तेस्रो लहरको त्रास धेरै, तयारी थोरै- सुदूरपश्चिम - कान्तिपुर समाचार

तेस्रो लहरको त्रास धेरै, तयारी थोरै

‘बालबालिकाका लागि बेड, आईसीयू र भेन्टिलेटरको व्यवस्थापनमा तत्काल जोड दिनुपर्छ’
भवानी भट्ट

कञ्चनपुर — कोरोना संक्रमणको दोस्रो लहर ओरालो लागेसँगै तेस्रो लहरको चर्चा र त्रास सुरु भइसकेको छ । भारतमा वैज्ञानिकहरूले दुई/तीन महिनापछि तेस्रो लहरको संक्रमण सुरु हुने र जुन बालबालिकाका लागि घातक हुने अनुमान गरेका छन् । त्यसैअनुसार पूर्वतयारी पनि सुरु गरिसकेका छन् । नेपालमा पनि तेस्रो लहरको चर्चा र त्रास निकै बढेको छ । तर त्यसअनुसार पूर्वतयारी भने न्यून देखिन्छ । 

नेपालमा पनि सरकारले रोकथाम तथा उपचारका लागि विभिन्न निर्देशन गरेको छ । अस्पतालहरूमा २० प्रतिशत बेड बालबालिकाका लागि व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ । तर सरकारको निर्देशनअनुसार स्रोत साधन नै नहुँदा बालबालिकाको उपचारका लागि बेड व्यवस्थापनमा समस्या देखिएको छ ।

‘हामीले तेस्रो लहर रहर रोकथाम र नियन्त्रणको तयारी त सुरु गरेका छौं तर त्यसअनुसार स्रोत साधन नहुँदा समस्या भएको छ,’ महाकाली अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. गोविन्द रोकायाले भने, ‘साना बालबालिका बढी प्रभावित भए अहिलेको आईसीयूले काम गर्दैन, एनआईसीयू चाहिन्छ ।’ उनले यसका लागि प्रदेश सामाजिक विकास मन्त्रालय र स्वास्थ्य सेवा विभागमा जानकारी गरिएको बताए ।

अन्य बेड व्यवस्थापनको काम पनि भइरहेको डा. रोकायाले बताए । उनले तेस्रो लहरले पार्न सक्ने प्रभाव र त्यसका लागि आवश्यक औषधिलगायत अन्य उपचारका विषयमा पनि अध्ययन तथा पूर्वानुमान भइरहेको बताए । ‘भारतमा कस्तो तयारी हुन्छ, उपचार पद्धति कस्तो हुन्छ त्यहीअनुसार हामीले पनि तयारी गर्ने हो,’ उनले भने, ‘त्यहीअनुसार बजेट पनि माग गरिएको छ ।’

अहिले महाकाली अस्पतालमा २ जना बालरोग विशेषज्ञ डाक्टर कार्यरत छन् । उनीहरूसँग पनि आवश्यक परामर्श भइरहेको डा. रोकायाले बताए । ‘दोस्रो भेरिएन्ट भारतबाट भित्रिएको हो, तेस्रो पनि भारतबाटै भित्रिने जोखिम हुन सक्छ,’ जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले भने, ‘यसका लागि नाकामै थप कडाइ र घर फर्किनेको व्यवस्थापनमा जोड दिनुपर्छ ।’ उनले जनचेतनामूलक गतिविधिहरू नकामा सतर्कता अहिलेको जस्तै भएमा तेस्रो भेरिएन्टले बालबालिका बढी प्रभावित हुन सक्ने अनुमान गरिएकाले त्यो झनै जोखिम हुन सक्ने बताए ।

