आइसोलेसनमा छैन पौष्टिक खाना

‘कोरोनाले बिरामी भएका बेला राम्रो खाना नपाउँदा झनै कमजोर भइयो’
मेनुका ढुंगाना

अछाम — अछामको मंगलसेन नगरपालिका–५ की ३४ वर्षीया महिला र उनका श्रीमान्लाई दुई साताअघि कोरोना संक्रमण भयो । १७ दिनसम्म उनीहरू जिल्ला अस्पतालको आइसोलेसन वार्डमा बसे । श्वासप्रश्वासमा समस्या भएपछि श्रीमान्लाई अक्सिजन दिनुपर्‍यो । स्वास्थ्यकर्मीबाट उपचार पनि राम्रै भयो । तर खानपिन राम्रो नभएर दुवै जना कमजोर हुँदै गए ।

आइसोलेसनमा छैन पौष्टिक खाना

‘बिहान चियाबिस्कुट दिन्थे । ११ बजेतिर खाना अनि साँझ खाना दिन्थे । मासुको त के कुरा दिउँसो चियासम्म पाइँदैनथ्यो,’ श्रीमतीले भनिन्, ‘हाम्रा बूढाबूढी दुवैलाई कोरोना भयो । घरमा ससाना केटाकेटी मात्र छन् । बाहिरबाट खाना ल्याइदिने पनि कोही भएनन् । कोरोनाले गर्दा गम्भीर बिरामी भएको बेला राम्रो खाना नपाउँदा झनै कमजोर भइयो ।’

आर्थिक अवस्था कमजोर भएका मंगलसेन–५ कै एक दलित दम्पतीलाई पनि दुई साताअघि कोरोना देखियो । श्वास फेर्न गाह्रो हुने भएपछि श्रीमतीलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखियो । श्रीमान्–श्रीमती दुवै मजदुरी गरेर जीविकोपार्जन गर्छन् । कहिले भारी बोक्ने, कहिले ढुंगा बोक्ने यस्तै काम गर्दागर्दै दुवैलाई संक्रमण देखियो र आइसोलेसनमा बस्नुपर्ने भयो । तर अस्पतालको १३ दिनको बसाइमा खानपिनको तालमेल नमिल्दा अहिलेसम्म गाह्रो भएको उनको भनाइ छ ।

‘अस्पतालभित्रै आइसोलेसन वार्डमा बस्यौं । क्यान्टिनबाट जे दियो त्यही खानैपर्‍यो । दाल, भात, तरकारीबाहेक अरू केही थिएन । कहिलेकाहीं बिहान चियासँग बिस्कुट दिन्थे । त्यत्ति नै हो,’ श्रीमान्ले भने, ‘आफू घरमा भएको भए पनि कसैसँग उद्यारो मागेर पनि राम्रो खाना खुवाउँथे । म पनि बाहिर आउन नमिल्ने, अस्पतालबाट पोसिलो खाने कुरा केही पनि नपाइने ।’

मंगलसेन–३ का अर्का संक्रमितका कुरुवाको अनुभव पनि उस्तै छ । अस्पतालले दिने खानाले मात्रै कोरोना जित्न नसकिने उनले बताए । ‘संक्रमितले के खाएमा कोरोना जितिन्छ भन्नेबारे सबैलाई थाहा छ । अस्पतालमा त पौष्टिक खाजा भनेर चियाबिस्कुट दिन्छन् । यस्तो तरिकाले अस्पताल जाने बिरामीलाई झन् गाह्रो हुन्छ ।’

पहिलो चरणमा संक्रमित भएका व्यक्तिलाई बिहान खाना, दिउँसो खाजा र बेलुकाको खानाको व्यवस्था भए पनि अहिले बिहानबेलुकाको खाना मात्रै दिइएको जिल्ला अस्पतालको क्यान्टिनका सञ्चालक रतन बोहराले बताए । ‘अहिले माछामासु पनि दिने गरेको छैन । अस्पतालबाट जे दिनु भन्ने खबर आयो हामीले त्यही दिने हो,’ उनले भने । संक्रमितका कुरुवालाई पनि संक्रमितले खाने जस्तै खाना दिने गरेको उनको भनाइ छ ।

कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको छ । अहिले अस्पतालहरू संक्रमितले भरिभराउ छन् । गत वर्षको तुलनामा मृत्युदर पनि बढी देखिएको छ । यस्तो अवस्थामा कोरोना लागिहाल्यो भने के खाने, कति खाने, केका लागि खाने ? यसबारे जानकारी राख्दा फाइदाजनक चिकित्सक बताउँछन् । ‘कोरोना निको हुने कुरा व्यक्ति स्वयंमा भर पर्छ । त्यसैले खानपान र जीवनशैलीमा परिवर्तन आवश्यक छ । जोसँग रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) धेरै छ, उसले रोगसँग सजिलै लड्न सक्छ,’ चिकित्सकले भने, ‘त्यसैले आइसोलेसनमा रहेका संक्रमितलाई इम्युनिटी पावर बढाउने खानेकुरा खुवाउनुपर्छ ।’ जिल्ला अस्पतालले नै चाउचाउ र बिस्कुटजस्ता तयारी खाजा दिने गरेको छ । तर, यस्ता खानेकुराले झन् असर गर्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

प्रकाशित : जेष्ठ ११, २०७८ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?