टिंकरमा खटिए प्रहरी

हेलिकप्टरबाट प्रहरीलाई ६ महिनालाई पुग्ने खाद्यान्न, बस्दोबस्तीका सामान ढुवानी
मनोज बडू

दार्चुला — व्यास गाउँपालिका–१ टिंकरस्थित सीमा प्रहरीचौकीमा अन्य वर्षभन्दा एक महिना ढिलो गरी प्रहरी खटिएको छ । शनिबार हेलिकप्टरबाट बस्दोबस्तीको सामान लगेर सदरमुकामबाट प्रहरी टोली टिंकर पुगेको हो ।

यसअघि टिंकरस्थित प्रहरी वैशाख तेस्रो सातासम्म सीमा चौकीमा पुगिसक्थ्यो । यसपालि हिमपातको समस्या देखाएर एक महिना ढिलो गरी प्रहरी टोली उक्लिएको स्थानीयले बताएका छन् । त्यहाँ कार्यरत १३ जनाको हातहतियार, बस्दोबस्तीको सामान ढुवानी गर्न साधन नपाइदा प्रहरी ढिला खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टिंकरका स्थानीय भने यसपालि वैशाख दोस्रो साता सदरमुकामबाट कुञ्चा (बेंसीबाट उक्लिएका) सरेका थिए । ‘प्रहरी हेडक्वार्टरले टिंकरमा प्रहरी खटाउनका लागि हेलिकप्टरको व्यवस्था गरिदिएको हो,’ दार्चुला प्रहरीका प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले भने, ‘प्रहरी नायब निरीक्षकको कमाण्डमा १३ जनाको टोली टिंकर सीमा चौकीमा खटिएको छ ।’ हेलिकप्टरबाट नै प्रहरीलाई ६ महिनालाई पुग्ने खाद्यान्न, बस्दोबस्तीका सामान, हतियार, खानेपानीको पाइपलगायतका अत्यावश्यक वस्तु ढुवानी गरिएको उनले बताए ।

छाङरुबाट टिंकरको सीमा प्रहरी चौकी टाढा भएकोले ढुवानीको व्यवस्था नहुँदा समयमै खटाउन अप्ठ्यारो भएको डीएसपी भट्टले बताए । हिउँदमा अघिल्लो वर्षसम्म टिंकर र सीतापुलको प्रहरी टोली व्यास गाउँपालिका–२ स्थित दुम्लिङ झर्थ्यो । यसपालि व्यासको छाङरुमा रहेको सशस्त्र प्रहरीसंँगै बसेको थियो । दुईवटै चौकीका जनशक्ति बस्न ठाउँको समस्याका कारण केही जनशक्ति सदरमुकाम झरेको थियो ।

सदरमुकाम झरेको जनशक्ति पठाउनलाई समस्या भएको हुँदा प्रहरीलाई टिंकर जान ढिलो भएको डीएसपी भट्टले बताए । अघिल्ला वर्ष भारतीय बाटो प्रयोग गरी प्रहरी व्यास क्षेत्रमा पठाइन्थ्यो । यसपालि कोरोनाको कारण नाका बन्द रहेको र ढुवानीको साधन पनि पाउन नसकिएकाले वैकल्पिक व्यवस्था गर्नुपरेको हो । शनिबार सदरमुकामबाट प्रहरी जनशक्ति र खाद्यान्नसहित बन्दोबस्तीका सामान बोकेको हेलिकप्टर टिंकरमै अवतरण गराइएको हो । हेलिकप्टरले ६ ट्रिप टिंकर र ३ ट्रिप सीतापुल चौकीको ओसारपसार गरेको थियो ।


प्रकाशित : जेष्ठ २३, २०७८ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?