कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

५० शय्याको अस्पताल बनाइँदै

मोहन शाही

डोटी — डोटीमा ५० बेडको अस्थायी कोभिड अस्पताल स्थापना हुने भएको छ । अन्तरपालिका स्तरीय समन्वय बैठकले आइतबार अस्थायी कोभिड अस्पताल स्थापना गर्ने निर्णय गरेको हो । जिल्लाका ९ वटै स्थानीय तह अस्थायी अस्पताल स्थापना गर्न सहमत भएका हुन् ।

५० शय्याको अस्पताल बनाइँदै

प्रयोगविहिन अवस्थामा रहेको दिपायल राजपुरस्थित सेती सभाहललाई महामारी नियन्त्रण नभएसम्मका लागि अस्थायी कोभिड अस्पतालमा परिणत गरिने भएको छ । यसअघि सो सभाहललाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको थियो । जिल्ला अस्पतालमा संक्रमितहरूको संख्या बढ्दै जाँदा उपचार गर्न कठिनाइ हुन थालेपछि सबै स्थानीय तहहरूको संयुक्त लगानी हुने गरी अस्थायी अस्पताल सञ्चालन गर्न लागिएको दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले बताइन् । ‘सुरुमा संक्रमितको उपचार अस्थायी कोरोना अस्पतालमै हुन्छ,’ मलासीले भनिन्, ‘कडाखालको समस्या भएपछि जिल्ला अस्पतालमा रेफर गरिनेछ ।’

गम्भीर समस्या भएर उपचारका लागि जिल्ला बाहिर पठाउँदा विभिन्न कारण देखाउँदै उपचारबाट वञ्चित हुने गरेको गुनासो बढेपछि स्थानीय तहका जनप्रतिनिधिहरू अस्थायी अस्पताल स्थापनाका लागि सहमत भएका हुन् । जनशक्ति, आर्थिक स्रोत, उपकरण र स्रोतसाधनहरूका साथ अस्पताल सञ्चालनका लागि कार्यविधि निर्माण र कार्यदल समेत गठन गरिएको छ । समितिले अस्पताल स्थापनाका लागि चाहिने पूर्वाधार, औषधि जनशक्ति, स्वास्थ्य सामग्री र आर्थिकलगायतको प्रतिवेदन तयार गर्ने छ ।

त्यसैका आधारमा डोटीस्थित स्थानीय तहहरूले जनशक्ति, पूर्वाधार र आर्थिक स्रोत संकलन गरेर अस्पताल स्थापना गरिने छ । अस्पताल स्थापना, आर्थिक स्रोत सञ्चालन र अस्पताल सञ्चालनको जिम्मा जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको डीसीसीएमसीमा जिल्लास्थित सुरक्षाकर्मी, स्वास्थ्य कार्यालय, जिल्ला अस्पतलका प्रमुख तथा सरोकारवाला सदस्य छन् । जिल्लाका सबै पालिकाका प्रमुखहरू त्यसको आमन्त्रित सदस्य रहने व्यवस्था छ ।

अस्पताल स्थापनाका लागि सुजुङ अस्पतालले ३० वटा बेड उपलब्ध गराउने अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए । केही बेडहरू जिल्ला अस्पतालले उपलब्ध गराउने छ । महामारी नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताउँदै नगर प्रमुख सीताराम जोशीले अपुग बेडहरू शिखर नगरपालिकाबाट उपलब्ध गराउने उल्लेख गरे । केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले अस्पताल स्थापनाका लागि जिल्लास्थित सबै पालिकाकाहरू र जिल्लामा कार्यरत सबै क्षेत्रका संघ संस्थाले सहयोग गर्नुपर्ने बताए ।

प्रकाशित : जेष्ठ ४, २०७८ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?