२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

आधाले पनि पाएनन् खोप

गणेश चौधरी

टीकापुर — चिकित्सकले कोरोनाबाट बच्ने मुख्य उपाय खोपलाई नै मान्छन् । तर थोरैले मात्र खोप लगाउन पाएका छन् । अधिकांश अझै खोप लगाउनबाट वञ्चित छन् । कैलालीको पूर्वी–दक्षिणी भेगको जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले ६२ देखि ६४ वर्ष उमेरका व्यक्तिका लागि करिब १२ सय खोप आवश्यक रहेकोमा ६ सय ५० खोप मात्र जानकी गाउँपालिकाले पाएको बताए । उनले भने, ‘पहिला त जम्मा ४ सय मात्र पठाएको थियो । पछि फेरि निकै हारगुहार गरेपछि २ सय ५० थप्यो डोज ।’

सरकारले ६२ देखि ६४ उमेर समूहका नागरिकलाई खोप लगाउने भने पनि महामारीका कारण धेरैले ज्यान गुमाएपछि खोपका लागि तँछाडमछाड भयो । कतिपय मानिस खोप लगाउन सोर्सफोर्स लगाएर पनि आएको स्वास्थ्यकर्मीले बताए ।

भजनी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले लक्षित समूहमा नपरेका नागरिक पनि खोप लगाउन आएको सुनाए । ‘सरकारले कोभिडको खोप चारो हालेजस्तै पठायौं । टार्गेट ग्रुपलाई पनि पर्याप्त भएन,’ उनले भने । भजनी नगरपालिकामा जम्मा ५ सय डोज मात्र खोप आएको कैलाशले बताए । उनले भने, खोपको लक्षित उमेर समूहमा नपरेका पनि खोपका लागि धेरै जना आए । जसलाई खोप उपलब्ध गराउनुपर्ने हो उनीहरूलाई नै अपुग भइरहेका बेला अरूलाई कसरी लगाउनु,’ उनले भने ।

योभन्दा पहिले लगाइएको कोभिडसिल्ड भ्याक्सिनमा मानिसहरू त्यति आकर्षित भएका थिएनन् । कोरोनाको दोस्रो लहरमा धेरैले ज्यान गुमाएका र खोप लगाएकालाई कोभिडले नछोएको र छोए पनि त्यति असर नगरेकाले अहिले खोपका लागि तँछाडमछाडको अवस्था देखिएको कैलाशले सुनाए । उनका अनुसार कोरोना संक्रमणको वास्ता नगरी मानिसहरू एकआपसमा कुनै दूरी नराखेर खोप लगाउन पर्खिरहेका थिए ।

प्रकाशित : जेष्ठ २९, २०७८ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?