कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

संक्रमण र मृत्युदर घट्यो

अहिले बिरामी भर्ना हुने संख्याभन्दा डिस्चार्ज हुनेको संख्या बढी छ
गणेश चौधरी

टीकापुर — कैलालीको टीकापुर अस्पतालमा उपचाररत कोरोना संक्रमित र बिरामीको मृत्युदर घट्दै गएको छ । संक्रमितको संख्या पनि दिनहुँ कम हुन थालेको छ । केही दिनअघिसम्म कोरोना संक्रमित ८ जनासम्मको एकै दिन ज्यान गएको थियो । हाल यो क्रम घट्दै गएर टीकापुर अस्पतालमा दिनमा एक जनाको मात्र मृत्यु भएको तथ्यांक छ ।

संक्रमण र मृत्युदर घट्यो

अस्पतालमा जेठ १५ गते मृत्युदर शून्य छ । १६ देखि २० गतेसम्म दिनमा एक जनाको मात्र मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमित नयाँ बिरामी भर्ना हुने संख्याभन्दा डिस्चार्ज हुनेको संख्या बढी छ । १५ देखि २० गतेको अवधिमा अस्पतालमा उपचाररत ३४ जना डिस्चार्ज भएका छन् भने २४ जना नयाँ भर्ना भएका छन् ।

वैशाखको अन्तिम र जेठको पहिलो साता कोरोना संक्रमित बिरामीको मृत्युदर निकै बढी थियो । एकैदिन धेरैको संख्यामा मृत्यु भइरहेको थियो । वैशाख २६ गते ६ जना र वैशाख २७ गते ८ जनाको मृत्यु भएको थियो । ‘एकै दिन ८ जना कोरोना संक्रमितको ज्यान गयो । अहिले मृत्यु हुने कम भएको छ,’ अस्पतालका प्रमुख डा. रेमकुमार राईले भने ।

अस्पतालले उच्च उपचार कक्ष (एचडीयू) को व्यवस्थापन गरी कोरोना संक्रमितको उपचार सुरु गरेको र स्थानीयस्तरमा अक्सिजन अभियान सञ्चालन गरी अक्सिजन आपूर्ति सहज भएपछि कोरोना संक्रमित बिरामीको ज्यान जोगिन थालेको हो ।

केही दिनअघि अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या र मृत्यु हुने क्रम निकै बढी थियो । बिरामीको अस्पतालको बरन्डामा राखेरसमेत उपचार गर्नुपरेको थियो । ‘स्थिति नियन्त्रणभन्दा करिब बाहिर गइसकेको अवस्था थियो । सीमित स्वास्थ्यकर्मीले धान्न मुस्किल भइरहेको थियो,’ डा. राईले भने, ‘त्यसैमाथि अक्सिजनको चरम अभाव हुन पुग्यो । तर स्थिति अहिले नियन्त्रणतर्फ अघि बढेको छ ।’

टीकापुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. राईले अस्पतालको टिमले पनि कोरोना संक्रमित बिरामीको उपचारमा राम्रो भूमिका निर्वाह गरेको र स्थानीय स्तरबाट पनि अक्सिजनको व्यवस्थापनमा सहयोग भएपछि कोरोना संक्रमित बिरामीको मृत्युदर कम हुँदै गएको बताए । उनले भने, ‘सिरियस बिरामीलाई एचडीयूमा सामान्यलाई जनरल वार्डमा र कतिपयलाई अब्जरभेसनमा राखेर उपचार थाल्यौं । सबैको सहयोगले संक्रमित बिरामी मर्ने संख्यामा कमी आएको छ ।’

टीकापुर अस्पतालमा उपचाररत निको भएर डिस्चार्ज भएका १ सय २० जना र हालसम्म अस्पतालमा कोरोना संक्रमित ४५ जनाको मृत्यु गएको अस्पतालले जनाएको छ । अस्पतालमा बिहीबारको कोरोना संक्रमित तथ्यांकअनुसार एचडीयूमा ९ जना, जनरल वार्डमा १० जना र अब्जरभेसनमा ८ जना गरी २७ बिरामी उपचाररत छन् ।

प्रकाशित : जेष्ठ २३, २०७८ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?