कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोरोनाको डर मान्दै खेतीपातीमा

‘धान, मकै, कोदो गोड्ने बेला भएको छ । घरमा बसेर काम सकिँदैन ।’
मेनुका ढुंगाना

अछाम — कोरोना संक्रमण दर घटे पनि अछाममा त्यस्तै लक्षण देखिने बिरामी घटेका छैनन् । केही स्थानीय स्वाब परीक्षण गर्न नमान्ने र केही स्थानीय तहमा स्वाब परीक्षण सहज नहुँदा संक्रमण दर घटेको देखिएको छ ।

कोरोनाको डर मान्दै खेतीपातीमा

परीक्षण कम भएकाले पनि अहिले जिल्लामा संक्रमितको संख्या कम भएको स्थानीय बताउँछन् । अहिले खेतीपातीको काम सुरु भएकोले गाउँघरका अधिकांश स्थानीय खेतबारीमा समूहमा जुटेका देखिन्छन् ।

गाउँमा सामूहिक रूपमा हुने आलोपालो काममा भीडभाड हुने र स्वास्थ्य सुरक्षा सतर्कता नअपनाउने गरेको मंगलसेन नगरपालिका–५ भक्त विक बताउँछन् । ‘सामूहिक रूपमा रोपाइँ गोडमेल हुन्छ । आलोपालो काम हुन्छ । त्यता मान्छेको भीडभाड छ । काम गर्ने ठाउँमा जताततै यस्तै हो,’ उनले भने, ‘काम गर्न आउनेहरूमा पनि कोरोनाको लक्षण देखिएको छ । यसरी सबैलाई सर्छकी भन्ने डर पनि लागिरहेको छ ।’

काम गर्ने सिजन सुरु भएकाले लक्षण देखिए पनि काममा जानुपर्ने बाध्यता भएको मंगलसेन–५ की तिलसरा आउजी बताउँछिन् । ‘अरू काम गरिदिने मान्छे कोही छैन । सबै आ–आफ्नो काममा व्यस्त छन्,’ उनले भनिन्, ‘धान, मकै, कोदो गोड्ने बेला भएको छ । घरमा बसेर काम सकिँदैन ।’

निषेधज्ञा भएदेखि काम गर्न कतै नगएर बसे पनि अब भने काम नगरेर बस्न नसकिने मंगलसेन–५ की प्रेमकला बजगाई बताउँछिन् । ‘यसअघि लकडाउन भयो । आवश्यक कामबाहेक बाहिर निस्केनौं । हामी अर्काको काम गरेर गुजारा चलाउने मजदुरहरू यसरी घरमा बस्न सक्दनौं,’ उनले भनिन्, ‘रोपाइँ, गोडमेल गर्न जान्छु । अहिले यसैगरी गुजारा चलिरहेको छ ।’

सुरुका केही दिन गाउँमा मान्छे डराएको र स्वास्थ्य सुरक्षा अपनाए पनि अहिले निर्धक्क हिंँडिरहेको मंगलसेनका चक्र भाट बताउँछन् ।‘ कोरोना परीक्षण गरेर पोजिटिभ भएकाहरू कोरोना संक्रमण भएको छ भन्दैनन् । सामूहिक कामका व्यस्त छन्,’ उनले भने, ‘यसरी संक्रमण हुँदा पनि काममा जाने, रिपोर्ट पोजिटिभ आउँदा पनि कसैलाई नभन्ने धेरै छन् । यसले संक्रमणको जोखिम झन् बढ्छ ।’

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको बेला स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गर्दा पनि नमानेको मंगलसेन–५ की वडा सदस्य पारू नगार्जी बताउँछिन् ।

‘कोरोना संक्रमण तीव्र रूपमा फैलिरहे पनि ग्रामीण क्षेत्रमा भने स्वास्थ्य सतर्कता अपनाइएको छैन । भित्री गाउँ जति पस्यो, त्यति नै मानिसहरू निर्धक्क र स्वास्थ्य मापदण्डबेगर हिँडडुल गरिरहेको पाइन्छ ,’ उनले भनिन्, हामीले उनीहरूलाई सम्झाउने/बुझाउने र स्वास्थ्य मापदण्ड पालना गराउनेतर्फ ध्यान दिन पटकपटक भनिरहेका छौं ।’

सामूहिक काममा गाउँमा मान्छे जम्मा हुँदा पनि सामान्य रूपमा सम्झाइबुझाइ गर्नेबाहेक केही भन्न नसकिएको मंगलसेन नगरपालिका–७ का वडा अध्यक्ष सिद्धराज ढुंगाना बताउँछन् । ‘ठूलाठूला खेत बाँझो छोडेर घरमा बस भन्न हामीलाई पनि अप्ठ्यारो छ । ४/५ जना मात्रै जानुस् भन्न पनि सकिँदैन । कामको सिजन छ । हामी काम गर्न जाँदैनौं । वर्षभरिलाई पुग्ने खाद्यान्न दिनुस् भन्छन् । यो बेला हामी जवाफ दिन सक्दैनौं,’ उनले भने ।

प्रकाशित : असार ४, २०७८ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?