२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कञ्चनपुरमा ५१ दिनपछि कोरोनाबाट मृत्यु शून्य

दोस्रो लहर सुरु भएपछि १ सय ६३ को मृत्यु

कञ्चनपुर — कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि कञ्चनपुरमा ५१ दिनपछि सोमबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य भएको छ । वैशाख ४ देखि संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको थियो । केही दिनदेखि कम हुँदै गएपछि सोमबार र मंगलबार मृत्यु शून्य छ ।

कञ्चनपुरमा ५१ दिनपछि कोरोनाबाट मृत्यु शून्य

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दोस्रो लहर सुरु भएपछि वैशाख ४ मा १ जनाको मृत्यु भएको थियो । त्यसयता दिनहुँ मृत्यु हुने क्रम जारी थियो । वैशाख २८ मा एकै दिन १५ जनाको मृत्यु भएको थियो । उक्त दिन ११ जनाको महाकाली अस्पतालमा, २ जनाको होम आइसोलेसनमा र २ जनाको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । यो अवधिमा महाकाली अस्पतालमा दैनिक ४/५ जनाको मृत्यु भएको छ । महाकाली अस्पतालमा पनि केही दिनदेखि मृत्युदर घटेको छ । महाकाली अस्पतालमा संक्रमणका कारण १ सय जनाको मृत्यु भएको थियो, जुन दोस्रो लहरपछि मात्रै भएको हो । पहिलो लहरमा महाकाली अस्पतालमा ३ सय जना भर्ना भए पनि मृत्यु भएको थिएन ।

‘अब मृत्युदर घटिसकेको छ, बिरामी थपिने क्रम पनि कम भएको छ,’ अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले भने, ‘भाइरसले पनि आफ्नो नेचर बदले जस्तो लागेको छ, सामान्य खालका बिरामी अप्ठेरो भएर अस्पताल आउने क्रम घटेको छ, अहिले दीर्घरोगीहरूमा मात्रै समस्या देखिएको छ ।’ उनका अनुसार अहिले दिनमा एक/दुई जना मात्रै भर्ना भइरहेका छन् । संक्रमण बढी भएका बेला दैनिक २५/३० जना भर्ना हुने गरेका थिए ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमणबाट १ सय ७९ जनाको मृत्यु भएको छ । जसमध्ये पहिलो लहरमा १६ जनाको र दोस्रो लहरमा १ सय ६३ जनाको मृत्यु भएको छ । ‘जिल्लाभरिमा लामो समयपछि मृत्यु शून्यमा पुगेको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले भने, ‘अब संक्रमण दर पनि निकै घटेको छ ।’ महाकाली अस्पतालमा केही दिनअघिदेखि नै बीचबीचमा मृत्यु शून्य भए पनि जिल्लाभरिमा वैशाख ४ पछि पहिलोपटक सोमवार मृत्युदर शून्य भएको हो । पछिल्लो समय परीक्षणको दायरा बढ्नुका साथै ग्रामीण भेगमा रहेको लक्षणसहितका संक्रमितको संख्या पनि निकै घटेको छ ।

मंगलबार कञ्चनपुरमा ५१ जनामा संक्रमण पुष्टि भएको छ भने ४७ जना संक्रमणमुक्त भएका छन् । हाल जिल्लामा ५ सय २० सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा वैशाखपछि मात्रै ५ हजार ३० को पीसीआर परीक्षण गर्दा ३ हजार २ सय ७९ मा संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ हजार ३ सय २ जना निको भएका छन् । वैशाखयतामात्रै १३ हजार ७ सय ९८ को एन्टिजेन परीक्षण भएको छ । जसमध्ये २ हजार १ सय ३९ मा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : जेष्ठ २६, २०७८ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?