रोजगारी गुमेपछि बेहाल

कोरोना महामारीका कारण दिल्लीमा कम्पनी बन्द भएपछि बाध्य भएर मजदुर घर फर्किए

बझाङ — बझाङको जयपृथ्वी नगरपालिका–६ नौरागाउँका ४८ वर्षीय रामबहादुर सिंह भारतको तामिलनाडुमा रोजगारी गर्थे । उनको सात जनाको परिवार छ । थोरै जग्गा भएकाले आफ्नो उत्पादनले वर्षको चार महिना पनि खान पुग्दैन । उनीहरूको जीविकोपार्जनको एउटै आधार भनेकै भारतको मजदुरी हो । 

रोजगारी गुमेपछि बेहाल

भारतमा पछिल्लो समय कोरोना संक्रमण तीव्र रूपमा फैलियो । कोरोनाको जोखिम उच्च बनेपछि रामबहादुर चैत २९ मा घर फर्किए । घर पुगेको सात दिनपछि गत वैशाख ५ गते उनलाई एक्कासि ज्वरो आयो । सामान्य ज्वरो सोचेर मेडिकलबाट औषधि किनेर खाए । तर, निको नभएर स्वास्थ्य अवस्था बिगि्रँदै गयो । परिवारका सदस्यले उनलाई ७ गते बझाङ जिल्ला अस्पताल लगे । अस्पतालमा परीक्षण गर्दा उनमा कोरोना र फोक्सोमा गम्भीर खालको संक्रमण भएको जानकारी दिए ।

जिल्ला अस्पतालले थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई रेफर गरेका उनको आधा घण्टामै ज्यान गयो । रामबहादुरको मृत्युले उनको परिवारमा ठूलो बज्रपात भयो । उनकै कमाइको भरमा गुजारा गरिरहेको पूरै परिवार सहाराविहीन हुन पुग्यो । ‘उनकै कमाइले परिवार धानेको थियो । कमाउने मान्छे नै नरहेपछि परिवारको बिल्लीबाठ भएको छ,’ उनका आफन्त नरेन्द्र सिंहले भने ।

बझाङको थलारा गाउँपालिका–५ दुवाली गाउँका भक्त सार्की श्रीमती र पाँच जना छोराछोरीसंँगै आठ वर्षदेखि भारतको दिल्लीमा बस्दै आएका छन् । भक्त र उनकी श्रीमतीले होस्टलका विद्यार्थीको मेसमा खाना पकाउने, गाडी धुने र भाडा माझ्ने काम गरेर परिवारको लालनपालन गरिरहेका थिए ।

भारतमा कोरोनाको दोस्रो लहर फैलिएसंँगै लकडाउन भयो । होस्टलका विद्यार्थीहरू घर फर्किए । गाडी धुने काम पनि ठप्प भयो । कतै काम नपाइने भएपछि भक्तको परिवारलाई त्यहाँ बस्न समस्या भयो । दुई महिना जति आफूसंँग भएको बचतले गुजारा चलाए पनि त्यसपछि भोकभोकै बस्नुपर्ने अवस्था आउने देखेर उनले आफ्नो गाउँ र घर सम्झिए ।

गाउँमा खान लाउन गाह्रो भएपछि उनले आठ वर्षअघि आफूसंँग भएको जग्गाजमिन बेचेर र घरमा ताल्चा ठोकेर मुग्लान पसेका थिए । ‘दिल्लीमा दुई छाक टार्न पनि गाह्रो हुन थालेपछि उनले घर फर्किने निधो त गरें, तर फर्किनका लागि पैसा थिएन,’ उनले भने, ‘दिल्लीमा रहेका एक जना आफन्तसंँग १५ हजार भारु ऋण लिएर परिवारसहित घर फर्किए ।’

गाउ पुगेपछि उनी श्रीमती र छोराछोरीसहित १४ दिन थलारा गाउँपालिकाको क्वारेन्टाइनमा बसे । बल्ल आफ्नो गाउँ दुवाली पुगेका भक्त घर देखेर स्तब्ध बने । घर त खण्डहर भइसकेको रहेछ । सुरुका केही दिन उनीहरूलाई आफन्तले सहयोग गरे । भक्तको परिवार अहिले एक जना भाइको पुरानो घरमा बसिरहेको छ । केही दिन आफन्तहरूसँग मागेर गुजारा गरे पनि विस्तारै सबै टाढिँदै गए । ‘यता गाउँमा खानलाउन समस्या भयो भनेर भारततिर भाग्यौं । कोरोनाले उता बस्न दिएन,’ भक्तले भने, ‘छोराछोरी भोकभोकै मर्ने भए । हामीलाई बचाइदिनुपर्‍यो ।’

