२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

मध्यपहाडीको तीन खण्डमा काम सकियो

मेनुका ढुंगाना

अछाम — देशको समृद्धिको एक आधारका रूपमा हेरिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना निर्माणको काम अन्तिम चरणमा छ । चार खण्डमा काम भएको अछाममा ३ खण्डको काम सकिएको छ । आयोजनाको ६० किमि सडक अछाममा पर्छ ।

मध्यपहाडीको तीन खण्डमा काम सकियो

२०७३ वैशाख १६ मा सम्झौता भई २०७६ वैशाख १५ सम्म कालोपत्रे सक्ने लक्ष्य रहेको यो आयोजनाको अछाम खण्डको बीचमा विनायक–ठाटीखाँदमा पर्ने १६ किमि सडक निर्माणको काममा ढिलाइ भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरी निर्माण कार्य अघि बढाएको यो योजनाअन्तर्गत अछाम खण्ड कालोपत्रे गर्न मूल्य अभिवृद्धि करसहित १ अर्ब १७ करोड बजेट छ । जसमा विनायकदेखि ठाटीखाँदसम्म र ठाटीखाँददेखि मंगलसेनसम्मको सडक कालोपत्रेका लागि ३३/३३ करोड रुपैयाँको ठेक्का स्वीकृत भएको थियो ।

२०७३ वैशाख १६ मा सम्झौता भई २०७६ वैशाख १५ सम्म कालोपत्रे सक्ने सम्झौता भए पनि ठाटीखाँद–विनायक सडक खण्डमा सोचेअनुरूप काम हुन नसकेको एक कर्मचारीले बताए । ‘ठेकेदारहरू नेताको संरक्षणमा भएपछि काम अवरुद्ध हुन्छ । जिल्लामा पटक–पटक यो खण्डको विषयमा छलफल र बहस हुन्छन् । तर काम भने राम्रोसँग कहिल्यै हुँदैन,’ उनले भने, ‘आवश्यक मेसिन तथा उपकरण, क्रसर, टिपर, जेसीबी, स्क्जाभेटर, लोडर गुणस्तर मापनका लागि ल्याबलगायत व्यवस्थापन तथा पूर्वाधार, दक्ष जनशक्तिको अभावले अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन ।’

अछामको तीन खण्डमा काम सम्पन्न भए पनि बीचको खण्डमा काम सुस्त गतिमा भएको आयोजनाको साइट इन्जिनियर मनीष सिंहले बताए । उनका अनुसार मंगलसेन–ठाटीखाँद, बेलखेत–कैलाश खोला र विनायक–बेलखेतको काम सम्पन्न भएको छ । समयमै काम सम्पन्न हुनुपर्छ भनेर निर्माण कम्पनीलाई पटकपटक चिठीसमेत पठाएको उनले बताए । ४ पटकसम्म काम सम्पन्न गर्नलाई म्याद थपिएको उनको भनाइ छ । ‘वर्षाको समय सुरु भएसँगै अछाममा मध्यपहाडी क्षेत्रमा पहिरो जान थालेको छ । निर्माण सम्पन्न भएका क्षेत्रमा नाली सफा गर्ने र पहिरो हटाउने कार्य भइरहेको छ,’ उनले भने, ‘ठाँटीखाद–विनायक सडक खण्डामा कालोपत्रे गर्ने काम सुरु भएको छ ।’

प्रकाशित : असार १०, २०७८ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?