संक्रमित घट्दै

कञ्चनपुर — बिरामीले भरिभराउ देखिने आईसीयू कक्षका बेड लगभग खाली छन् । एचडीयू कक्ष पनि खालीजस्तै छ । आइसोलेसन वार्डमा पनि बिरामी छैनन् । तीन साताअघिसम्म कोरोना संक्रमित बिरामीले भरिभराउ रहेको महाकाली अस्पतालको अवस्था अब सामान्य बन्दै गएको छ । 

संक्रमित घट्दै

मंगलबार महाकाली अस्पतालमा कोरोना संक्रमित सात जनाको उपचार भइरहेको छ । तीमध्ये एक जनाको आईसीयूमा र अन्यको एचडीयूमा उपचार भइरहेको हो । ‘नयाँ थपिने बिरामीको संख्या पनि निकै कम भइसकेको छ,’ महाकाली अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले भने, ‘तीन/चार दिनमा एक/दुई जना बिरामी भर्ना भइरहेका छन् ।’

वैशाख अन्तिमदेखि जेठ पहिलो सातासम्म महाकाली अस्पतालमा अक्सिजनको हाहाकार थियो । अक्सिजनकै अभावले केही बिरामीको मृत्युसमेत भयो । धनगढी, नेपालगन्जबाट समेत सीमित मात्रामा मात्रै अक्सिजन आपूर्ति हुने गरेको थियो । ‘अहिले हाम्रै प्लान्टबाट अक्सिजनको आपूर्ति भइरहेको छ,’ अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, ‘डेढ सय अक्सिजन सिलिन्डर मौज्दातमा छन् ।’ उनका अनुसार त्यतिबेला खाली सिलिन्डर कम भएका कारण अक्सिजन आपूर्तिमा निकै समस्या भएको थियो । अक्सिजनको हाहाकार भएका बेला अस्पतालसंँग ५० सिलिन्डर मात्रै थिए । अहिले ३ सय पुगेका छन् ।

अस्पतालमा रहेको प्लान्टबाट दिनमा ६ सिलिन्डर मात्रै अक्सिजन उत्पादन हुन्छ । अहिले दातृनिकायको सहयोगमा दैनिक ८० सिलिन्डरसम्म अक्सिजन उत्पादन हुने प्लान्ट निर्माण भइरहेको छ । एचडीयू र आइसोलेसन वार्डमा पाइपलाइनबाट अक्सिजन वितरण गर्ने योजना अघि सरेको छ । ‘पाइपलाइनबाट अक्सिजन वितरण भएमा थोरै आवश्यक पर्नेलाई पनि ठूलो सिलिन्डर आवश्यक पर्दर्नै,’ डा. रोकायाले भने, ‘आवश्यकताअनुसार विरतण गर्न सकिने भएकाले थोरै अक्सिजनले पनि धेरैलाई पुर्‍याउन सकिन्छ ।’



प्रकाशित : असार ११, २०७८ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?