उनका छिमेकी जोगगिरी दमाईको पनि अवस्था निकै दयनीय छ । उनी भारत नयाँदिल्लीको फरिदाबादस्थित एक फलाम कम्पनीमा काम गर्थे । उनी ६ जनाको परिवारसहित १० वर्षदेखि त्यहाँ बस्दै आएका थिए । कोरोना महामारीका कारण कम्पनी बन्द भयो । उनीहरू बाध्य भएर घर फर्किए । गाउँमा आएर उनले खाना पकाउने भाडासमेत छिमेकीसँग पैंचो मागेर ल्याए । ‘यता खानलाउन दुःख भयो भनेर घरमा ताला लाएर दिल्ली गयौं । दुःखसुख गुजारा चलेकै थियो,’ जोग गिरीकी श्रीमती हिमाले भनिन्, ‘कोरानाले घर आउनुपर्‍यो । अहिले न घरका न घाटका भएका छौं ।’

दुवाली गाउँमा १ सय १० परिवार मुक्त हलियाको बसोबास छ । सरकारले हलिया प्रथा निषेध गरेपछि यो गाउँका अधिकांश परिवार घरमा ताला लगाएर भारत पसेका थिए । स्थानीय शिक्षक राम पार्कीका अनुसार चैत महिनायता ४० परिवार भारतबाट घर फर्किएका छन् । ‘यहाँको जायजेथा बेचेर घरमा ताल्चा लगाएर हिँडेका उनीहरू अहिले गाउँमै शरणार्थी जस्तै छन्,’ शिक्षक पार्कीले भने, ‘गाउँमा कमाइ खाने मेसो नभएपछि सबैजसोले घरघरमा गएर मागेर गुजारा चलाइरहेका छन् ।’ जयपृथ्वी नगरपालिका–१ का डुक्या सिंहको परिवार पाँच वर्षपछि चैत १० मा भारतको बेंग्लौरबाट घर फर्कियो । गाउँपुगेपछि त्यहाँको अवस्था देखेर उनीहरू ट्वाल्ल परे । उनीहरूको घर पूरै खण्डहरमा परिणत भइसकेको रहेछ । तीन जना छोराछोरी, श्रीमतीसहित कहाँ बस्ने भन्ने चिन्ताले पिरोलिएका उनलाई छिमेकी प्रेमसिंहले आफ्नो आटो (गाईगोरुको गोठ र माथि मानिस बस्न मिल्ने एउटा कोठासहित खरले छाएको घर) मा बस्नका लागि सहयोग गरे ।

भारतमा काम गर्दा जोगाएको थोरै रकमले डुक्याको परिवारले अहिले गुजारा गरिरहेको छ । ‘उता (बेंग्लौर) धेरै जनासंँग रकम लिनु थियो । चिठ्ठा (निश्चित व्यक्तिहरू मिलेर मासिक रकम जम्मा गर्ने र पालैपालो रकम लिने) पनि उठाउनु थियो,’ उनकी श्रीमती वसन्तीले भनिन्, ‘कोरोना आयो भनेर केटाकेटी बचाउन सबै छोडेर गाउँ दौडिहाल्यौं । आफूसँंग भएको पैसा सकिएपछि अब रासनपानी कसरी चलाउने होला भन्ने चिन्ता लागेको छ ।’

थलारा गाउँपालिकामा मात्रै कोरोना महामारीका कारण लकडाउन सुरु भएयता तीन हजारबढी मानिस भारतबाट फर्किसकेको गाउँ कार्यपालिका सदस्य श्याम सुनार बताउँछन् । अधिकांश परिवार वृद्धवृद्धा र केटाकेटी गाउँमै बस्ने र युवाले भारतबाट कमाएर पठाएको रकमले परिवार धान्नेहरू छन् ।

प्रकाशित : असार ६, २०७८ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?