१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

सुदूरपश्चिम एमाले संसदीय दलका प्रमुख सचेतक परिवर्तन

अर्जुन शाह

धनगढी — नेकपाभित्र अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच रस्साकस्सी चलिरहेका बेला दलको सुदूरपश्चिम संसदीय दलले प्रमुख सचेतक फेरबदल गरेको छ । यसअघि प्रमुख सचेतक रहेका तारा लामा तामाङलाई पदमुक्त गरेर शुक्रबार लालबहादुर खड्कालाई प्रमुख सचेतक नियुक्त गरिएको छ ।  

सुदूरपश्चिम एमाले संसदीय दलका प्रमुख सचेतक परिवर्तन

दलका नेता प्रकाशबहादुर शाहले सभामुखलाई पत्राचार गर्दै यसअघि जिम्मेवारीमा रहेका तामाङलाई अन्य जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले पदबाट मुक्त गरिएको उल्लेख गरेका छन् । उनको ठाउँमा कञ्चनपुरकै लालबहादुर खड्कालाई प्रमुख सचेतक नियुक्त गरिएको पत्रमा उल्लेख छ । सचेतक पदमा दुर्गा कुमारी कामीलाई नियुक्त गरिएको छ । सचेतक पद यसअघि रिक्त थियो ।

बिहीबार बसेको संसदीय दलको बैठकले नियुक्तिको सबै अधिकार दलका नेता शाहलाई दिएको थियो । आन्तरिक मामिला ताथ कानुन मन्त्रीसमेत रहेका शाह वरिष्ठ नेता नेपाल पक्षधर हुन् ।

प्रदेशमा मन्त्रिपरिषद् विस्तार तथा हेरफेरको तयारीसमेत चलेको छ । शुक्रबार नै केही मन्त्री थप्ने मुख्यमन्त्रीको तयारी भए पनि अपरान्हसम्म कसैलाई नियुक्त गरिएको छैन । अहिले एमालेबाट प्रकाशबहादुर शाह, माया भट्ट र कृष्णराज सुवेदी मन्त्री छन् ।

सोमबार एमाले स्थायी कमिटिले मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिइएको समर्थन फिर्ता लिनुका साथै सरकारमा सहभागी एमालेका तीन जनालाई फिर्ता हुन निर्देशन दिएपछि सुदूरपश्चिमको राजनीति तरंगित छ । बिहीबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्ने र सरकारबाट पनि फिर्ता नहुने सर्वसम्मत निर्णय गरेको थियो ।

बिहीबार नै एमालेका तीनजना मन्त्रीले प्रदेश अध्यक्ष कर्ण बहादुर थापाले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिएका छन् ।


प्रकाशित : जेष्ठ १४, २०७८ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?