कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

डोजर प्रयोगले पहिरोको खतरा

मेनुका ढुंगाना

अछाम — मनसुनको पहिलो झरीमै अछामका ग्रामीण सडकहरू अवरुद्ध भएका छन् । स्थानीय तहको प्राथमिकतामा सडक नै परेपछि वातावरणीय प्रभाव अध्ययन नगरी बनाएका सडकले पहिरोको जोखिम निम्त्याएको छ । वर्षात्का कारण कच्ची बाटो भत्किएर हिलाम्मे मात्रै भएका छैनन्, सडकलाई नै पहिरोले बगाएको छ ।

डोजर प्रयोगले पहिरोको खतरा

गाउँगाउँमा सडक पुर्‍याउने अछामका स्थानीय तहको होडबाजीले आर्थिक वर्ष सकिन केही समय रहँदा पनि जथाभावी डोजर चलाउन छोडेका छैनन् । कतिपय स्थानीय तहले उपभोक्ता समितिमार्फत योजनाबिना नै अनुमानका भरमा सडक निर्माण गरिरहेका छन् भने कतिपय ठाउँमा प्राविधिकबिना नै सडक बनेका छन् । अछामका स्थानीय तहले सडकलाई प्राथमिकतामा राखेर ट्र्याक खोल्न सुरु गरेपछि जथाभावी डोजर चल्न थालेका हुन् ।

नयाँ सडक निर्माण मात्रै होइन, पुराना सडकको मर्मतमा पनि डोजरकै प्रयोग भइरहेको छ । तर, कुनै पनि स्थानीय तहले डोजर प्रयोगको मापदण्ड भने बनाएका छैनन् । ‘कतिपय जनप्रतिनिधिका आफ्नै डोजर छन् । आफ्नो फाइदाका लागि जथाभावी प्रयोग गरिरहेका छन् । पानीका मुहान सुक्ने, बाढीपहिरो जाने जस्ता वातावरणलाई असर पार्ने कुरामा उनीहरूको ध्यान छैन,’ स्थानीय तहका एक कर्मचारीले भने ।

पञ्चदेवल विनायक नगरपालिकामा क्षति न्यूनीकरण अध्ययन नगरेरै जथाभावी खन्ने गरेको पाइएको प्रमुख प्रशासकीय अधिकृत पदम माझीले बताए । ‘जंगल, बस्ती र पानीका मुहानै सक्ने गरी डोजर प्रयोग गरेको देखियो,’ उनले भने, ‘प्राविधिकको आकलनबिनै सडक खनिएका छन् । कतिपय ठाउँमा हामीले अध्ययन गरेकोभन्दा अर्कै ठाउँतिर सडक खन्ने काम भएको छ ।’ यसले बाढीपहिरो निम्त्याउने र दीर्घकालमा पनि ठूलो समस्या हुने उनको भनाइ छ ।

जमिन चिरा पार्ने र सडक जथाभावी काट्ने अधिकार केन्द्रले लिएमा धेरै ठाउँमा जथाभावी सडक बनाउने प्रवृत्ति अन्त्य हुने माझीको बुझाइ छ । ‘स्थानीय तहले सडक खन्ने जिम्मा लिनुभन्दा केन्द्रले योजना बनाउनुपर्छ । त्यसको अनुगमनको जिम्मा स्थानीय तहलाई दिनुपर्छ,’ उनले भने ।

मंगलसेन नगरपालिकाभित्र करिब ७२ किमि ग्रामीण सडक रहेको इन्जिनियर खम्म केसीले बताए । उनका अनुसार धेरैजसो सडक वर्षाबाहेकको समयमा सुचारु हुन्छन् । ‘ग्रामीण सडकमा नाली छैनन् । नाली भएन भने वर्षामा सडकमा सवारीसाधन चल्न सक्दैन,’ उनले भने, ‘आगामी आर्थिक वर्षदेखि नगरका सबै ग्रामीण सडकमा नाली बनाउँछौं ।’

विस्तृत प्राविधिक अध्ययनबिनै निर्माण भएपछि सदरमुकामबाट ग्रामीण भेगमा पुग्ने अधिकांश सडक कोही पहिरोले भत्किएर त कोही कच्ची बाटोमा हिलाम्मे भएर अवरुद्ध भएका हुन् ।

प्रकाशित : असार ५, २०७८ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?