२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पानीको सतह घटेपनि महाकालीमा खतरा कायमै

मनोज बडू

दार्चुला — चार दिनदेखिको लगातारको वर्षात्का कारण महाकाली नदीमा पानीको सतह घटेपनि खतरा कायमै रहेको छ ।

पानीको सतह घटेपनि महाकालीमा खतरा कायमै

शुक्रबार राति १२ बजे सदरमुकाम खलंगास्थित पुलघाट पारि(भारततर्फ)को पानी मापन स्केलमा ५ मिटर पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले घटेर ४.२ मिटर पुगेको छ । ४ मिटर स्केलसम्मको पानीको सतहलाई खतरा नै मानिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जानकारी दिए । ‘आज बिहान ६ बजे पानीको सतह ४.४ मिटरमा थियो । अहिले घटिरहेको छ,’ उनले भने, ‘झरी आउने क्रम नरोकिएकोले महाकालीमा पानीको सतह समान्य अवस्थामा पुग्ला भन्ने अवस्था छैन ।’


प्रहरीले निरन्तर नदी छेउछाउ गएर खतराको बारेमा जानकारी गराइरहेको छ । सर्वसाधारणलाई नदी किनार नजान सूचना जारी भइसकेको हुनाले मनसुन पनि नरोकिएकोले नदी किनारतिर काठ निकाल्न, बालुवा झिक्न माछा मार्ने काम नगर्न नगराउन प्रशासनले आग्रह गरेको छ ।


प्रहरीका अनुसार जिल्लाका सबै क्षेत्रमा माइकिङ गर्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । दार्चुलाको महाकाली नगरपालिका, मालिकार्जुन, लेकम, ब्यास र दुहु गाउँपालिका लगायत क्षेत्रमा महाकाली नदी किनारमा स्थानीयलाई जान नदिन प्रहरीले सबै युनिटहरुलाई खबर गरेको सूचना अधिकारी चन्दको भनाइ छ ।


त्यस्तै, महाकाली नदीले भारत पिथौरागढ जिल्लाको धारचुला खोतिला पहिरो पनि कटान गर्दै लगेको छ । २०७३ सालमा असोजमा आएको सुख्खा पहिरो महाकाली नदीमा पानीको बहाव बढेपछि कटान थालेको छ । बंगागबडको पारिपट्टि रहेको खोतिला पहिरो कटान हुन थालेपछि भारतीय बाटो अवरुद्ध बनेको प्रहरी निरीक्षक चन्दले बताए ।

त्यसैगरी, पहिरोका कारण नौगाड गाउँपालिका–१ मा दुई घर भत्किएका छन् । नौगाड–१ इयरकोटका सौडानका विरनसिंह महता र प्रेम महताको घर भत्किएको हो । घरमाथिबाट आएको पहिरोले पूरै घर क्षति भइ विस्थापित भएको स्थानीय आनसिह बडालले बताए ।

प्रकाशित : असार ५, २०७८ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?