क्युडीका पहिरोपीडित अझै जंगलमा- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्युडीका पहिरोपीडित अझै जंगलमा

प्रतिपरिवार ३० किलो चामल राहत
ओत लाग्ने पाल पनि छैन
वसन्तप्रताप सिंह

बझाङ — गाउँ नै भासिएपछि जंगलमा आश्रय लिइरहेका बाजुराको हिमाली गाउँपालिका–५ क्युडीका पहिरोपीडितले घटनाको तीन सातापछि बल्ल प्रतिपरिवार ३० किलो चामल राहत पाएका छन् ।

बाजुराको हिमाली गाउँपालिका–५ क्युडी गाउँका पहिरोपीडित । तस्बिर सौजन्य : बिर्ख पाण्डे

घरबाट केही झिक्न नपाउँदै भाग्नुपरेकाले केहीले स्याउलाको ओत बनाएका छन् । केही ओडारमा बसेका छन् । खाद्यान्न अभावमा कन्दमूलले छाक टार्नुपरिरहेको अवस्थामा बिस्थापित भएको तीन सातापछि बिहीबार उनीहरूलाइ प्रतिपरिवार ३० किलो चामल बितरण गरिएको पीडितहरूले बताए ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले तत्काललाइ गाउँपालिकाका तर्फबाट ३० किलो चामल उपलव्ध गराइएको बताए । उनले बिस्थापित परिवारका लागि ओत लाग्ने व्यवस्थाका लागि नेपालगञ्जबाट ठूलो साइजको त्रिपाल मगाइएको जानकारी दिए । ‘त्रिपाल आइपुग्नेबित्तिकै वितरण गरिनेछ,’ उनले भने, ‘यसअघि जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको पालको साइज सानो भएकाले पीडित परिवारले प्रयोग गर्न समस्या भएको छ ।’ गाउँपालिकाले नेपालगन्जबाट खरिद गरेको पाल पनि सडक बिग्रिएकाले ल्याउन नसकिएको उनले बताए । ‘सीडीओ साबको पहलमा ३५ वटा पाल उपलब्ध भएको छ तर त्यो पनि साइज सानो र परिवार संख्या धेरे भएकाले बाँडेका छैनौँ,’ उनले भने, ‘गाउँपालिकाको स्रोतले भ्याउनेसम्म राहतमा केही नगद पनि बाँड्ने तयारी गरेका छौं ।’

विस्थापित परिवारले आश्रय लिएको ठाउँमा गाउँपालिकाले पाइप खरिद गरेर खानेपानी पुर्‍याइसकेको उनले सुनाए । यस्तै, पहिरोले विस्थापित वडा ४ का ४० परिवारलाई भने प्रतिपरिवार एउटा पाल र ३० किलो चामल वितरण गरिएको उनले बताए । क्युडीमा विस्थापित ९७ परिवार छन् । पहिरो प्रभावित क्षेत्र हेर्न आउनेहरूले राहत आइपुग्छ भनेर आश्वासन मात्रै दिने गरेको उनले गुनासो गरिन् । ‘ओढ्ने–ओछ्याउने छैन । ओत लाग्ने पाल पनि छैन । तीन/चार परिवार एउटै पालमा भेडाबाख्राजस्तै कोचाकोच गरेर बसेका छौँ । खुला ठाउँमा बस्दा कीराले टोकेर बालबच्चा रोएका रोयै छन्,’ अर्का विस्थापित पुण्या लुहारले भने, ‘हामी आपत्मा परेका छौँ । हाम्रा लागि बोलिदिने कोही भएन ।’

लामो समयसम्म जंगलमा असुरक्षित तरिकाले बस्नुपर्दा विस्थापितहरू बिरामी पर्न थालेको वडाध्यक्ष अम्मलाल कार्कीले बताए । ‘ज्वरो आउने, रुघाखोकी र झाडापखालाका बिरामीहरू बढिरहेका छन्,’ उनले भने ‘खुला ठाउँमा बस्नुपर्दा चिसो लागेर समस्या हुन थालेको छ ।’ उपचारका लागि गाउँपालिकाका स्वास्थ्यकर्मीलाई खटाउने तयारी भइरहेको उनले बताए ।

