तटबन्ध जोगाउन तारजाली थपिँदै

मनोज बडू

दार्चुला — लगातार वर्षाका कारण महाकाली नदीको बाढीले सदरमुकाम क्षेत्रमा निर्माणाधीन तटबन्ध कटान गर्ने जोखिम बढेको छ । जिल्ला सदरमुकाम खलंगास्थित महाकाली किनारमा निर्माणाधीन पक्की तटबन्ध माथिसम्म बाढीले कटान गर्ने जोखिम बढ्न थालेपछि ताराजाली राखेर मर्मत भइरहेको महाकाली नदी नियन्त्रण आयोजनाले जनाएको छ ।

तटबन्ध जोगाउन तारजाली थपिँदै

महाकालीको बहाव बढेपछि बंगाबगडको निर्माणाधीन तटबन्धमा नदी पस्न नदिन बहाव बढेकै दिनदेखि डोजर लगाएर तारजाली राख्ने काम भइरहेको आयोजना प्रमुख शोभाकर पौडेलले बताए । बंगाबगडको निर्माणाधीन तटबन्ध र सत्कार होटल नजिकैको सिडीमा नदीको बहाव आउन नदिन तारजाली र बालुवा भर्ने काम भइरहेको छ । आइतबार बेलुकादेखि नदीमा पानीको सतह घट्न थालेको छ ।

महाकाली नदीको सतह बढेर झन्डै सात मिटर उचाइसम्म पुग्यो । नदीको सतह बढ्दै जाँदा सदरमुकाम खलंगाको तटबन्धमा क्षति गरेर बजारमा समस्या हुने चिन्ता बढेको थियो । नदीको बहाव तटबन्ध माथि पस्न थालेपछि निर्माण व्यवसायीलाई रातिसम्म काम गर्न लगाएर जाली भरिएको पौडेलले बताए । नदीको बहाव बढेलगत्तै तटबन्ध जोगाउने काम भएकाले बंगाबगड क्षेत्रमा कटान हुन नसकेर जोगिएको आयोजना प्रमुख पौडेलले बताए ।

शनिबार रातिदेखि नै निरन्तर मजदुर र कर्मचारी परिचालन गरेर नदीको तत्कालीन बहाव कम गर्न सकिएको उनको भनाइ छ । उनका अनुसार बाढीको जोखिम कम गर्न तारजालीमा ढुंगा भरेर र बोरामा बालुवा भरेर तटबन्धको उचाइ बढाउने काम भइरहेको छ ।

तटबन्धको रिङ्गेतालदेखि कैलाशपति विद्यालयको पछाडिसम्मको क्षेत्रमा महाकालीको बढी बहाव बगेको छ । तटबन्धको अधिकांश ठाउँमा वर्षात्मा नदीको बहाव पुगे पनि रिङ्गेताल क्षेत्रमा भने महाकालीको ठूलो दबाब थेग्नुपरेको महाकाली नदी नियन्त्रण आयोजनाले जनाएको छ । उक्त क्षेत्रमा भारतीय खोतिला पहिरोदेखि पारिपट्टिको पुरानो तटबन्धका नदीको बहाव नेपालतर्फ मोडिएको छ । नदी साँघुरो भागमा बगेको र भारततिर उचो भागले पानी नेपालतर्फ बग्ने गरेको आयोजना प्रमुख पौडेलले बताए ।

प्रकाशित : असार ११, २०७८ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?