३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अन्तरजातीय बिहे गरेकी युवतीलाई अभिभावकले घर फर्काए

अर्जुन शाह

धनगढी — अन्तरजातीय प्रेम विवाह गरेर घर छोडेको २१ दिनपछि युवतीका अभिभावकले उनलाई केटाको घरबाट फर्काएका छन् । अभिभावक र गाउँलेको डरले उनीहरु भागेर बाहिरै बसेका थिए ।

अन्तरजातीय बिहे गरेकी युवतीलाई अभिभावकले घर फर्काए

कैलालीको भजनी नगरपालिका–४ का प्रकाश विक र जानकी–८ की मालती रावल असार ४ गते घरबाट भागेका थिए । घर फर्किने क्रममा उनीहरुले बिहीबार कैलालीकै सत्तीघाट पुल नजिकको जंगलबाट भिडियो रेकर्ड गरेर आफूहरु असुरक्षित रहेको र जंगलमै बस्नु परेको बताएका थिए । प्रहरीका अनुसार उनीहरु दुवैको उमेर २० वर्ष पुगेको छैन ।

कैलाली प्रहरीका अनुसार घरबाट भागेको अवधिमा उनीहरु बुटवल गएर बसेको खुल्न आएको छ । भिडियो पोस्ट भएलगत्तै चौतर्फी चर्चा भएपछि प्रहरीले खोजतलास तीव्र बनाएको थियो । शुक्रबार दुवै जना प्रहरीको सम्पर्कमा रहेको र उनीहरु सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताए । मालतीलाई उनका अभिभावक पक्ष आएर घर लिएर गएका हुन् ।

‘दुवै जनासँग बुझ्दा घरबाट भागेर उनीहरु बुटवल गएर बसेको देखिएको छ । बिहीबार घर फर्किने क्रममा दुवैले सत्तीघाट पुल नजिक जंगलमा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको बुझिन आएको छ,’ प्रवक्ता विष्टले भने, ‘हिजो राति उनीहरु दुवै केटाकै घरमा बसेका हुन् । कसैले उनीहरुमाथि कुटपिट भएको हल्ला चलाएका भए पनि त्यस्तो केही छैन ।’

प्रहरीका अनुसार दुवैको उमेर २० वर्ष पुगेको छैन । २० वर्ष मुनिकाले विवाह गर्न पाउने कानुनी व्यवस्था छैन । प्रवक्ता विष्टका अनुसार केटाको उमेर १९ वर्ष र केटीको उमेर १८ छ ।

मालती अहिले आमासँगै धनगढीमा रहेको र थप जाँचबुझ भइरहेको प्रहरीको भनाइ छ । केटा भने इलाका प्रहरी कार्यालय भजनीबाट घर फर्किइसकेका छन् । घरबाट भागेपछि मालतीका अभिभावकले प्रहरी कार्यालयमा उजुरीसमेत दिएका थिए ।

प्रकाशित : असार २५, २०७८ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?