१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कैलालीमा रोपाइँको चटारो

गणेश चौधरी

टीकापुर — कैलालीको दक्षिण पूर्वी भेगमा धान रोपाइँ सुरु भएको छ । रानी–जमरा कुलरिया सिँचाइ आयोजनाका कारण नहरमा प्रशस्त पानी आउन थालेपछि चाँडै रोपाइँ सुरु भएको हो ।

कैलालीमा रोपाइँको चटारो

कोरोनाको कहरको चिन्ता नगरी किसानहरू धमाधम खेतमा आली बनाउने, हिल्याउने तथा रोपाइँका लागि ब्याड निकाल्ने काममा व्यस्त छन् । राष्ट्रिय गौरवको रानी–जमरा र कुलरिया सिँचाइ आयोजनाअन्तर्गतका सिँचाइ कुलोको कारण पानीको समस्या नभएपछि रोपाइँ सुरु गरिएको यहाँका किसानहरू बताउँछन् ।

कैलालीको जानकी गाउँपालिका–४ का किसान रामेश्वर रेग्मीले विगतमा पानीको असुविधाले ढिलो गरी रोपाइँ हुने भए पनि अब भने असार नलाग्दै रोपाइँ सुरु हुन थालेको बताए । ‘यो वर्ष आकाशे पानी पर्न सुरु भइसकेको थियो,’ उनले भने, ‘कुलोमा पनि प्रशस्त पानी भएपछि छिट्टै ब्याड राखेर रोपाइँ सुरु भएको हो ।’ यो वर्ष गत वर्षको जस्तो रासायनिक मलको पनि समस्या नभएको र निषेधाज्ञाका कारण ढुवानीमा भने सास्ती रहेको उनले सुनाए । उनले भने, ‘कुलोमा पानी आएपछि सजिलो भएको छ । पानीको समस्या छैन । पानी नभएर वर्षमा मुस्किलले २ बाली उत्पादन गर्न सकिन्थ्यो । अहिले सजिलै वर्षमा ३ बाली उत्पादन गर्न सकिन्छ ।’

टीकापुर–८ का किसान धनसिंह साउदले पानी जम्ने खल्ला खेतमा चाँडै रोपाइँ नगरे ढिलो रोप्न नसकिने भएकाले पनि चाँडै रोप्नुपर्ने र कुलामा पानी पनि प्रशस्त भएकाले रोपाइँ थालिएको बताए । यो क्षेत्रमा धानलाई मुख्य बालीका रूपमा खेती गरिँदै आएको छ । रानी–जमरा कुलरिया सिँचाइ आयोजनाको कमान्ड एरियामा १४ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । करिब १० हजार हेक्टर जग्गामा धान खेती गरिँदै आएको जनाइएको छ । रोपाइँका लागि अहिले समय भइसकेको कृषि प्राविधिकहरू बताउँछन् । रानी–जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यालयका प्रमुख भरत कँडेलले धानको ब्याडको ठीक समयमा रोपाइँ गरे उत्पादन राम्रो हुने बताए । ‘रोप्नका लागि २२ देखि २५ दिनको बयाड राम्रो मानिन्छ,’ उनले भने ।

सिँचाइ आयोजनाको नहर निर्माण नहुँदा किसानले देसावर (हरेक वर्ष गाउँभरिका सबैले श्रमदान गरी कुलो खन्ने पुरानो चलन) मार्फत कुलोमा पानी ल्याउनुपर्थ्यो । रानी–जमरा र कुलरिया नहरमा पानी ल्याउन गाउँका बडघरमार्फत सबै किसान भेला गराइ रानी–जमरा र कुलरिया कुलोको मुहान खन्ने परम्परा थियो ।

प्रकाशित : जेष्ठ २४, २०७८ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?