२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कोरोना निको भएका व्यक्ति भन्छन्– मनोबल उच्च राख्नुपर्छ

गणेश चौधरी

टीकापुर — टीकापुरका राजेन्द्र रावल पेसाले ड्राइभर हुन् । कोरोना संक्रमण कहाँ कतिबेला भयो उनले मेसो पाएनन् । ज्वरो आउन थालेपछि उनी उपचारका लागि कोहलपुर अस्पताल पुगे ।

अस्पतालमा मुटु, किड्नीलगायतका अंगको जाँच गराए । चिकित्सकले बोसो जमेको भनेर केही औषधि दिए । ज्वरो आउने भएकाले कतै कोरोना भयो कि भनेर उनले पीसीआर परीक्षण पनि गराए । रिपोर्ट आउन करिब एक साता लाग्यो ।

साथीभाइसित चिया खाएर बसिरहेका बेला उनको मोबाइलमा कोरोना पोजिटिभ भनेर खबर आयो । उनले आफना साथीभाइलाई आफूलाई कोरोना पोजिटिभ भएको जानकारी गराए । चिया खाएर नसकिँदै घरमा गएर होम आइसोलेसनमा बसेको उनले सुनाए । उनले भने, घरका अरूलाई भने सरेन ।’

‘कोरोना पोजिटिभ आएपछि निकै नै तनाव भयो । कोरोनाले भकाभक मान्छे मरेका समाचार आइरहन्थे । मरिने त होइन भन्ने मनमा लागिरहन्थ्यो । तैपनि साथीभाइले हिम्मत गर्न सुझाइरहन्थे । मैले पनि चिकित्सकको सल्लाह लिइरहे’ उनले भने, ‘मुख्य कुरा मनोबल रहेछ । कोरोना संक्रमण हुँदा खान मन नलाग्ने हुनाले खाना कम भए झन च्याप्ने रहेछ । सन्तुलित भोजनमा निकै जोड दिनुपर्ने रहेछ ।’

टीकापुर–७ का भीम विक पनि १५ दिनसम्म घरमै बसे । ज्वरो आउने, जीउ दुख्ने अनि खान मन नलाग्ने भएपछि शारीरिक रूपमा निकै कमजोर भएको उनले सुनाए । उनले भने, ‘मलाई ज्वरो आएको केही दिनमा बच्चाहरूलाई ज्वरो सुरु भयो । पक्कै कोरोना होला भन्ने शंका त लाग्यो । तर पीसीआर गराउँदा पनि रिपोर्ट साता दिन लाग्ने भएकोले गराएनौ । बरु तातो झोल खानेकुरामा जोड दियौं ।’

प्रकाशित : जेष्ठ २६, २०७८ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?