३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

महाकालीको बाढीले कुतियाकभर डुबानमा

भवानी भट्ट

कञ्चनपुर — महाकाली नदीमा पानीको बहाव शनिबार १ लाख ९१ हजार क्युसेक नाघेको छ । पानीको बहाव १ लाख ७५ हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।

महाकालीको बाढीले कुतियाकभर डुबानमा

महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनीको जोगबुढा नदी थुनिँदा दोधारा–चाँदनी नगरपालिका–१० को कुतियाकभर क्षेत्र डुबानमा परेको छ । सशस्त्र प्रहरीको झलारीस्थित ३५ नं. गणका एसपी वीरेन्द्र ऐरका अनुसार कुतियाकभर क्षेत्रका खेतबारी डुबानमा परे पनि घरहरू सुरक्षित रहेको बताए । उनले स्थानीयलाई शुक्रबारदेखि नै सुरक्षित स्थानमा रहन सचेत पारिएको बताए ।

‘हामीले शुक्रबारदेखि नै सचेत गरिरहेका थियौं,’ एसपी ऐरले भने, ‘ब्रह्मदेवदेखि कुतियाकभरसम्मै माइकिङ पनि गरेका थियौं, शुक्रबार नै कुतियाकभर क्षेत्रका स्थानीयलाई आफ्नो मालसामान सुरक्षित स्थानतर्फ सार्न सूचित गरेका थियौं ।’

महाकालीको बाढीले भुजेला खोला थुनिँदा भीमदत्त नगरपालिका– ११ र १२ का आधा दर्जन घरहरू डुबानमा परेका छन् । खोला किनारमा रहेका स्थानीयका घरभित्र बाढी पसेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको एसपी ऐरले बताए ।

यसैगरी महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसम्मको पहुँचमार्ग कटान गरेको छ । शनिबार बिहानैदेखि आएको बाढीले दोधारा–चाँदनीतर्फको पहुँचमार्ग कटान गरेको हो । महाकाली पुल निर्माण कम्पनीका इन्जिनियर किशोर पाण्डेयका अनुसार करिब सय मिटर पहुँचमार्ग कटान गरेको छ । उनका अनुसार बहाव बढ्दै गएका कारण कटान पनि तीव्र भएको छ । निर्माण कम्पनीले कटान रोकथामको काम गरिरहेको छ ।

शनिबार महाकाली नदीमा पानीको बहाव १ लाख ९१ हजार क्युसेक नाघेको छ । बहाव बढ्ने क्रम जारी रहेकाले नदी आसपासका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । महाकालीमा पानीको बहाव १ लाख ७५ हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । नदीमा पानीको बहाव बढेपछि सीमा क्षेत्रको शारदा ब्यारजेको पुलमा ठूला सवारीसाधन आवागमनमा रोक लगाइएको छ । शारदा ब्यारेजको पुलमा पानीको बहाव १ लाख क्युसेक नाघ्ने बित्तिकै ठूला सवारीसाधन आवागमनमा रोक लगाइने गरेको छ ।

यसैबीच गाईभैंसी चराउन गएको अवस्थामा महाकाली नदीको बीच भँगालोमा फसेका ३ जनालाई भारतीय सुरक्षाकर्मी र सशस्त्र प्रहरीले उद्धार गरेको छ । शुक्रबार बिहान गाईभैंसी चराउन गएका भीमदत्त नगरपालिका–१० जिमुवाका राम टमटा, राजेन्द्र टमटा र पर्मा तिरुवा नदीमा बाढी भएपछि बीच भँगालोमा फसेका थिए । उनीहरूको शुक्रबार राति ११ बजे एसएसबी र टनकपुरका प्रहरीको सहयोगमा सशस्त्र प्रहरीले उद्धार गरेको सशस्त्र प्रहरीका एसपी ऐरले बताए ।


प्रकाशित : असार ६, २०७८ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?