क्युडी गाउँको मुन्तिरबाट सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरिरहेको रुगिन–बिच्छ्या पहुँच मार्ग सडक बनाउदा गाउँ नै भासिएको गाउँपालिकाका प्राविधिकले बताएका छन् । गत वर्षको बर्खामा आएको बाढीले क्षतविक्षत बनाएको गाउँ डोजरले सडक खनेको केही दिनभित्रै भासिएको थियो ।

अहिले गाउँ चिराचिरा परेर भासिएको छ । कसैका घर भत्किएका र कसैका घर बांगाटिंगा भएका छन् ।जमिन भासिएर कमजोर भएपछि गाउँको बीच भाग भएर बग्ने खहरे खोलाले पनि कटान थालेकाले गाउँमा बस्न नमिल्ने भएको छ ।

प्रकाशित : असार २६, २०७८ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्

किर्ते योजना बनाएर १७ लाख भुक्तानी

दुवै उपभोक्ता समिति अध्यक्ष एकै व्यक्ति, कोषाध्यक्ष श्रीमती
वसन्तप्रताप सिंह

बझाङ — खप्तड छान्ना गाउँपालिकाले किर्ते योजना बनाएर रकम भुक्तानी गरेको पाइएको छ । कामै नभएका र स्थानीयलाई जानकारी नै नभएका दुई वटा किर्ते योजना बनाएर पालिकाले करिब १७ लाख ७९ हजार रुपैयाँ भुक्तानी दिएको हो । 

कान्तिपुरलाई प्राप्त कागजातअनुसार खप्तड छान्ना गाउँपालिकाले वडा ४ को पसलबगर चौका सडक सुधार नामको नक्कली योजना बनाएर २ लाख ७० हजार ४ सय ५५ र सिल्का घट्ट सिँचाइ कुलो निर्माण नामको अर्को नक्कली योजना बनाएर १४ लाख ८ हजार ८ सय १७ रुपैयाँ भुक्तानी दिएको हो ।

कामै नभएको योजनामा रकम भुक्तानी दिएको थाहा पाएपछि गाउँपालिकाका स्थानीय अचम्मित र आक्रोशित छन् । स्थानीयका अनुसार सिल्का घट्ट सिँचाइ कुलोको काम आर्थिक वर्ष २०७६/७७ मा भएको थियो । गाउँपालिकाकै ५ लाख लगानीमा निर्माण सम्पन्न भएको उक्त कुलोमा त्यसपछि कुनै काम भएको छैन । यस्तै गत आर्थिक वर्षमा निर्माण सम्पन्न भएको पसलबगर चौका सडकमा पनि यस वर्ष कुनै काम भएको छैन । ‘हुँदै नभएको योजनामा रकम भुक्तानी भएको सुनेर हामी त छक्क पर्‍यौं,’ खप्तडछान्ना–४ का भूपेन्द्र रोकायाले भने, ‘गाउँपालिका अध्यक्ष, वडाध्यक्ष मिलेर नक्कली योजना र उपभोक्ता समिति बनाएर रकम खाएका रहेछन् ।’

२०७७ फागुन र चैत महिनामा गठन गरेको भनिएका दुवै उपभोक्ता समितिका अध्यक्ष पनि एकै जना छन् । वडा ४ का अध्यक्ष भीमबहादुर रोकाया र वडासदस्य जानकीदेवी रोकायाको उपस्थितिमा गठन गरिएका दुवै समितिको अध्यक्षमा स्थानीय शमशेरबहादुर रोकायालाई राखिएको छ । समिति गठन गर्दा कागजमा २८ जनाको उपस्थिति देखाइएको भए पनि वडाध्यक्ष, वडासदस्य र समितिका मुख्य पदाधिकारीबाहेक अरूको हस्ताक्षर किर्ते गरिएको स्थानीय पदम रोकायाले दाबी गरे । उनले भने, ‘हाम्रो नाम बेचेर गाउँपालिकाको रकम कार्यकर्तालाई बाँड्ने काम भएको छ । दुई–चार जनाले साइन गरेर नक्कली योजना बनाएर रकम बाँड्ने जनप्रतिनिधिलाई कारबाही हुनुपर्छ ।’

