोटपटक र नीलडाम थियो ।

परिवारले उनले आत्महत्या गरेको भने पनि माइती पक्षले भने घटनाको प्रकृति हेर्दा आत्महत्या गरेको हुनै नसक्ने बताएका छन् । ‘उनी झुन्डिएको रूखमा पासो लगाउन प्रयोग गरिएको डोरी एकपटक चुडिएर फेरि अर्को ठाउँमा बाँधिएको छ । उनको शरीरभरि रगत बग्ने खालका घाउहरू भए पनि सबै घाउ सफा गरिएका छन् । खुट्टाबाट रगत बगेको भए पनि नजिकै राखिएका चप्पलमा रगत लागेको छैन ।’

मृतकका भाइ हेमराज थापा भन्छन्, ‘पासो लगाएको डोरीले कपाल र तौलिया पनि सँगै बाँधेको छ । घटनास्थलको अवस्था हेर्दा उनले आफैं पासो लगाएको नभएर कुटेर अधमरो बनाइसकेपछि लगेर झुन्ड्याएजस्तो देखिन्छ ।’ प्रहरीले गरेको मुचुल्कामा पनि त्यही उल्लेख भएको भन्दै उनले आफूहरूले हत्याको किटानी जाहेरी दिँदा प्रहरीले दबाब दिएर आत्महत्या दुरुत्साहनमा मुद्दा दिन लगाएको उनले बताए । ‘विवाह भएपछि दिनदिनै कुट्न थालेको थियो । धेरै यातना दिन थालेपछि हामीले दिदीलाई माइतीमै बस्न पनि भनेका थियौं,’ थापाले भने ‘मैले आफूखुसी विवाह गरेर गल्ती गरिहाले । अब बच्चाहरूको भविष्यका लागि भए पनि म ऊसँग जानै पर्छ । जस्तो यातना दिए पनि म आत्महत्या गर्दिनँ भन्थी । त्यस्तो मान्छेले आफैं पासो लगाइहोली भनेर कसरी पत्याउनु ।’ श्रीमान् मदिराको लतमा फसेर यातना दिने र दिनभर बिनाकाम बरालिने भए पनि सुशीलाले मजदुरी गरेर जोडेको पैसाले गाउँमा सानो खुद्रा पसल चलाएकी थिइन् । कमाएको पैसाले दुइ छोरालाई स्थानीय बोर्डिङ स्कुलमा पढाइरहेकी थिइन् ।

प्रकाशित : असार ३०, २०७८ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?