भारतमा दोस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिइरहेका बेला घर फर्किने नेपालीहरूको व्यवस्थापन सही ढंगले नभएकै कारण समुदायसम्मै संक्रमण फैलिएको विज्ञहरू बताउँछन् । जसका कारण धेरैले ज्यान गुमाउन पुगेको उनीहरूको भनाइ छ । फेरि पनि नाकामा उचित व्यवस्थापन हुन नसके अहिलेभन्दा झनै जोखिम निम्तिन सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

नाकामा व्यवस्थित होल्डिङ सेन्टरदेखि भारतलगायत जोखिमग्रस्त क्षेत्रबाट फर्किनेलाई क्वारेन्टाइन तथा आइसोलेसनमा राख्ने विषयमा पनि स्थानीय तहले तयारी थाल्नुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । गत वर्षझैं व्यवस्थित ढंगले क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन गर्न सके जोखिम कम हुने उनीहरू बताउँछन् ।

‘केन्द्रबाट पनि पेडियाट्रिक बेड तथा अन्य व्यवस्थापन गर्न निर्देशन भएको छ,’ डा. रोकायाले भने, ‘बालबालिकाका लागि बेड, आईसीयू र भेन्टिलेटरको व्यवस्थापनमा तत्काल जोड दिनुपर्छ ।’ उनले अस्पतालहरूमा अक्सिजनको व्यवस्थापनका लागि प्लान्ट निर्माणलगायतका काम तत्कालै गर्नुपर्ने बताए । पछिल्लोपटक दोस्रो लहरको कोरोना संक्रमण तीव्र गतिमा बढेका बेला यहाँका अस्पतालमा अक्सिजनको हाहाकार नै भयो । अक्सिजनकै अभावमा धेरैले ज्यानसमेत गुमाए । फेरि तेस्रो लहर आउँदा अक्सिजनको अभाव नहोला भन्न सकिन्न । त्यसकारण अस्पतालहरूले वैकल्पिक व्यवस्थाहरू अपनाएर तत्काल अक्सिजन आपूर्तिमा जोड दिनुपर्ने स्वास्थ्यकर्मीले सुझाएका छन् ।

प्रकाशित : जेष्ठ २६, २०७८ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्

केमिकल नहुँदा रोकियो रगत परीक्षण

बिरामीका आफन्त चर्को मूल्य तिरेर निजीमा धाउन बाध्य
प्रशान्त माली

काठमाडौँ — पाटन अस्पतालमा केमिकल नहुँदा ‘एबीजी’ रगत जाँच दुई सातायता बन्द छ । बिरामीका आफन्तहरू चर्को मूल्य तिरेर निजीमा धाउन बाध्य छन् । एबीजी जाँच विशेष गरी आईसीयूमा उपचार गर्नुपर्ने बिरामीको गरिन्छ । बिरामीको रगतको नमुना लिएर त्यसमा अक्सिजन, कार्बनडाइअक्साइड, सोडियम, पोटासियमलगायतको मात्रा जाँच गरिन्छ ।

ललितपुरकी रत्नदेवी महर्जन एक्कासि पेट दुखेपछि पाटन अस्पताल भर्ना भइन् । उनको अवस्था असामान्य बन्दै गएपछि आईसीयूमा सारियो । चिकित्सकले तत्काल सीबीसी, आरएफटी, एलएफटी र एबीजी जाँच गर्न भने । आफन्तले सबै जाँच गराउन २ हजार ५ सय २८ रुपैयाँ तिरे । तर, अस्पतालको ल्याबमा जाँदा एबीजी अन्त गराउन भनियो । पुल्चोकको अल्कामा पुगेर जाँच गराउँदा १ हजार ८ सय ५० रुपैयाँ तिर्नुपर्‍यो । पाटनमा भए त्यसको १ हजार १ सय रुपैयाँ तिरे पुग्थ्यो ।

