कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पहुँचमार्गको काम प्रभावित

निषेधाज्ञाको अवधिमा समेत पुल निर्माणको काम धमाधम चलिरहेको छ

कञ्चनपुर — महाकाली नदीमा निर्माणाधीन पक्की पुलको काम अन्तिम चरणमा पुग्न लागेको छ । पुलसम्मको पहुँचमार्ग र दुवैतर्फ निर्माण हुने पोखरीको काम भने निर्माण साम्रगी अभावमा प्रभावित भएको छ ।

निषेधाज्ञाको अवधिमा समेत पुल निर्माणको काम धमाधम चलिरहेको छ । पुलका ३२ मध्ये ३० स्ल्याबको काम असारभित्रै सक्ने लक्ष्य राखिएको छ । २४ स्ल्याब निर्माण भइसकेका छन् । ‘असार–साउनभित्रै पुल निर्माणको काम सक्ने लक्ष्य छ,’ महाकाली पुल निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले भने, ‘अहिले पनि धमाधम काम चलिरहेको छ ।’

यसै वर्षदेखि पुलमा ठूला पुलमा साना सवारीसाधन आवागमन सुरु गरिएको छ । नदीलाई पुलको बीच भागमा बगाएर आवागमन सुरु गरिएको हो । उक्त क्षेत्रमा नदीको चौडाइ ३ किमि छ । पुलको लम्बाइ ८ सय मिटर मात्रै छ । दुवैतर्फ ६/६ सय मिटर चौडाइका पोखरी निर्माण गरिनेछन् । पोखरीको बीचमा पहुँचमार्ग निर्माण हुनेछ ।

पुलको दुवैतर्फ निर्माण हुने पोखरीको काम भने अझै सुरु हुन सकेको छैन । ठूलो ढुंगाको अभावका कारण उक्त काम सुरु हुन नसकेको हो । पुलको दुवैतर्फ २८/२८ सय मिटर लम्बाइका पोखरीहरू निर्माण हुनेछन् । यसका लागि २ सय ५७ केजीभन्दा ठूला ढुंगा आवश्यक पर्छ । महाकाली नदीको बहाबले उक्त तौलसम्मका ढुंगा बगाउन नसक्ने देखिएको इन्जिनियर पाण्डेयले बताए ।

इन्जिनियर पाण्डेयकाअनुसार दुवैतर्फ साढे ५ किमि लामो पोखरी निर्माणका लागि १ लाख ४३ हजार घनमिटर ठूलो ढुंगा आवश्यक पर्दछ । जसमध्ये ९८ हजार ७ सय घनमिटर २ सय ५७ केजीभन्दा बढी तौलका आवश्यक पर्नेछ । ठेक्का सम्झौतामा निर्माणस्थलभन्दा उत्तरपूर्वी चुरे फेदबाट ठूलो ढुंगा ल्याउने मिल्ने व्यवस्था भए पनि निर्माण कम्पनीले उक्त क्षेत्रबाट ढुंगा पाउन सकेको छैन । ‘न त डिजायन परिवर्तन भयो, न ठूलो ढुंगाको व्यवस्था भयो,’ इन्जिनियर पाण्डेयले भने, ‘यस वर्ष एकातर्फको पोखरी निर्माण सक्ने योजना थियो, तर हालसम्म काम सुरु हुन सकेको छैन ।’

पुलसम्मको पहुँचमार्ग निर्माणको काम पनि प्रभावित भएको छ । गत साता महाकाली नदीमा आएको बाढीले मिक्सर प्लान्ट बगाएपछि निर्माण कार्य प्रभावित भएको हो । गड्डाचौकीदेखि दोधारा चाँदनी नगरपालिकाको मलेरिया नालसम्म ८ किमि पहुँच मार्गमध्ये चालु आर्थिक वर्षभित्र ५ किमि सडक कालोपत्रे गर्ने योजना थियो । ‘प्लान्ट बगेपछि उक्त योजना पनि प्रभवित भएको छ,’ पाण्डेयले भने, ‘अब भदौपछि मात्रै कालोपत्रेको काम सुरु हुन्छ ।’ अहिले पहुँच मार्गको ३ किमि सडक कालोपत्रे भएको छ । अन्य सडकको सब बेसको काम चलिरहेको छ । प्लान्ट जडान गर्न डेढ महिना लाग्ने भएकाले तत्काल कालोपत्रेको काम सुरु हुन नसक्ने उनले बताए ।

प्रकाशित : जेष्ठ २७, २०७८ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?