आन्तरिक मूल्यांकनमा विद्यार्थी असन्तुष्ट

कोरोना संक्रमण फैलिएपछि धेरै विद्यार्थीको पढाइ अस्तव्यस्त बन्यो
मेनुका ढुंगाना

अछाम — कोरोना भाइरसको संक्रमण समुदायसम्म फैलिएपछि यसको मारमा विद्यार्थी पनि परे । शैक्षिक सत्रका दुई वर्ष परीक्षामा उनीहरू सम्मिलित हुनै पाएनन् । विद्यालयमा भर्ना भएका विद्यार्थी नपढेरै माथिल्लो कक्षामा गए । तर यसरी विद्यालयले आन्तरिक मूल्यांकनको भरमा निकालेको नतिजाबाट न अभिभावक सन्तुष्ट छन् न त विद्यार्थी नै ।

आन्तरिक मूल्यांकनमा विद्यार्थी असन्तुष्ट

अछामको मंगलसेन नगरपालिका–७ की भरु ढुंगाना गंगा माविमा कक्षा ७ मा भर्ना भएकी थिइन् । विद्यालयमा नयाँ कक्षामा भर्ना भएपछि उनी लगभग २ महिना मात्रै विद्यालय गइन् । कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएपछि सबैभन्दा पहिले विद्यालय बन्द भए । उनी त्यसपछिका दिनमा पनि पढाइबारे चिन्तित भइन् । जब उनले नपढेरै ७ कक्षा पास भएर ८ कक्षामा पढ्ने जानकारी पाइन् तब उनी अचम्म परिन् । ‘न पढेरै दुई वर्ष पास भइयो । कसैले ७ कक्षामा केके पढाइ भयोभन्दा के भन्ने होला,’ उनले भनिन्, ‘खासै पढाइ पनि भएको थिएन । त्यसै पास भइएछ । पढेरै पास भएजस्तो खुसी नहुने रहेछ ।’

कोरोना संक्रमण फैलिएपछि धेरै विद्यार्थिको पढाइ अस्तव्यस्त बन्यो । आन्तरिक मूल्याकंनबाट माथिल्लो कक्षा गएकी मंगलसेन–५ की डम्बरा सुबेदी भविष्यमा अहिलेको नतजिाले असर पार्ने आशंका व्यक्त गर्छिन् । ‘९ कक्षामा पढियो । परीक्षा दिन पाइएन । १० मा नपढेरै एसईईको नतिजा आउने हल्ला छ । दुई वर्षदेखि पढ्नै पाएको छैन । राम्रो विषय पढ्न् गाह्रो हुने भयो,’ उनले भनिन्, प्लस टु मा साइन्स पढेर पछि मेडिकल लाइनतिर जाने सोच थियो अब के गर्ने भन्ने थाहा छैन ।’ एसईईमा राम्रो नतिजा आएर पछि सोचेजस्तो विषय पढ्नलाई योजना बनाएका धेरै विद्यार्थी अन्योलमा भएको उनको बुझाइ छ । नपढेरै माथिल्लो कक्षामा जाँदा भविष्यबारे चिन्ता गर्ने विद्यार्थी खुसी हुन नसक्ने षोडशा माविमा कक्षा १० मा अध्ययनरत छात्र मनोज साउद बताउँछन् । ‘पढेको कुरा पनि बिर्सिसक्यौँ । ३० प्रतिशतभन्दा बढी पढाइ भएको छैन । वैकल्पिक विधिबाट पनि पढाइ हुनुपर्थ्यो,’ उनले भने, ‘विद्यार्थीलाई अन्योलमा राखेर तनाव दिने काम भइरहेको छ ।’

विद्यालयले आन्तरिक मूल्यांकनबाट नम्बर दिँदा अघिल्लो वर्षका धेरै विद्यार्थीको चित्त नबुझेको मनकामना मावि बलाताकी छात्रा सीता साउद बताउँछिन् । ‘वर्षभरि पढाइको बारेमा सोच्दै बस्छौं । महँगो शुल्क तिरेर अतिरिक्त कक्षाहरू लिन्छौं । अन्तमा सरहरूले आफ्नो नजरमा विद्यार्थी जस्तो छ त्यहीं मूल्यांकन गरेर नम्बर दिन्छन्,’ उनले भनिन्, ‘कोर्स पूरा गरेर परीक्षा दिन पाउनुपर्छ भन्ने हाम्रो माग हो । तर अब नतिजा आउने चरणमा छ भन्छन् ।’ अघिल्लो शैक्षिक सत्रजस्तो यो शैक्षिक सत्रमा शिक्षकले मनोमानी ढंगले नतिजा सार्वजनिक गर्न नसक्ने अडान राख्दा पनि अन्तमा बाध्य भएको षोडशा मावि मंगलसेनका प्रधानाध्यापक देवेन्द्र दुबे बताउँछन् । उनका अनुसार षोडशा माविका कुनै पनि विषयको पूरा पढाइ भएको छैन ।

‘अहिले नियमित ३ महिना पढाइ भएको छ । कोर्स पूरा हुनलाई कम्तीमा ७ महिना पढाइ हुनुपर्छ । अहिलेसम्म विद्यार्थी उत्तीर्ण हुनेसम्मको पढाइ भएको छैन,’ उनले भने, ‘झन्झन् कोरोना बढ्दै छ । एक शैक्षिक सत्र नै रोक्नुपर्छ भन्ने मेरो बुझाइ थियो । यस्तै अवस्थामा परीक्षा लिन र हामीलाई मूल्यांकन गर्न गाह्रो हुन्छ । अर्धवार्षिक परीक्षाले निष्पक्ष मूल्यांकन हुँदैन ।’

प्रकाशित : असार ८, २०७८ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?