तटीय बस्तीमा त्रास

नदी किनार क्षेत्रमा दर्जनौं बस्तीहरु बाढीको उच्च जोखिममा
मनोज बडू

दार्चुला — असार सुरुमै महाकालीको बहाव ह्वात्तै बढेपछि नदी तटीय क्षेत्रका बासिन्दामा बाढीको त्रास बढेको छ । ०७० को बाढीले तहसनहस भएको क्षेत्रमध्ये पक्की तटबन्ध निर्माण नभएको सदरमुकाम बाहेकको तटीय क्षेत्रका बासिन्दामा बाढीको त्रास बढेको हो ।

तटीय बस्तीमा त्रास

जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रमा बस्ने स्थानीयलाई महाकालीको बहाव जुनसुकै समयमा बढ्ने सक्ने भन्दै सचेत रहन सूचित गरेको छ । दुई/तीन दिनसम्म निरन्तर वर्षा भए नदीमा पानीको सतह बढेर बाढी बस्ती पस्ने जोखिम बढ्छ । ‘अन्य ठाउँमा सर्ने विकल्प छैन, नदी किनार क्षेत्रमा दर्जनौ बस्तीहरू बढीको उच्च जोखिममा छन्,’ लेकम गाउँपालिका–३ लालीका स्थानीय लोकेन्द्र भण्डारीले भने, ‘तटबन्ध निर्माण नभएको ठाउँमा नदी कटानसंँगै बाढीको जोखिम बढ्ने देखिन्छ ।’ पानी परेर महाकाली बहाव बढ्न थालेपछि नदी गाउँ पस्ने चिन्ताले रातभरी जाग्राम बस्नुपर्ने भएको भण्डारी बताउँछन् ।

सदरमुकामबाहेक महाकाली किनारको धेरैजसो ठाउँमा तटबन्ध निर्माण हुन सकेको छैन । तटीय क्षेत्रको केही ठाउँमा अझै बाढीको जोखिम कायमै रहेको मालिकार्जुन गाउँपालिका–६ का लक्ष्मी लुहारले बताइन् । ‘केही ठाउँमा अस्थायी तारजालीको तटबन्ध बनेको छ’ उनले भनिन्, ‘त्यसले २०७० असारको जस्तै नदीमा पानी आए थेग्न सक्ने स्थिति छैन ।’ भोल्यानीका स्थानीय जमिन धसिदा बिचल्लीमा परेका छन् । झण्डै डेढ दर्जन घरपरिवार बस्दै आएका उक्त ठाउँको जमिन ०७० सालको बाढी आएदेखि धसिन थालेको उनले बताइन् । ‘त्यतिबेला नदीमा आएको बाढीले गाउँको जमिन चिरा परेको र घरहरू चर्केर बस्नै नसक्ने अवस्थाका छन्,’ उनले भनिन् ।

महाकाली किनार क्षेत्रमा सदरमुकामको तल्लो क्षेत्रमा पर्ने धाप, असिकाडा, सकार, काकडा, दत्तु, बेत, जौलजिवी, भोल्यानी, उकु, बाकु, लाली, राडमलगायतका बस्ती जहिल्यै बर्षायाममा महाकालीको बाढीले कटान हुने गरेको छ । केही ठाउँमा तारजालीको अस्थायी तटबन्ध निर्माण गरिएको छ । आयोजनाले सदरमुकामको कोर एरियाबाहेक महाकाली तटीय क्षेत्रमा यसअघि ८ किलोमिटर दूरीमा तटबन्धको काम सम्पन्न गरेको जनाएको छ । आयोजनाका अनुसार अझै बाढीको जोखिमयुक्त ठाउँ पहिचान गरी तारजालीकै अस्थायी तटबन्ध निर्माण गरिएको र केही ठाउँहरूमा अस्थायी तटबन्ध बनिरहेको जनाएको छ ।

महाकाली नदी नियन्त्रण आयोजनाले ८ वर्षदेखि नदी किनार क्षेत्रमा तटबन्ध निर्माणको काम गर्दै आएको भए पनि अहिलेसम्म धेरै ठाउँहरूमा तटबन्ध बनाउन बाँकी रहेको हुनाले बाढीको जोखिम कायमै रहेको हो । आयोजनाले सदरमुकाम क्षेत्रमा पक्की तटबन्ध निर्माणको अन्तिम चरण र श्रीबगड क्षेत्रमा सुरु गरेको जनाएको छ । त्यस्तै, नदी तटीय क्षेत्रको धेरै ठाउँहरूमा अस्थायी तारजाली तटबन्ध निर्माण गरिएको आयोजना प्रमुख शोभाकर पौडेलले बताए ।

व्यास गाउँपालिका–१ सीतापुलदेखि लेकम गाउँपालिका–३ लालीसम्मका विभिन्न ठाउँहरूमा अस्थायी तारजालीको तटबन्ध निर्माणाधीन अवस्थामा रहेको छ । २०७० भीषण बाढी आएदेखि नै तटीय क्षेत्रको जोखिमयुक्त ठाउँहरू पहिचान गरी प्राथमिकताका आधारमा अस्थायी तटबन्धको काम जारी रहेको आयोजनाले जनाएको छ । आयोजना प्रमुखका अनुसार अस्थायी तटबन्ध विभिन्न ठाउँहरूमा निर्माण भइसकेको छ । चालु आर्थिक वर्षमा सीतापुल, घाँटीबगर, तम्बाकु, दुम्लिङ्, रिठान, बर्त्तीबगर, तिग्रम, श्रीबगर, किम्तडी, सकार, धाप, दत्तु, जौलजिवी, उकु, लालीलगायत ठाउँहरूमा काम भइरहेको छ ।

प्रकाशित : असार १०, २०७८ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?