१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लापरबाहीले बढ्दै संक्रमण

‘कोरोना संक्रमणको शंका भएको मानिसको मृत्यु हुँदा पनि कोही डराएको देखिएन’
मेनुका ढुंगाना

अछाम — अछामको पञ्चदेवल विनायक नगरपालिका—३ का ५२ वर्षीय पुरुषले शुक्रबार कमलबजार पीसीआर प्रयोगशालामा कोरोना परीक्षणका लागि स्वाब दिए । त्यति बेलासम्म उनलाई अवस्था गाह्रो भइसकेको थियो । रिपोर्ट नआउँदै शनिबार उनको मृत्यु भयो । आइतबार मात्रै रिपोर्ट आयो । उनको भीडभाड जम्मा भएर दाहसंस्कार गरिएको थियो ।

लापरबाहीले बढ्दै संक्रमण

समुदायमा संक्रमण भएको शंका हुँदा पनि सचेत नहुने, लापरबाही गर्ने, जथाभावी भीडभाड गर्ने गतिविधिमा कमी आउन नसकेको कमलबजार नगरपालिकाका सूचना अधिकारी टेकबहादुर विष्टले बताए । ‘कोरोना संक्रमणको शंका भएको मानिसको मृत्यु हुँदा पनि कोही डराएको देखिएन,’ उनले भने, ‘पहिले त समयमा स्वास्थ्य संस्थामा पुग्दैनन् । स्वयं शंकास्पद व्यक्तिबाटै लापरबाही बढेको छ ।’

परीक्षणको दायरा बढाउनुको साटो घटेको सूचना अधिकारी बिष्टले बताए । समुदायमा परीक्षण गर्न जाँदा पनि लक्षण देखिएकाले स्वाब दिन नमानेको उनले बताए । ‘कमलबजार—४ को चाल्सामा परीक्षणका लागि जाँदा कसैले पनि स्वाब दिन मानेनन् । उनीहरूलाई सचेत गराउन सबैले लागे मात्रै समुदायमा संक्रमण दर घट्न सक्छ,’ उनले भने । बयालामा २० जनाको परीक्षण गर्दा १३ जना पोजिटिभ देखिएका छन् । ‘अहिले पनि नेगेटिभभन्दा पोजिटिभ आउने दर बढेको छ । परीक्षणको दायरा बढाउनुपर्छ,’ उनले भने । बिष्टका अनुसार अछाममा निषेधाज्ञा लागू भएको एक महिना बितिसक्दा पनि समुदायमा संक्रमण दर घटेको छैन । गाउँमा भएका संक्रमितहरू सामूहिक काममा जाने, एकान्तबासमा नबस्ने र लक्षण देखिएका व्यक्तिले परीक्षण नगर्ने जस्ता कारणले समुदायमा संक्रमण बढेको हो ।

कोरोना संक्रमण देखिएका व्यक्तिहरू खुलेआम हिँड्न थालेपछि गाउँ नै जोखिममा रहेको कमलबजार–३ बयालाका योगेश ढकालले बताए । ‘कोरोना संक्रमणको पुष्टि भएका व्यक्ति र तिनका घरका सदस्यले गरेको लापरबाहीले सोच्न बाध्य बनाएको छ । २०/२५ जना महिला रोपाइँ गर्न जान्छन् । त्यही भीडमा कोरोना संक्रमितहरू पनि छन्,’ ढकालले भने, ‘बयालामा परीक्षण गराएका ८० प्रतिशतमा संक्रमण देखिएको छ । यस्तो बेला पनि गम्भीर लापरबाही देखिएको छ ।’ स्थानीय तहले संक्रमितको अवस्थाबारे जानकारी नलिने वास्ता नगर्ने गरेका कारण लापरबाही बढेको ढकाल बताउँछन् ।

संक्रमितहरूको लापरबाहीका कारण समुदायमा संक्रमण बढेको कमलबजार–७ जामाका महेश जैशीले बताए । ‘भारतबाट आउँदा पनि होम क्वारेन्टाइन बसेनन् । परिवारसँंग घुलमिल भएर बसे । अहिले संक्रमित हुँदा पनि सचेत भएको देखिँदैन,’ उनले भने, ‘लक्षण नदेखिएका संक्रमितहरू कोरोना केही पनि होइन भन्दै घुम्छन् । लक्षण देखिएकाहरू पनि लापरबाही गरिरहेका छन् ।’

गोडमेल र रोपाइँको सिजन चलिरहेका बेला सामूहिक काम गर्न जाने भएकाले समुदायमा संक्रमणको दर बढ्न सक्ने जैसीको भनाइ छ । ‘गाउँमा सामूहिक काम हुन्छन् । रोपाइँ गर्दा पनि ३०/३५ जना जम्मा हुन्छन् । यो बेला झन् संक्रमणको डर देखिएको छ,’ उनले भने, ‘प्रशासनले निषेधाज्ञा लागू गरेको छ । तर स्थानीयले नै उल्लंघन गरिरहेका छन् । बजारमा मात्रै निषेधाज्ञा देखिन्छ ।’

प्रकाशित : जेष्ठ २४, २०७८ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?