१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

रोकिएन लागूऔषध कारोबार

निषेधाज्ञाको अवधिमा ४४ जना पक्राउ, ४० मुद्दा दायर
भवानी भट्ट

कञ्चनपुर — जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले सोमबार दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर क्षेत्रबाट लागूऔषधसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लियो । भारत उत्तराखण्डको उद्यमसिंहनगर जिल्लाको खटिमा बस्ने २१ वर्षीय आसिफ खानलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट २८ ग्राम अफिमसमेत बरामद भएको छ ।

भारतीय नागरिक अफिमसहित पक्राउ परेको अघिल्लो दिन आइतबार भीमदत्त नगरपालिका– ६ ऐठपुर क्षेत्रबाट प्रहरीले खैरो हेरोइनसहित २ जनालाई नियन्त्रणमा लिएको छ । सोही क्षेत्रका २० वर्षीय सागर तिरुवा र २८ वर्षीय महेन्द्र बोहरालाई साढे ६ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो । उनीहरू ऐठपुर क्षेत्रमा लागूऔषधको कारोबार गर्नेमध्ये रहेको प्रहरीले जनाएको छ । आइतबारै जिल्लाको दक्षिणी क्षेत्र बेलडाडी गाउँपालिका–२ को चवन्नी बजारबाट खैरो हेरोइनसहित २ जना पक्राउ परे । बेलडाडी गाउँपालिका –५ का अनिल राना र जन्मकुमार रानालाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूबाट २ ग्राम खैरो हेरोइन बरामद भएको छ ।

कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि वैशाख १६ देखि जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । यो अवधिमा जिल्ला प्रहरी कार्यालय र मातहतका निकायले यो अवधिमा हरेक दिन लागूऔषधसहित एक/दुई जना पक्राउ नगरेको दिन छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार निषेधाज्ञा सुरु भएपछि वैशाख १६ देखि जेठसम्म लागूऔषधको ४० मुद्दामा ४४ जना पक्राउ परेका छन् । वैशाखमा १२ मुद्दामा १९ जना र जेठमा २८ मुद्दामा २५ जना पक्राउ परेका छन् । चालु आर्थिक वर्षको जेठसम्म लागूऔषधका १ सय २३ मुद्दामा २ सय १ जना पक्राउ परेका छन् । उनीहरूबाट करिब १ किलोग्राम खैरो हेरोइन, अढाइ किलोग्राम चरेस, ६ सय ३० ट्याबलेट नाइट्रामेट, स्यास्मो १ सय १६ ट्याबलेट, कोरेक्स ६ ट्याबलेट र ट्रामाडोल ६ सय पिस बरामद गरेको छ । गत आर्थिक वर्षमा लागूऔषधका ५५ मुद्दा मात्रै दर्ता भएका थिए ।

कोरोना संक्रमण रोकथामकै लागि अवैध नाकाहरू बन्द भएको झन्डै डेढ वर्ष नाघिसकेको छ । तर लागूऔषध तथा अन्य अवैध सामान ओसारपसार भने धमाधम भइरहेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटले लागूऔषधसहित भारतीय नागरिक पक्राउ गर्नुले पनि यसलाई पुष्टि गरेको छ । प्रहरीले लागूऔषधसहित पक्राउ गरेका अधिकांश नेपाली पनि सीमा क्षेत्रमै भेटिएका हुन् । ‘बेलौरी र बेलडाडी क्षेत्र लागूऔषधको ट्रान्जिट पोइन्ट बनेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्वेदीले भने, ‘सीमा क्षेत्रमा घाँस काट्ने बहानामा पनि लागूऔषधको ओसारपसार भइरहेको छ ।’ उनका अनुसार बेलौरीको सीमावर्ती बजार खजुरिया र बेलडाँडीको सीमावर्ती बजार टाटरगञ्जबाट लागूऔषध भित्रिने गरेको छ ।

यसबाहेक दोधारा चाँदनी क्षेत्रबाट समेत भित्रिने गरेको छ । तर मुख्य नाकाबाट भने न्यून मात्रामा भित्रिएको छ । फागुनमा बेलौरी नगरपालिकाको सीमावर्ती क्षेत्रमा प्रहरीसँग दोहोरो फायरिङ हुँदा एक भारतीय नागरिकको मृत्यु भएको थियो । अन्य दुईजना घाइते भएका थिए । उनीहरू लागूऔषधसहित नेपाल प्रवेश गरिरहेका थिए । ‘नाका बन्द छ, तर घर आँगन र खेतबारी जोडिएको छ, खेतीपातीका नाममा वा घाँस काट्ने नाममा लागूऔषध ओसारपसार हुन्छ,’ एसपी चतुर्वेदीले भने, ‘डोकेबजारदेखि ब्रह्मदेवसम्म सबै क्षेत्रमा चौबिसै घण्टा निगरानी गर्न सकिने अवस्था पनि छैन ।’ एसपी चतुर्वेदीले सीमावर्ती क्षेत्रका सुरक्षा निकायको बैठकमा लागूऔषधको ओसारपसारमा संलग्न केही भारतीयको लिस्टसमेत बुझाएको जानकारी दिए ।

प्रकाशित : असार ११, २०७८ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?