संक्रमित र कुरुवालाई निःशुल्क भोजन

गणेश चौधरी

टीकापुर — कैलालीको टीकापुर अस्पतालमा उपचाररत कोरोना संक्रमित र कुरुवाका लागि स्थानीयस्तरबाट निःशुल्क खानाको व्यवस्था गरिएको छ । टाढाका बिरामी र कुरुवालाई खाना खान समस्या भएपछि निःशुल्क खानाको अभियान चलाएको संयोजक स्थानीय अशोक रावलले बताए ।

संक्रमित र कुरुवालाई निःशुल्क भोजन

‘अस्पताल आसपासका सबै होटल बन्द छन् । टाढा घर भएकालाई खाना ल्याउन पनि समस्या छ,’ उनले भने, ‘त्यसैले अस्पताल हाताभित्रै पकाएर बिरामी र कुरुवालाई खाना नास्ता खुवाइरहेका छौं ।’

रावलको अगुवाइमा स्थानीय युवाहरूले रकम जम्मा गरेर खानानास्ता दिन सुरु गरेपछि अहिले सहयोगी हातहरूसमेत बढ्न थालेका छन् । केही व्यक्तिले दाल, चामललगायतका खाद्यान्न सहयोग गरेका छन् भने कसैले नास्ताका लागि दूध, अण्डालगायत सामग्री दिने गरेका छन् । ‘हामी आफैंले रकम जम्मा गरेर खानानास्ता दिन सुरु गर्‍यौं । अहिले अरुले पनि सहयोग गरिरहेका छन्,’ संयोजक रावलले भने । युवा संघ आवद्ध युवाहरूले अस्पतालमा बिहानको खाजा र साँझको खानाको व्यवस्था गरेका छन् । बिहानको खाना भने मैनादेवी फाउन्डेसनले खुवाइरहेको ।

अस्पताल प्रवेशद्वारमा स्थानीय युवाको अर्को समूहले बिरामीलाई स्वास्थ्य सामग्री पनि वितरण गरिरहेको छ । नौ युवाले आफैं रकम संकलन गरेर मास्क, पन्जा, सेनिटाइजरजस्ता सामग्री सहयोग गरेका छन् । सुपर कर्णाली डिलक्स यातायात प्रालिले बिरामीका लागि पाँचवटा अटो रिक्सा निःशुल्क सञ्चालनमा ल्याएको छ । हाल टीकापुर अस्पतालमा ४३ संक्रमितको उपचार भइरहेको छ ।

प्रकाशित : जेष्ठ १३, २०७८ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?