दोलखाबाट आएर आईसीयूमा उपचार गराइरहेका सुवास केसीका आफन्तले पनि सुमेरु अस्पतालमा एबीजी जाँच गराए । ‘केमिकल अभाव त निजीमा पनि हुनुपर्ने हो’ सुवासका दाइ सुनीलले दुःख व्यक्त गरे । उनीहरू जस्तै एबीजी रगत जाँच गर्न केमिकल नहुँदा निजीमा धाउने थुप्रै छन् । अस्पताल प्रशासनले भने निषेधाज्ञाका कारणले केमिकल बजारमा अभाव भएको दाबी गरेको छ । ‘एबीजी चेक गर्न केमिकल बेलायत, अमेरिकालगायत मुलुकबाट झिकाउनुपर्छ । अन्तर्राष्ट्रिय उडान बन्द भएका कारणले ल्याउन नसकेको हो,’ पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले भने ।

अस्पतालमा खोकीको औषधिको उत्पादन पनि सातायता ठप्प छ । अस्पतालबाट उत्पादन गरिने यो औषधि प्राइभेट फार्मेसीको भन्दा आधा सस्तो छ । भरपर्दो मानेर अस्पतालमै पुगेर खरिद गर्ने बिरामी धमाधम फर्किरहेका छन् । नुवाकोटका रामकुमार ढुंगानाको पिसाब थैलीको क्यान्सरका कारण अप्रेसन भयो । चार वर्षयता उनी कृत्रिम पिसाब थैलीलगायत औषधि अस्पतालबाट लिँदै आएका छन् । रामकुमारका छोरा नवराजले पिसाब थैली सात पिस मागेकामा दुई वटा मात्र पाए । ‘पेटमा झुन्ड्याउने यो ब्याग अस्पतालबाहिर फार्मेसीमा पाइँदैन । कुनै डेढ/दुई महिना पनि टिक्दैनन् । अभाव भएको भन्दै मागेजति दिएनन्,’ उनले भने ।

शान्त भवनका रूपमा परिचित पाटन अस्पताल स्थापनाको ६९ वर्ष बित्यो । युनाइटेड मिसनले सरकारलाई हस्तान्तरण गरेकै १५ वर्ष बित्यो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा चलेको १३ वर्ष बित्यो । मुलुकको केन्द्रीय अस्पताल भए पनि अझै यहाँ जनरलबाहेक विशिष्ट उपचारको सुविधा छैन । सस्तो र सुलभ भएकाले मुलुकभरबाट सर्वसाधारण उपचार गर्न पाटन आइपुग्नेको घुइँचो लाग्ने गर्छ । तर, यहाँ नसा, न्युरो, रक्तनली, क्यान्सरजस्ता रोगसम्बन्धी विशषेज्ञ छैनन् । प्लास्टिक र बर्न सर्जरी हुँदैन । यी रोग लागेका बिरामी महँगो शुल्क तिरेर निजीमा उपचार गराउन बाध्य छन् ।

सबै स्रोतसाधनले सम्पन्न मानिएको अस्पतालमा मुटु रोग विशेष सेवा छैन । आँखासम्बन्धी हेर्ने विभाग छ तर अप्रेसनको व्यवस्था छैन । ६० बेडको अप्रेसन वार्ड पनि अपुग छ । यहाँ नाक, कान, घाँटी र पेटको उपचार भने राम्रो मानिन्छ । ‘नसाको उपचारका लागि युनिट खडा गरी १० देखि १५ करोड लगानीमा अप्रेसन थिएटर खोल्न सकिन्छ । यसका लागि ठाउँ पनि पुग्छ । लगानी उठ्न एक वर्ष पनि लाग्दैन । बिरामीलाई फर्काउनुपर्दा अस्पताललाई उल्टो घाटा भइरहेको छ,’ एक चिकित्सकले भने, ‘अन्य रोगका विभागहरू पनि ८ देखि १० करोड लगानीमा सुरु गर्न सकिन्छ । तर, यसप्रति कसैको ध्यान जान सकेको छैन ।’

प्रकाशित : जेष्ठ २६, २०७८ ०९:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×