कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

परीक्षण गर्न मान्दैनन् स्थानीय

शिविरमा एक सय जना जति उपस्थित भएकोमा १८ जनामात्र परीक्षण गराउन तयार

बझाङ — गत साता बझाङको बित्थडचिर गाउँपालिका–८ जालिमका ७२ वर्षीय पुरुष उच्च ज्वरो र खोकीले थलिएको भन्दै उनका छोरा देउलेक प्राथमिक स्वास्थ्य केन्द्रमा आए । उनी डाक्टर बोलाउन त्यहाँ आएका थिए ।

परीक्षण गर्न मान्दैनन् स्थानीय

वृद्धलाई कोरोनाको संक्रमण हुन सक्ने आशंकामा औषधिसहित एन्टिजेन किट बोकेर स्वास्थ्य केन्द्रका कर्मचारी जयराज अवस्थी उनको घर पुगे । बिरामीमा सबै लक्षण कोरोनासँग मिल्दाजुल्दा थिए । अवस्थीले कोरोना परीक्षण गर्न खोजे तर उनका छोराले परीक्षण गर्न दिएनन् । ‘खेतीपातीको समय छ । पोजिटिभ आयो भने अस्पताल भर्ना गर्नुपर्छ । कुर्ने मान्छे छैन भन्न थाले,’ अवस्थी भन्छन्, ‘बिरामीलाई शतप्रतिशत कोरोनाको लक्षण थियो । कामको सिजनमा कोरोना लागेको थाहा पाएपछि परिवारका अरू सदस्यसँग पनि समुदायका मान्छेहरू तर्किएलान् भन्ने डरले जति सम्झाउँदा पनि परीक्षण गर्न मानेनन् । केही सीप नचलेपछि औषधि दिएर फर्किएँ । ’अहिले ती वृद्धको श्रीमती पनि कोरोनाको लक्षणसहितको बिरामी भएको तर परीक्षण गर्न परिवारले नमानेको उनले बताए ।

गत हप्ता थलारा गाउँपालिकाले लक्षण भएका सम्भावित संक्रमितको परीक्षण गर्ने र अन्य बिरामीको पनि उपचारसमेत गर्ने भनेर दंगाजीमा शिविर नै सञ्चालन गर्‍यो । शिविरमा एक सय जना जति उपस्थित भए । उपस्थित सबैको एन्टिजेन परीक्षण गर्न खोज्दा भागाभाग भयो । निकै जोडबल गरेपछि १८ जना परीक्षण गराउन तयार भए । उनिहरूको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भयो । ‘एन्टिजेन परीक्षण गरौं भन्दा सबै भागाभाग गरे,’ थलारा गाउँपालिकाका ल्याब असिस्टेन्ट विशाल ओझाले भने, ‘हामीलाई कोरोना छैन किन परीक्षण गर्ने भनेर भाग्न थाले । जबर्जस्ती गर्न सकिएन ।’ घरघरमा गएर एन्टिजेन परीक्षण गर्न हिँडेको जयपृथ्वी नगरपालिका–४ को लुयाटा स्वास्थ्य चौकीको टोलीले पनि यस्तै समस्या भोग्नुपर्‍यो । ‘कुनै लक्षण चिह्न नभएकाहरूचाहिँ परीक्षण गराउन तयार भए,’ टोलीमा रहेका स्वास्थ्य चौकीका इन्चार्ज नरेन्द्र थापाले भने, ‘सम्भावित लक्षण भएकाहरू जति कोसिस गर्दा पनि परीक्षण गराउन मानेनन् । सम्भावित संक्रमित हुन् भनेर थाहा हुँदाहुँदै पनि हामी परीक्षण नगरी फर्कियौं ।’

थलारा, बित्थड चिर गाउँपालिका र जयपृथ्वी नगरपालिका मात्रै होइन । जिल्लाभरिका स्थानीयले कोरोनाको परीक्षण गर्न नमान्दा संक्रमण फैलिने खतरा बढी रहेको छ भने, धेरैजसो शंकास्पद संक्रमितहरू उपचार नै नगरी मर्न थालेको स्वास्थ्यकर्मीहरू बताउँछन् । कोरोना संक्रमणको परीक्षण र उपचार नगरी मानिसहरू धमाधम मर्न थालेपछि जिल्ला स्वास्थ्य कार्यालयले ५ हजार एन्टिजेन किट ल्याएर घरघरमा परीक्षण गर्ने व्यवस्था गरे पनि स्थानीयको असहयोगले यो अभियान सफल हुन सकेको छैन ।

‘कोरोनाको दोस्रो लहर फैलिए यता हामी कहाँ आएका ७ हजार एन्टीजेन किटमध्ये २ हजार ३५० वटा मात्र खर्च भएको छ । बाँकी त्यसै थन्किएर बसेका छन’ स्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोशी भन्छन्, ‘घरमै गएर परीक्षण गर्ने व्यवस्था मिलाउँदा पनि मानिसहरू चेक गर्न मान्दैनन् । हामीले जबर्जस्ती गर्न पनि मिल्दैन ।’ उनले स्थानीयले परीक्षण गर्न नमान्दा संक्रमण भित्रभित्रै फैलिरहेको बताए ।

स्वास्थ्य संस्थामा उपचार गर्न गए कोरोनाको परीक्षण हुने र अस्पतालमा बस्नुपर्ने डरले ३० भन्दा बढी शंकास्पद संक्रमितहरूले ज्यान गुमाइसकेको स्वास्थ्यकर्मीहरू नै बताउँछन् । ‘परीक्षण नगरेर ठोकुवा त गर्न मिल्दैन । तर ३० जनाभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएको हुन सक्ने हाम्रो अनुमान छ,’ स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले भने, ‘कोरोना लागेपछि समाजमा हेला भइन्छ भन्ने डरले हो कि के हो ? घरमै गएर परीक्षण गर्न लाग्दा पनि मानिसहरू भाग्ने गरेका छन् ।’ उनले मध्य वैशाखयता जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, छबिस पाथीभेरा, दुर्गाथली, खप्तड छान्ना गाउँपालिकामा मात्रै परीक्षण र उपचार नगरेका ३० भन्दा बढी शंकास्पद बिरामीको मृत्यु भएको जानकारी आएको बताए । ‘यी सबै लक्षण भएकाहरू हुन् । यसरी मर्नेको संख्या हाम्रो जानकारीमा आएको भन्दा पनि अझ बढी हुन सक्छ,’ जोशीले भने, ‘लापरबाही गर्दा एकातिर मानिसहरू दिनदिनै मरिरहेका छन् भने अर्कोतिर संक्रमण व्यापक रूपमा फैलिइरहेको छ ।’

प्रकाशित : असार ४, २०७८ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?