१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

विरलै सुनिन्छन् धमारी र चाँचरी...

मोहन शाही

डोटी — बाणेई धान बाणेई धान, निङलि सणो

बाणेई धान बाणेइ धान, गोणी पुछ बालो

निउणेई धान निउणेई धान, केलान घुतणी

पाकेई धान पाकेई धान, सुनन मुदणी

विरलै सुनिन्छन् धमारी र चाँचरी...

बायल सेर खेतमा अचेल बिहानैदेखि खटिएका हली, रोपनारी र बाउसेहरू थकित देखिन्छन् । सोमबार ठाडो बाजो (नरसिंहा), झ्याली, मिजुरा, ढोल, घण्टी लिएर गणेश नेपालीको टोली खेतमा पुग्छ । बाजागाजा घन्काउँदै माथिको चाँचरी गाउँदै हली, बाउसे र रोपनारीहरूलाई हौस्याउन थालेपछि फेरि जोसिँदै रोपाइँमा जुट्छन् ।

चाँचरीमा गणेशले निगालो जस्तो हर्लक्क बढेको, केराको पातझैं बाली झुलेको, सुनझैं धानका दाना फलोस् भन्दै मनोकामना सुनाए । पुराना इतिहास, वीरकथाहरू बताए । चाँचरी घन्कदै गएपछि रोपनारीहरूको जोसको ग्राफ पनि उक्लँदै गयो । चाँचरीले सेरा खेतको रोपाइँ भव्य उत्सवझैं लागिरहेको छ । डोटीको केआईसिंह–४ मा पर्ने बायलस्थित ठूला खेतहरूमा रोपाइँमा चाँचरी, धमारी जस्ता मौलिक गायनहरू घन्किन्छन् । सुदूरपश्चिममा रोपाइँका बेला चाँचरी, धमारी गाउने प्राचीन चलन हो । तर, पछिल्लो समय यो चलन हराउँदै गएको कलाकार गणेश नेपाली बताउँछन् ।

चाँचरी र धमारी संस्कृतिसँंगै खेती किसानीमा धेरैको रुचि हट्दै गएको उनको अनुभव छ । बाउबाजेले चाँचरी र धमारी गाउँदै हराभरा बनाएका उर्वर खेतहरू अहिले उजाड भइसकेको रोपनारी गोबडे नेपाली बताउँछिन् । धान उत्पादनमा वायल क्षेत्र जिल्लाकै उर्वर भेग मानिन्छ ।

किसानहरू अहिले पनि बायलमा कडा मिहिनेत गरी धानखेतीसँगै चाँचरी र धमारी गाउने चलन रहेको झिमेमालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक नरबहादुर कार्कीको भनाइ छ । ‘बायलमा पनि चाँचरी धमारी बिस्तारै कम हुँदै गए पनि केही अंश अझै बाँकी छ,’ प्रधानाध्यापक कार्की भने, ‘अन्यत्र भने सुनिन छाडेको छ ।’

डोटेली साहित्य र संस्कृतिमा अध्ययन गरिरहेका साहित्यकार तथा लेखक हेमन्त विवश भने चाँचरी र धमारी लोप हुन लागेकोप्रति चिन्ता व्यक्त गर्छन् । ‘केही सीमित क्षेत्रहरूमा मात्र मुस्किलले यी सुन्न, हेर्न पाइन्छन् । यो अत्यन्तै दुःखको कुरा हो’, विवशले भने, ‘धमारी र चाँचरीले कृषि पेसामा मानिसहरूलाई हर्ष उमंगका साथ मेहनत गर्न र आपसी सद्भाव र भाइचारा राख्न हौसला दिन्थ्यो ।’ संस्कृतिको लोपसँगै कृषि पेसा पनि संकटमा पर्दै गइरहेको तर्फ उनले संकेत गरे ।

चाँचरी गायनका माध्यमबाट विभिन्न राजारजौटा र वीर पुरुषका प्रशंसा गरिन्छ । राज्य व्यवस्थाको शासन प्रणालीको प्रशंसा गरिएको हुन्छ । त्यस्तै कुनै प्रेमी–प्रेमिकाका जीवनमा घटेका प्रेमका कथा, अवैध प्रेमबाट सिर्जित घटनाको समेत वर्णन चाँचरीमा गरिएको हुन्छ । चइत र चाँचरीमा चरित्र–वर्णनमा समानता देखिए पनि घटना विवरण भिन्नता छ ।

प्रकाशित : असार १५, २०७८ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?