अक्सिजनलाई जुट्यो एक करोड

गणेश चौधरी

टीकापुर — अक्सिजन अभावले कोरोना संक्रमितको उपचार प्रभावित भएपछि कैलाली र कञ्चनपुरमा संघसंस्था, व्यापारिक प्रतिष्ठान र व्यक्तिहरूबाट तत्काल आपूर्ति गर्ने र प्लान्ट स्थापना गर्ने अभियानमा एक करोड रुपैयाँ जुटेको छ ।

अक्सिजनलाई जुट्यो एक करोड

कैलालीको धनगढी र टीकापुर तथा कञ्चनपुरको महेन्द्रनगरमा अक्सिजनका लागि सहयोग अभियान सुरु भएको हो । यो अभियानमा दुवै जिल्लाका केही स्थानीय तह पनि संलग्न भएका छन् भने सुदूरपश्चिम प्रदेश सरकारले पनि अक्सिजन प्लान्ट स्थापनाका लागि रकम उपलब्ध गराएको छ ।

टीकापुरमा ५० लाख

टीकापुर अस्पतालमा अक्सिजन आपूर्तिका लागि करिब ५० लाख संकलन भएको छ । टीकापुर सरोकार समूह, टीकापुर अस्पताल र टीकापुर उद्योग वाणिज्य संघको संयुक्त पहलमा रकम संकलन भएको हो । टीकापुर अस्पतालमा अक्सिजन अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन नपरोस् भनेर वैशाख २६ गतेबाट अक्सिजन अभियान सुरु गरिएको हो । अक्सिजनका लागि टीकापुर सरोकार समूहले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेको थियो । अक्सिजन संकलन अभियानअन्तर्गत कतिपयले तुरुन्त अक्सिजन सिलिन्डर रिफिल गरेका र कतिपयले रकम दिएका अभियानकर्मीले बताएका छन् ।

अक्सिजन अभियान सञ्चालन भएपछि टीकापुर अस्पतालमा उपचाररत बिरामीका लागि तत्कालका लागि अक्सिजनको कमी नभएको टीकापुर अस्पतालका कोरोना फोकल पर्सन डा. रमेशप्रसाद उपाध्यायले बताए । उनले भने, ‘अक्सिजन रिफिलका लागि अब टीकापुर सरोकार समूहको सहयोग भए खासै अप्ठ्यारो नहोला ।’

टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि प्रक्रिया सुरु गरिएको छ । अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि प्रदेश सरकारको ८० लाख, टीकापुर नगरपालिकाको २० लाख, जानकी गाउँपालिकाको १५ लाख र भजनी नगरपालिकाको १५ लाख गरी १ करोड ३० लाखको सहयोगमा टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिने अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले जानकारी दिएका छन् ।

अक्सिजन प्लान्ट निर्माण गर्न करिब डेढ महिना लाग्ने जनाइएको छ । अहिले टीकापुर अस्पतालमा नेपालगन्जबाट अक्सिजन आपूर्ति गर्ने गरिएको छ । अस्पतालमा निर्माण हुने अक्सिजन प्लान्टमा दैनिक करिब ६० सिलिन्डर अक्सिजन भर्न सकिने क्षमताको हुने जनाइएको छ । प्लान्ट निर्माणका लागि ७ जनाले टेन्डर हालेका र त्यो टेन्डरको बायोमेडिकल इन्जिनियरले मूल्यांकन गरिरहेका अध्यक्ष रावलले बताए । उनले भने, ‘दुई दिन जतिमा मूल्यांकनको काम सकिन्छ र प्लान्ट निर्माणको काम अघि बढ्छ ।’

महाकाली अस्पताललाई ५० लाख

महेन्द्रनगरस्थित महाकाली अस्पतालमा अक्सिजन अभाव हुन नदिन विभिन्न संघसंस्थाले आर्थिक सहयोग गरेका छन् । उनीहरूले नगदसँगै अक्सिजन पनि उपलब्ध गराएका हुन् । महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीका अनुसार अक्सिजनको अभाव हुन नदिन हालसम्म विभिन्न संघसंस्था र व्यक्तिहरूले ५० लाख बढी सहयोग गरेका छन् । उक्त रकममध्ये २० लाख भीमदत्त नगरपालिका र १० लाख वेतकोट नगरपालिकाले उपलव्ध गराएको हो । ‘उक्त रकम तत्कालको अभाव टार्नका लागि सहयोग भएको हो,’ अध्यक्ष जोशीले भने, ‘विभिन्न संघसंस्थाबाट अक्सिजन पनि सहयोग भइरहेको छ ।’ उनका अनुसार कञ्चनपुर उद्योग वाणिज्य संघ र युवा व्यवसायीहरूले अक्सिजन सहयोग गरिरहेका छन् । महाकाली अस्पतालमा संक्रमितको चाप बढेसँगै अक्सिजन अभाव पनि चर्किएको थियो । पछिल्लो समयमा भने केही सहज भएको अध्यक्ष जोशीले बताए ।

महाकाली अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि ४ करोड बजेट पनि निकासा भएको छ । सोहीअनुसार अस्पताल विकास समितिले टेन्डर पनि आह्वान गरिसकेको छ । ठूलो खालको प्लान्ट निर्माण भएपछि अक्सिजनको अभाव टर्ने अध्यक्ष जोशी बताउँछन् । अहिले अस्पतालमा सानो खालको अक्सिजन प्लान्ट छ । उक्त प्लान्टबाट दैनिक ६ सिलिन्डर मात्रै भरिने गरेको छ । संक्रमितको चाप बढेपछि अहिले दैनिक सय सिलिन्डर अक्सिजन आवश्यक परिरहेको छ । यसैगरी अस्पताल विकास समितिका अध्यक्ष जोशीका अनुसार प्रदेश सरकारले ८० लाख लिक्विड अक्सिजन प्लान्टका लागि निकासा गरेको छ । तर लिक्विड अक्सिजन उत्पादन प्लान्ट स्थापनामा समस्या देखापरेको उनले बताए ।

प्रकाशित : जेष्ठ १०, २०७८ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?