२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

विश्वासको मत लिँदै मुख्यमन्त्री भट्ट : यस्तो छ अंकगणित र आकलन

५२ सदस्य रहेको प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न २७ जनाको समर्थन आवश्यक पर्छ
अर्जुन शाह

धनगढी — सत्ता साझेदार दल एमालेभित्र किचलो बढ्दै गएका बेला सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले एकाएक विश्वासको मत लिने निर्णय गरेपछि मंगलबार प्रदेशसभामा मतदान हुँदै छ । 

विश्वासको मत लिँदै मुख्यमन्त्री भट्ट : यस्तो छ अंकगणित र आकलन

मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्ने लगभग पक्का जस्तै रहेको सांसदहरूले बताएका छन् । माओवादी केन्द्रको आफ्नै १३ मत र एमालेभित्र माधव नेपाल पक्षधरको कम्तीमा १५ मत गरी कुल २८ मत पाउने मुख्यमन्त्री भट्टको आकलन छ । ५२ सदस्य रहेको प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ ।

एमालेभित्र माओवादी नेतृत्वको सरकारका मुख्यमन्त्री भट्टलाई समर्थन दिने र नदिने भन्नेमा किचलो छ । पार्टीले समर्थन नदिन निर्देशन गरिरहेको छ भने संसदीय दलले भट्टलाई समर्थन दिने निर्णय गरेको छ ।

संसदीय दलमा नेपाल पक्षधर सांसदहरूको नेतृत्व रहेकाले उनीहरूकै साथले पनि सहजै विश्वासको मत प्राप्त गर्न आवश्यक संख्या पुग्ने मुख्यमन्त्रीको आकलन रहेको माओवादी केन्द्रका सांसद महेशदत्त जोशीले बताए ।

प्रदेशसभामा सभामुखबाहेक एमालेका २४ जना सदस्य छन् । तीमध्ये अध्यक्ष ओली पक्षधर सांसदहरूले संसदीय दलको ह्विप उल्लंघन गरेको अवस्थामा पनि कम्तीमा १५ जना सदस्य आफ्नै पक्षमा रहने नेपाल पक्षको दाबी छ । त्यस अवस्थामा मुख्यमन्त्री भट्टले कम्तीमा २८ मत पाउने आकलन गरिएको सांसदहरुको भनाइ छ ।

केन्द्रको निर्णयको पर्खाइमा कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससमेत मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने योजनामा पुगेको सांसदहरूले बताए । तर प्रदेश संसदीय दलले त्यससम्बन्धी ठोस निर्णय गरिसकेको छैन । ‘केन्द्रको निर्देशनको पर्खाइमा छौं,’ कांग्रेस सांसद भरतबहादुर खड्काले भने, ‘सरकारमा सम्मानजनक सहभागिता वा आलोपालो नेतृत्वको समझदारीमा अहिले माओवादी नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय हुन सक्छ ।’

प्रदेशसभामा कांग्रेसका १२ जना सदस्य छ । अन्य दुई जना जसपाका सांसद छन् । उनीहरूको धारणा भने खुलेको छैन ।

प्रकाशित : जेष्ठ २५, २०७८ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?