कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बजेट सक्न भ्याइनभ्याइ

‘भौगोलिक विकटता, जनसंख्या र आवश्यकताका आधारमा नभई पहुँचका आधारमा योजना छनोट भएका छन्’
मेनुका ढुंगाना

अछाम — अछाममा आर्थिक वर्षको अन्त्यमा आएर ठूलो रकम खर्च गर्ने प्रवृत्ति यो वर्ष पनि रोकिएन । स्थानीय तहमा असारभित्रमा बजेट सक्न भ्याइनभ्याइ भइरहेको छ । विकास निर्माणका लागि छुट्याइएको बजेट फ्रिज हुनबाट जोगाउन जनप्रतिनिधि, कर्मचारी र ठेकेदारले विकास निर्माणका काममा यही बेला चासो देखाउने गरेका छन् ।

बजेट सक्न भ्याइनभ्याइ

राज्यको पुनः संरचनासँगै स्थानीय तहले गरेको असारे विकास पुरानो विकासभन्दा फरक नभएको अधिकांशले बताएका छन् । असार नजिकिँदै गर्दा गाउँमा योजनाका काम तीव्र गतिमा अघि बढेको स्थानीय बताउँछन् । कुनै स्थानीय तहले आफ्नै डोजर प्रयोग गरेर सडक खन्ने काम गरे भने कुनै स्थानीय तहले आफूनिकटका व्यक्तिको डोजर प्रयोग गरी आर्थिक वर्ष सकिनै लाग्दा काम अघि बढाएका छन् ।

‘स्थानीय तहले आएको रकम फ्रिज जाने डरले पनि जथाभावी रूपमा डोजर प्रयोग गरेका छन्,’ मंगलसेन नगरपालिका–७ की भावना जैशीले भनिन्, ‘असार मसान्त नजिकिनै लाग्दा गरिएको विकासले क्षणिक रूपमा विकास भएको जस्तो देखिए तापनि दिगोपना र गुणस्तरमा ध्यान दिएको पाइँदैन ।’ हरेक स्थानीय तहले सबै वडालाई यातायातको सुविधा पुर्‍याउने उद्देश्य लिएका भए पनि जथाभावी सडक खन्ने कामले गर्दा बाढीपहिरोको जोखिम भने बढ्दै गएको उनले बताइन् ।

कमलबजार नगरपालिकामा चालु आर्थिक वर्षका केही योजना मात्रै सम्पन्न हुन बाँकी रहेको नगरप्रमुख ओमप्रकाश बिष्टले बताए ।‘ ‘हाम्रा केही योजना सम्पन्न हुन बाँकी छन् । धेरै योजना सकिए,’ उनले भने, ‘प्रदेश सरकारले जथाभावी योजना दिइरहेको छ । कहाँबाट कसरी योजना ल्याउँछन् थाहा छैन । आर्थिक वर्ष सकिने बेला मात्रै नगरमा प्रदेशका योजना आएको थाहा हुन्छ ।’ नगरभित्र प्रदेशले पठाउने योजना समयमा पठाउनुपर्ने उनले बताए ।

‘प्रदेश सरकारले पठाउने बजेट समयमै पठाउनुपर्‍यो, आर्थिक वर्षको अन्त्यमा आउने बजेटले प्रभावकारी काम गराउन सकिँदैन । फ्रिज जाने सम्भावना धेरै छ,’ नगर प्रमुख बिष्टले भने, ‘नगरमा बजेट आउँदा खुसी हुनुपर्ने बेला खर्च गर्न मुस्किल देखिँदा चिन्तित तुल्याएको छ ।’

आर्थिक वर्षको अन्त्यमा प्रदेश सरकारले पठाउने योजना बजेट सक्नका लागि मात्रै भएको जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुँवरले बताए । ‘प्रदेशबाट आएको बजेट पावर र पहुँचका आधारमा आएको हो । प्रदेशका जनताबारे प्रदेशका योजनामा कुनै समन्वय हुँदैन,’ उनले भने, ‘भौगोलिक विकटता, जनसंख्या र आवश्यकताका आधारमा नभई पहुँचका आधारमा योजना छनोट भएका छन् ।’

मजदुरी गरेर कमाउनेहरूका लागि असार मसान्तमा जताततै काम खुलेको मंगलसेन–५ की शान्ति विक बताउँछिन् । ‘हिउँदमा कतै काम पाइएन । अहिले त ठूला योजनाका काम जताततै काम नै काम छ । जता बढी ज्याला दिन्छौं भन्छन् उतै काम गर्न जान्छौं ।’

देशको संरचना बदलिए पनि असारमा नै बजेट सक्न भ्याइनभ्याइ गर्ने प्रवृत्तिमा कमी नआएको मंगलसेन–१३ का स्थानीय अमर धामी बताउँछन् । ‘असारे विकास भन्नासाथ बजेट सक्ने झारा टार्ने काम हो भनेर सहजै बुझ्न सकिन्छ । र, यही असारे विकासले आर्थिक अनियमितता बढाएको छ,’ उनले भने, ‘यसरी असार लागेपछि बजेट सक्नकै लागि विकास निर्माणका काममा चासो दिने यो प्रवृत्ति गलत छ जसलाई निरुत्साहित गर्नैपर्छ ।’

प्रकाशित : जेष्ठ २७, २०७८ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?