परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा बेवास्ता

मेनुका ढुंगाना

अछाम — अछाममा वैशाख १९ गतेदेखि निषेधाज्ञा जारी गरे पनि कोरोना संक्रमित थपिने क्रम घटेको छैन । दोस्रो लहरको संक्रमण गाउँगाउँसम्म पुगेको छ । गाउँका चिया र किराना पसलमा भीडभाड भइरहने र निषेधज्ञा पालना नगरी हूल बाँधेर हिँडडुल गरेका कारण संक्रमित बढिरहेको स्थानीय बताउँछन् ।

परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा बेवास्ता

‘स्वाब परीक्षणका लागि दिएपछि छुट्टै बस्नुको साटो सबैसँग घुलमिल भइरहेका हुन्छन् । निगरानी गर्ने निकाय कोही छैन,’ मंगलसेन नगरपालिका–५ का राजेश भाट भन्छन्, ‘संक्रमित कति भए, मृत्यु कतिको भयो भनेर सबै निकाय संख्या गनेर बसेका छन् । संक्रमण के कारणले तीव्र गतिमा फैलिएको छ भन्नेबारे कसैलाई मतलब छैन ।’

संक्रमितको सम्पर्कमा आएकाको अवस्था बुझ्नुपर्ने र कन्ट्याट ट्रेसिङलाई बढाउनुपर्ने मंगलसेन–५ की स्वास्थ्य स्वयंसेविका मथुरा विष्टले बताइन् । ‘लक्षण देखिएका धेरै व्यक्तिले कोरोना परीक्षण गरेका छैनन् । अझै संक्रमित बढ्न सक्छन्,’ उनले भनिन्, ‘गाउँमा कोरोना धेरै फैलिसकेको छ । सरोकारवालालाई गाउँको अवस्था के छ भन्नेबारे हामी जानकारी दिन तयार छौं ।’ अछामको कमलबजार प्रयोगशालामा पीसीआर परीक्षणका लागि संकलन गरिएका सबै स्वाब नयाँ संक्रमितको भएको सूचना अधिकारी टेकबहादुर विष्टले बताए । ‘स्वाब लिएपछि लक्षण देखिएर आएको, कन्ट्याक्ट ट्रेसिङजस्ता अप्सन हुन्छन् । पछिल्लो चरणमा कन्ट्याट ट्रेसिङको स्वाब आएको छैन,’ उनले भने, ‘कन्ट्याक्ट ट्रेसिङ गर्‍यो भने संक्रमित धेरै बढ्छन् ।’

दोस्रो लहरमा अछाममा २ हजार ४७ जना संक्रमित भएका छन् । १५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका कोभिड फोकल पर्सन मीन कुँवरले बताए । मंगलसेन नगरपालिकामा ४ सय ५६, साँफेबगर नगपालिकामा २ सय ६२, बान्नीगढी जयगढ गाउँपालिकामा १ सय ७९, मेल्लेख गाउँपालिकामा १ सय ५७, रामारोशन गाउँपालिकामा १ सय ३० जना संक्रमित छन् ।

त्यस्तै, चौरपाटी गाउँपालिकामा ६४, कमलबजार नगरपालिकामा ३ सय ३०, तुर्माखाँद गाउँपालिकामा १ सय ३५, पञ्चदेवल विनायक नगरपालिकामा २ सय ७७ र ढकारी गाउँपालिकामा ४८ जना संक्रमित भएका छन् । बिहीबारसम्म १ हजार ४ सय जना संक्रमित निको भएका र ६ सय ३२ सक्रिय संक्रमित छन् । ‘संक्रमणको दर घटेको छैन बढेको छ । संक्रमित मध्ये १५ प्रतिशत जोखिममा छन्,’ उनले भने, ‘परीक्षणको दर बढाउने हो भने धेरै संक्रमित बढ्छन् ।’ उनका अनुसार हालसम्म मेल्लेखमा ४ जना, मंगलेसनका ३ जना, साँफेबगर ३ जना, बान्नीगढी जयगढका २ जना र चौरपाटीका २ जना, कमलबजारका १ जना गरी जम्मा १५ जनाको मृत्यु भएको हो ।

प्रकाशित : जेष्ठ १४, २०७८ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?