कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

क्युडीका पहिरोपीडित अझै जंगलमा

प्रतिपरिवार ३० किलो चामल राहत
ओत लाग्ने पाल पनि छैन
वसन्तप्रताप सिंह

बझाङ — गाउँ नै भासिएपछि जंगलमा आश्रय लिइरहेका बाजुराको हिमाली गाउँपालिका–५ क्युडीका पहिरोपीडितले घटनाको तीन सातापछि बल्ल प्रतिपरिवार ३० किलो चामल राहत पाएका छन् ।

क्युडीका पहिरोपीडित अझै जंगलमा

घरबाट केही झिक्न नपाउँदै भाग्नुपरेकाले केहीले स्याउलाको ओत बनाएका छन् । केही ओडारमा बसेका छन् । खाद्यान्न अभावमा कन्दमूलले छाक टार्नुपरिरहेको अवस्थामा बिस्थापित भएको तीन सातापछि बिहीबार उनीहरूलाइ प्रतिपरिवार ३० किलो चामल बितरण गरिएको पीडितहरूले बताए ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले तत्काललाइ गाउँपालिकाका तर्फबाट ३० किलो चामल उपलव्ध गराइएको बताए । उनले बिस्थापित परिवारका लागि ओत लाग्ने व्यवस्थाका लागि नेपालगञ्जबाट ठूलो साइजको त्रिपाल मगाइएको जानकारी दिए । ‘त्रिपाल आइपुग्नेबित्तिकै वितरण गरिनेछ,’ उनले भने, ‘यसअघि जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको पालको साइज सानो भएकाले पीडित परिवारले प्रयोग गर्न समस्या भएको छ ।’ गाउँपालिकाले नेपालगन्जबाट खरिद गरेको पाल पनि सडक बिग्रिएकाले ल्याउन नसकिएको उनले बताए । ‘सीडीओ साबको पहलमा ३५ वटा पाल उपलब्ध भएको छ तर त्यो पनि साइज सानो र परिवार संख्या धेरे भएकाले बाँडेका छैनौँ,’ उनले भने, ‘गाउँपालिकाको स्रोतले भ्याउनेसम्म राहतमा केही नगद पनि बाँड्ने तयारी गरेका छौं ।’

विस्थापित परिवारले आश्रय लिएको ठाउँमा गाउँपालिकाले पाइप खरिद गरेर खानेपानी पुर्‍याइसकेको उनले सुनाए । यस्तै, पहिरोले विस्थापित वडा ४ का ४० परिवारलाई भने प्रतिपरिवार एउटा पाल र ३० किलो चामल वितरण गरिएको उनले बताए । क्युडीमा विस्थापित ९७ परिवार छन् । पहिरो प्रभावित क्षेत्र हेर्न आउनेहरूले राहत आइपुग्छ भनेर आश्वासन मात्रै दिने गरेको उनले गुनासो गरिन् । ‘ओढ्ने–ओछ्याउने छैन । ओत लाग्ने पाल पनि छैन । तीन/चार परिवार एउटै पालमा भेडाबाख्राजस्तै कोचाकोच गरेर बसेका छौँ । खुला ठाउँमा बस्दा कीराले टोकेर बालबच्चा रोएका रोयै छन्,’ अर्का विस्थापित पुण्या लुहारले भने, ‘हामी आपत्मा परेका छौँ । हाम्रा लागि बोलिदिने कोही भएन ।’

लामो समयसम्म जंगलमा असुरक्षित तरिकाले बस्नुपर्दा विस्थापितहरू बिरामी पर्न थालेको वडाध्यक्ष अम्मलाल कार्कीले बताए । ‘ज्वरो आउने, रुघाखोकी र झाडापखालाका बिरामीहरू बढिरहेका छन्,’ उनले भने ‘खुला ठाउँमा बस्नुपर्दा चिसो लागेर समस्या हुन थालेको छ ।’ उपचारका लागि गाउँपालिकाका स्वास्थ्यकर्मीलाई खटाउने तयारी भइरहेको उनले बताए ।

क्युडी गाउँको मुन्तिरबाट सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरिरहेको रुगिन–बिच्छ्या पहुँच मार्ग सडक बनाउदा गाउँ नै भासिएको गाउँपालिकाका प्राविधिकले बताएका छन् । गत वर्षको बर्खामा आएको बाढीले क्षतविक्षत बनाएको गाउँ डोजरले सडक खनेको केही दिनभित्रै भासिएको थियो ।

अहिले गाउँ चिराचिरा परेर भासिएको छ । कसैका घर भत्किएका र कसैका घर बांगाटिंगा भएका छन् ।जमिन भासिएर कमजोर भएपछि गाउँको बीच भाग भएर बग्ने खहरे खोलाले पनि कटान थालेकाले गाउँमा बस्न नमिल्ने भएको छ ।

प्रकाशित : असार २६, २०७८ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?