१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

पसलैपिच्छे अखाद्य वस्तु

अनुगमनको सुइँको पाएपछि कुनै व्यापारीले म्याद नाघेका सामान लुकाउँछन्, कुनै पसल बन्द गरेर बस्छन्
मेनुका ढुंगाना

अछाम — अछामका स्थानीय बजारमा अखाद्य र म्याद गुज्रेका वस्तु जताततै भेटिन थालेका छन् । हालै जिल्ला प्रशासन कार्यालयले जिल्लाका ९ वटा स्थानीय तहका एक सयभन्दा बढी पसलमा अनुगमन गर्दा फेला परेका १० लाख मूल्य बढीको अखाद्य वस्तु भेटिएको हो । ती सबैलाई नष्ट गरिएको छ ।

पसलैपिच्छे अखाद्य वस्तु

निषेधाज्ञाको समयमा कालोबजारी, मूल्यमा मनपरी, अखाद्य सामग्रीको बिक्रीवितरण गरेको गुनासो आएपछि बजार अनुगमनलाई तीव्रता दिइएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जनप्रसाद तिमिल्सेनाले बताए । प्रशासन, प्रहरी, कोष तथा लेखा नियन्त्रण कार्यालय, उद्योग वाणिज्य संघलगायत सरोकारवाला निकायको संयुक्त टोलीले अनुगमन थालेको छ ।

महामारीका बेला बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, अखाद्य वस्तुको बिक्रीवितरण गर्ने व्यापारी धेरै भेटिएको सहायक प्रजिअ तिमिल्सेनाले बताए । ‘अझै पनि उपभोक्ता सचेत भएको पाइएन । कुन सामानको प्रयोग गर्नुपर्ने म्याद कति छ भनेर कसैले नहेर्ने रहेछन्’ उनले भने, ‘सामान किनबेच गर्दा बिल लिने दिने पनि गर्दैनन् । अनुगमन गर्न आउँछन् भन्ने सुइँको पाएपछि कसैले डेट सकिएका सामान लुकाउँछन् । कोही व्यापारी पसल बन्द गरेर बस्छन् ।’

धेरैजसो केटाकेटीले खाने जंक फुड, पिठो, तेल, चाउचाउजस्ता दैनिक प्रयोगमा आउने सामानको डेट सकिएको उनले बताए । ‘जयगढको अनिश जनरल स्टोरबाट साढे ५ लाख बराबरको ४ ट्र्याक्टरमा पनि नअट्ने अखाद्य वस्तु भेटियो । कमलबजारको धमला जनरल स्टोरमा ७ बोरा दालमोठलगायतका सामग्री भेटियो,’ सहायक प्रजिअ तिमिल्सेनाले भने ,‘डेट सकिएका सामग्रीलाई सस्तोमा दिने र ती सामान गाउँका ससाना किराना पसलमा पठाउने रैछन् ।’

जिल्लाको मुख्य व्यापारिक केन्द्र जयगढमा स्थानीयले अनुगमन गर्न खोज्दा अवरोध गरेको तिमिल्सेनाले बताए । ‘साँफेबगरमा सानादेखि ठूला व्यापारीसम्मको मिलेमतो देखियो । व्यापारी सबै मिलेर उपभोक्तालाई ठगेको भेटियो । अहिलेसम्म अनुगमन गरेका शतप्रतिशत पसलमा अखाद्य वस्तु भेटिए,’ उनले भने । पालिकास्तरमा बजार अनुगमन समिति भए पनि प्रभावकारी अनुगमन गर्न नसकेको उनले बताए । उनका अनुसार अखाद्य वस्तु बेच्ने व्यापारीलाई जरिवानासमेत गरिएको छ । जयगढमा ६० हजार, तुर्माखादमा १७ हजार ५ सय, रामारोशनमा २५ हजार, चौखुट्टेमा २० हजार, ठूलासेनमा ५ हजार, कमलबजारमा २५ हजार र मेल्लेखमा ५ हजार जरिवाना गरिएको हो ।

केही किराना तथा खाद्य पसलमा बियर, मदिरा र सुर्तीजन्य पदार्थसमेत सँंगै राखेर बेच्ने गरेको पाइएकोले त्यस्ता व्यापारीलाई पहिलोपटक चेतावनी दिएको सहायक प्रजिअ तिमिल्सेनाले बताए । अर्कोपटक त्यस्तो गरेको पाइएमा पसलका सबै सामान जफत गरी कारबाही गरिने उनले बताए ।

स्थानीय तहमा भएको अनुगमन समितिले पटकपटक बजार अनुगमन गर्न खोज्दा व्यापारीले अवरोध गर्न खोजेको ढकारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी साउदले बताइन् । ‘हामी अनुगमनमा जाँदा सबै व्यापारी हामीमाथि खनिन्छन् । स्थानीय तहले सोचेजस्तो अनुगमन गर्न सकेको छैन,’ उनले भनिन् ।

प्रकाशित : जेष्ठ ३१, २०७८ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?