कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कञ्चनपुर र कैलालीमा पनि थपियो निषेधाज्ञा

पहिलोको भन्दा खुकुलो बनाइयो

कञ्चनपुर,धनगढी — कोरोना संक्रमण न्यूनिकरण तथा रोकथामका लागि जारी गरिएको निषेधाज्ञा केही खुकुलो पार्दै थप एक साता थपिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले कञ्चनपुरमा असार १४ सम्म निषेधाज्ञा थपेको हो ।

कञ्चनपुरमा मंगलबारदेखि अत्यावश्यक बाहेकका अन्य पसल तथा व्यापार व्यवसाय पनि बिहान ६ देखि ३ वजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर खुला रहनेछन् । खाद्यान्न, दूध फलफूल र तरकारीका पसलको हकमा भने सामान्य अवस्था जस्तै खुला रहनेछन् । यसैगरी, निजी र सरकारी सवारीसाधन पनि सञ्चालनमा रहनेछन् । अनुमतिप्राप्त बाहेकका सार्वजनिक सवारीसाधन भने अझै बन्द रहनेछन् ।

सर्वाजनिक सेवा प्रवाह गर्ने सरकारी तथा निजी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु स्वास्थ्य मापदण्ड पूरा गरेर खुला रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कञ्चनपुरमा कोरोना संक्रमण तीव्र गतिमा बढेपछि वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । यहाँ सक्रिय संक्रमितको संख्या घट्दै गएपछि सोमबार आठौं पटक केही खुकुलो पार्दै निषेधाज्ञाको अवधि असार १४ सम्म थपिएको हो ।

यसैगरी, कैलाली जिल्ला प्रशासन कार्यालयले पनि जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को सिफारिसमा असार ८ गतदेखि लागू हुने गरी असार १५ गतेसम्म निषेधाज्ञा थपेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा सोमबार कैलाली जिल्लाभर लागू हुनेगरी निषेधाज्ञाको आदेश जारी गरिएको हो ।

निषेधाज्ञाको आदेशमा यसअघि बिहान ११ बजेसम्म मात्र खुला रहने खाद्य सामग्री पसलहरु, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक्सका पसलसंँगै पुस्तक पसल र स्टेशनरी, कपडा तथा फेन्सी पसल र टेलरिङ सेन्टरहरु बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था तोकिएको छ ।

यसैगरी निषेधाज्ञा आदेशमा जोर–बिजोर प्रणालीका आधारमा सञ्चालन गर्ने गरी निजी सवारीसाधन सञ्चालन गर्न मिल्ने व्यवस्था गरिएको छ । शिक्षण संस्था बाहेक सरकारी तथा सार्वजनिक कार्यालयहरुले आलोपालो गरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी कार्यालयको कार्यप्रकृति अनुसार न्युनतम संख्यामा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाइ सेवा प्रवाह गर्न निषेधाज्ञा आदेशमा उल्लेख गरिएको छ ।

प्रकाशित : असार ७, २०७८ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?