किर्ते गरी बनाइएको उपभोक्ता समितिमध्ये सिल्का घट्ट सिँचाइ कुलो उपभोक्ता समितिको कोषाध्यक्षमा अध्यक्ष शमशेर रोकायाकै श्रीमती सुष्मा रावललाई कोषाध्यक्ष राखिएको छ भने समितिमा उपभोक्ता नै नभएका अर्को वडाका मानिसलाई पनि राखिएको पदमले बताए ।

गाउँपालिकाले भुक्तानी गरेको चेकमा पनि चार दिन अगाडि काटिएको छ भने चार दिनपछि काटिएको चेकको सिरियल नम्बर शंकास्पद देखिएको छ । उपभोक्ता समिति मात्रै नभई किर्ते अनुगमन प्रतिवेदन, कार्य सम्पन्न प्रतिवेदन बनाइएको, हुँदै नभएका योजनाको भुक्तानीका लागि सिफारिस गरिएकाले यसमा जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीहरू सबैको मिलेमतो देखिएको जिल्ला समन्वय समितिका सदस्य डबल बोगटीले बताए । ‘यसमा उपभोक्ता समिति मात्रै नभएर आफ्नै उपस्थितिमा किर्ते उपभोक्ता समिति बनाउने वडाध्यक्ष र सदस्यहरू, किर्ते मूल्यांकन गर्ने प्राविधिक, वडाध्यक्ष, भुक्तानी दिने प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षसमेतको मिलेमतो देखिन्छ,’ उनले भने । चार दिनपछि काटिएको चेकको सिरियल नम्बर अगाडि र चार दिनअघि अगाडि काटिएको चेकको पछाडि हुनुले पनि अरू काममा पनि अनियमितता भएको हुन सक्ने आशंका गर्न सकिन्छ ।

दुवै उपभोक्ता समिति अध्यक्ष रहेका शमशेरबहादुर रोकायाले पसलबगर चौका सडक गत दसैंमा बनाएको र रकम लिन बाँकी भएकाले भुक्तानी लिएको बताए । १४ लाख बढी रकम भुक्तानी गरिएको सिँचाइ कुलोमा चाहिँ कुनै काम नभएको उनले स्विकारे । एक वर्ष पहिला निर्माण भएको कृषिको भवनको पैसा लिन बाँकी रहेको र सोहीबापतको रकम सिँचाइ कुलो उपभोक्ता समितिको नाममा भुक्तानी लिएको उनले बताए । उनले भने, ‘पहिला बनाएको भवनमा ग्रिलसिल हालेका थियौं । सजिलो होला भनेर सिँचाइको खातामा हाल्न लगाएको हुँ ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षले पनि पहिला बनेको भवनको रकम मिलाउनका लागि भुक्तानी दिन खोजिएको तर प्रक्रिया नमिलेको बताए । प्रमुख प्रशासकीय अधिकृत दीपक रावलले भवनमा ग्रिल, शौचालयमा टायल हालेको लगायतको रकम दिन बाँकी रहेकाले अन्य शीर्षकमा दिन नमिल्ने हुँदा सिँचाइ कुलोको नाममा रकम भुक्तानी गरेको बताए । गाउँपालिका अध्यक्ष बर्क रोकायाले भने भवनमा सालको ढोका हाल्न लगाएकाले रकम भुक्तानी गरिएको प्रतिक्रिया दिए । सुरुमा आफूले यस विषयमा जानकारी नभएको उनले बताएका थिए ।

किर्ते योजनाका सम्पूर्ण कागजात गाउँपालिकामा पेस गरी चेकसमेत काटेर उपभोक्ता समितिका अध्यक्ष शमशेर रोकाया चेक साट्न जाँदा बैंकमा समातिएका थिए । खप्तड छान्ना गाउँपालिकास्थित प्राइम बैंकको शाखामा चेक जम्मा गर्न गएका उनको कागजात बैंककै एक स्थानीय कर्मचारीले देखेका थिए । प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भने घटनाबारे जानकारी पाउनेबित्तिकै प्रशासनको टोलीलाई छानबिनका लागि गाउँपालिकातर्फ पठाएको बताए ।

प्रकाशित : असार २५, २०७८ १२:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×