१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

टीकापुर अस्पताल २ सय शय्याको बनाइने

उपप्रादेशिक अस्पताल बनाउने निर्णय भयो तर बजेट व्यवस्था छैन
गणेश चौधरी

टीकापुर — बढ्दो बिरामीको चापसँगै प्रदेश सरकारले कैलालीको टीकापुर अस्पताललाई २ सय शय्याको बनाउने निर्णय गरेको छ । शय्या थपसँगै बिरामीले विशेषज्ञ चिकित्सकबाट उपचार सेवा पाउने टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले बताए । उनले भने, ‘विभिन्न भौतिक संरचना निर्माणसँगै जनशक्तिको आपूर्ति हुनेछ ।’

टीकापुर अस्पताल २ सय शय्याको बनाइने

प्रदेश सरकारले उपप्रादेशिक अस्पताल बनाउने निर्णय गरे पनि यो आर्थिक वर्षमा बजेटको व्यवस्था भने गरेको छैन । बजेटका लागि प्रदेश सरकारलाई घचघच्याउनुपर्ने अध्यक्ष रावलले बताए । ‘सुदूरपश्चिम सरकारको निर्णय स्वागतयोग्य छ । टीकापुरका जनताको भावनालाई सरकारले सम्बोधन गरेको छ,’ उनले भने, ‘निर्णय कार्यान्वयनका लागि प्रदेश सरकारले तत्परता देखाउनेछ भन्ने आशा छ ।’ उनका अनुसार बजेट विनियोजन नभए पनि प्रदेश सरकारले योजना बनाएर बजेट दिने भएको छ । संरचना तथा जनशक्तिका लागि सबैको जोडबल आवश्यक छ ।

टीकापुर अस्पतालका प्रमुख डा. रेमकुमार राईले अस्पताललाई उपप्रादेशिक अस्पताल बनाउने निर्णयले खुसी र चिन्ता दुवै लागेको बताए । उनले भने, ‘निर्णय हुनु खुसीको कुरा हो । निर्णय भइसकेपछि कार्यान्वयन त गर्नैपर्छ तर कार्यान्वयन कहिले हुने भन्ने चिन्ता हो ।’ अस्पताललाई उपप्रादेशिक अस्पताल बनाउने निर्णय भए पनि यो वर्ष बजेट विनियोजन नभएकाले कार्यान्वयन कहिले हुने भन्ने चिन्ता रहेको उनले बताए । उनले भने, ‘यो वर्ष कोभिडका कारण स्वास्थ्यमा बढी बजेट विनियोजन भएको भनिएको छ । बजेट नआए त निर्णयले मात्र खासै अर्थ लाग्दैन ।’ टीकापुर अस्पताललाई उपप्रादेशिक अस्पताल बनाउने निर्णय बाहिर आएपछि सामाजिक सञ्जालमा सबैले खुसी व्यक्त गरेका छन् । अस्पतालको सेवा वृद्धि हुने हो भने सुदूरपश्चिमका कैलाली र बर्दियाको आधा भागका जनताले प्रत्यक्ष राहत पाउने छन् ।

टीकापुर अस्पतालमा अहिले १६ जना डाक्टर र ३३ जना स्वास्थ्यकर्मी कार्यरत रहेका जनाइएको छ । अस्पतालमा हाडजोर्नी विशेषज्ञ, एमडीजीपी, स्त्रीरोग र बालरोग विशेषज्ञ डाक्टर कार्यरत छन् । २ जना विशेषज्ञ डाक्टरको मासिक पारिश्रमिक टीकापुर नगरपालिकाले भुक्तानी गर्दै आएको छ ।

प्रकाशित : असार १७, २०७८ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?