खोप केन्द्रमै संक्रमण जोखिम- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोप केन्द्रमै संक्रमण जोखिम

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ की चन्द्रादेवी खत्री कोरोनाविरुद्धको खोप लगाउन बिहानैदेखि लाइनमा थिइन् । चर्को घाम र कोरोनात्रासका बीच लाइन लागेकी उनले डेढ/दुई घण्टापछि मात्रै खोप लगाइन् । 

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित परिवार नियोजन संघको कार्यालयमा रहेको खोप केन्द्रमा खोप लगाउनेको भीड । तस्बिर : भवानी/कान्तिपुर

कोरोना संक्रमणका कारण सबैतर्फ त्रास भइरहेका बेला उनलाई खोप केन्द्रबाटै कोरोना संक्रमण होला कि भन्ने चिन्ता पनि भयो । ‘चर्को घाममा यस्तो लाइन, अनि कोरोनाको पनि त्रास,’ खत्रीले भनिन्, ‘खोप लगाउन आएका समेत बिरामी होलान् भन्ने चिन्ता, खोप केन्द्रबाट कोरोना लाग्ने डर छ ।’ ६२ वर्षीया उनी खोप लगाएपछि भने खुसी थिइन् । कोरोना संक्रमणबाट जोगिने आसका साथ उनी घर फर्किइन् ।

वैशाखदेखि फैलिएको दोस्रो लहरको संक्रमणका कारण थुप्रैले ज्यान गुमाए । धेरै संक्रमित भए । यस कारण पनि उनी जेनतेन खोप लगाउन आएकी हुन् । मंगलबारदेखि सुरु भएको खोप लगाउने कार्यक्रममा तोकिएको उमेर समूहबाहेक त्यसभन्दा माथिल्लो उमेरका समेत वृद्धवृद्धाहरू आइरहेका छन् । ‘खोपले कोरोना त कम लाग्ने रहेछ, तर यस्तो भीडबाट जोगिनै गाह्रो छ,’ भीमदत्त नगरपालिका –१८ निम्बुखेडाकी ७७ वर्षीया कमला चन्दले भनिन्, ‘अघिल्लोपटक पनि खोप सकिएर लगाउन पाइएन, अहिले पनि भीड धेरै छ ।’ उनी पनि बिहानैदेखि खोपका लागि लाइनमा लागेकी थिइन् ।

जिल्लामा सोमबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत हरेक केन्द्रमा भीडभाड नै देखिन्छ । व्यवस्थापनको कमी र धेरै वडाको खोप केन्द्र एकै स्थानमा तोकिएका कारण भीडभाड बढी भएको हो । सदरमुकाममा रहेको भीमदत्त नगरपालिकामा ८ वटा मात्रै केन्द्रमा खोप लगाउने काम भइरहेको छ ।

‘सबै केन्द्रमा भीडभाड नै देखिन्छ,’ भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले भने, ‘पछिल्लोपटक कोरोना संक्रमणले धेरै क्षति गरेका कारण पनि यसपटक खोप लगाउन बढी आएका हुन् ।’ उनका अनुसार अघिल्लोपटक खोप लगाउन छटेको ६५ वर्षभन्दा माथिको उमेर समूहका समेत खोप लगाउन धेरै आउने गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार मंगलबार पहिलो दिन २ हजार बढीले खोप लगाएका छन् । ७ नगरपालिका र २ गाउँपालिका रहेको जिल्लाभरिमा २९ खोप केन्द्रबाट खोप लगाउने काम भइरहेको छ । बिहीबारसम्म करिब ७ हजार जतिलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

‘केही ठाउँमा भीडभाड बढी देखिएको छ,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन कपिलदेव जोशीले भने, ‘बजार क्षेत्रमा सबै जना एकैपटक आउँदा अझ बढी समस्या भएको छ ।’ उनका अनुसार महेन्द्रनगर बजार क्षेत्रको खोप केन्द्रमा त प्रहरी नै परिचालन गर्नुपरेको छ । भीमदत्त नगरपालिकाको सबैभन्दा बढी जनसंख्या भएको वडा नं. १८ संँगै १५ र ४ गरि तीन वडाको केन्द्र एकै ठाउँमा तोकिएका कारण बढी भीड भएको हो ।

ग्रामीण भेगका खोपक केन्द्रमा समेत भीड नै देखिएको जोशी बताउँछन् । उनका अनुसार बिहानको समयमा सबै जना एकैपटक आउने भएका कारण व्यवस्थापनमा समस्या भएको छ । दिउँसोपछि भने भीड कम हुने गरेको उनले बताए ।

