१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

थन्किए भेन्टिलेटर

गणेश चौधरी

टीकापुर — कैलालीको टीकापुर अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भयो । अस्पतालका भेन्टिलेटर दक्ष जनशक्तिको अभावमा प्रयोग भएनन् । उनलाई महँगो भाडा तिरेर हेलिकप्टरबाट चितवन लगियो । उनको उपचार जारी छ ।

अक्सिजनको हाहाकार भइरहेको टीकापुरमा भेन्टिलेटरको सुविधा पनि नभएपछि उपचारका लागि बाहिर लैजाने परेको ती महिलाका आफन्तले बताए ।

केही दिनअघि टीकापुर अस्पतालमा उपचार गराइरहेका टीकापुर–१ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषका आफन्तले पनि यस्तै पीडा बेहोरे । उनले भेन्टिलेटरको खोजी गरी कोहलपुर लैजाने निर्णय गरे । गम्भीर अवस्थाका उनको बाटैमा ज्यान गयो । यहाँ भेन्टिलेटर नभएर बिरामीले सास्ती खेप्नु परेको भने होइन । अस्पतालको सघन उपचार कक्षमा सात थान भेन्टिलेटर छन् । तर, ती प्रयोगमा आएका छैनन् ।

अस्पतालमा भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा महामारीमा पनि प्रयोगमा आउन नसकेको हो । कोरोना संक्रमितलाई श्वासप्रश्वासको गम्भीर समस्या हुने भएकाले यतिबेला भेन्टिलेटर प्रयोग निकै आवश्यक पर्ने स्वास्थ्यकर्मी बताउँछन् । ‘एकदमै कम अक्सिजन भएका बिरामीलाई कृत्रिम श्वासको व्यवस्था गर्न भेन्टिलेटर प्रयोग गरिन्छ,’ अस्पताल प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा रेमकुमार राईले भने, ‘भेन्टिलेटर सञ्चालनमा नआउँदा कतिपय बिरामी रेफर भएर गएका छन् ।’

डा. राईका अनुसार प्रदेश स्वास्थ्य तालिम केन्द्रले भेन्टिलेटर सञ्चालनको सामान्य तालिम लिएका डाक्टरले सञ्चालन गर्ने भनी पत्राचार गरेको छ ।

प्रकाशित : जेष्ठ ८, २०७८ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?