प्रकाशित : जेष्ठ २७, २०७८ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्

पहुँचमार्गको काम प्रभावित

निषेधाज्ञाको अवधिमा समेत पुल निर्माणको काम धमाधम चलिरहेको छ
कान्तिपुर संवाददाता

कञ्चनपुर — महाकाली नदीमा निर्माणाधीन पक्की पुलको काम अन्तिम चरणमा पुग्न लागेको छ । पुलसम्मको पहुँचमार्ग र दुवैतर्फ निर्माण हुने पोखरीको काम भने निर्माण साम्रगी अभावमा प्रभावित भएको छ ।

निषेधाज्ञाको अवधिमा समेत पुल निर्माणको काम धमाधम चलिरहेको छ । पुलका ३२ मध्ये ३० स्ल्याबको काम असारभित्रै सक्ने लक्ष्य राखिएको छ । २४ स्ल्याब निर्माण भइसकेका छन् । ‘असार–साउनभित्रै पुल निर्माणको काम सक्ने लक्ष्य छ,’ महाकाली पुल निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले भने, ‘अहिले पनि धमाधम काम चलिरहेको छ ।’

यसै वर्षदेखि पुलमा ठूला पुलमा साना सवारीसाधन आवागमन सुरु गरिएको छ । नदीलाई पुलको बीच भागमा बगाएर आवागमन सुरु गरिएको हो । उक्त क्षेत्रमा नदीको चौडाइ ३ किमि छ । पुलको लम्बाइ ८ सय मिटर मात्रै छ । दुवैतर्फ ६/६ सय मिटर चौडाइका पोखरी निर्माण गरिनेछन् । पोखरीको बीचमा पहुँचमार्ग निर्माण हुनेछ ।

पुलको दुवैतर्फ निर्माण हुने पोखरीको काम भने अझै सुरु हुन सकेको छैन । ठूलो ढुंगाको अभावका कारण उक्त काम सुरु हुन नसकेको हो । पुलको दुवैतर्फ २८/२८ सय मिटर लम्बाइका पोखरीहरू निर्माण हुनेछन् । यसका लागि २ सय ५७ केजीभन्दा ठूला ढुंगा आवश्यक पर्छ । महाकाली नदीको बहाबले उक्त तौलसम्मका ढुंगा बगाउन नसक्ने देखिएको इन्जिनियर पाण्डेयले बताए ।

इन्जिनियर पाण्डेयकाअनुसार दुवैतर्फ साढे ५ किमि लामो पोखरी निर्माणका लागि १ लाख ४३ हजार घनमिटर ठूलो ढुंगा आवश्यक पर्दछ । जसमध्ये ९८ हजार ७ सय घनमिटर २ सय ५७ केजीभन्दा बढी तौलका आवश्यक पर्नेछ । ठेक्का सम्झौतामा निर्माणस्थलभन्दा उत्तरपूर्वी चुरे फेदबाट ठूलो ढुंगा ल्याउने मिल्ने व्यवस्था भए पनि निर्माण कम्पनीले उक्त क्षेत्रबाट ढुंगा पाउन सकेको छैन । ‘न त डिजायन परिवर्तन भयो, न ठूलो ढुंगाको व्यवस्था भयो,’ इन्जिनियर पाण्डेयले भने, ‘यस वर्ष एकातर्फको पोखरी निर्माण सक्ने योजना थियो, तर हालसम्म काम सुरु हुन सकेको छैन ।’

पुलसम्मको पहुँचमार्ग निर्माणको काम पनि प्रभावित भएको छ । गत साता महाकाली नदीमा आएको बाढीले मिक्सर प्लान्ट बगाएपछि निर्माण कार्य प्रभावित भएको हो । गड्डाचौकीदेखि दोधारा चाँदनी नगरपालिकाको मलेरिया नालसम्म ८ किमि पहुँच मार्गमध्ये चालु आर्थिक वर्षभित्र ५ किमि सडक कालोपत्रे गर्ने योजना थियो । ‘प्लान्ट बगेपछि उक्त योजना पनि प्रभवित भएको छ,’ पाण्डेयले भने, ‘अब भदौपछि मात्रै कालोपत्रेको काम सुरु हुन्छ ।’ अहिले पहुँच मार्गको ३ किमि सडक कालोपत्रे भएको छ । अन्य सडकको सब बेसको काम चलिरहेको छ । प्लान्ट जडान गर्न डेढ महिना लाग्ने भएकाले तत्काल कालोपत्रेको काम सुरु हुन नसक्ने उनले बताए ।

प्रकाशित : जेष्ठ २७, २०७८ १०:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×