कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

अनलाइन कक्षा पनि बन्द !

‘कोरोनाको प्रभाव कम भएन भने हाम्रो भविष्य नै अन्योल हुन्छ’
मेनुका ढुंगाना

अछाम — मंगलसेन नगरपालिका–५ की अन्सा ढुंगाना धनगढीमा नर्सिङ पढिरहेकी छन् । कोरोना संक्रमणले कैलालीमा निषेधाज्ञा भएपछि उनी अछाम घर आइन् । उनको अनलाइन कक्षा निरन्तर नै चलिरह्यो । पढाइलाई निरन्तरता दिन जसरी पनि उनी इन्टरनेटको पहुँचमा पुग्छिन् । कक्षामा सहभागी हुन्छिन् ।

अनलाइन कक्षा पनि बन्द !

‘पढाइ भइरहेको छ । खासै फरक परेको छैन । अनलाइनमा पहिलो पटक पढेकी हुँ,’ उनले भनिन्, ‘अब कलेज सुरु हुँदा पनि नपढेको विषय पढ्ने कुरा भएको छ । अहिले पढेको दोहोरिँदैन ।’ भौतिक रूपमा कक्षामा सहभागी नहुँदा पनि अनलाइन पढाइ भइरहेकाले अन्सा खुसी छिन् ।

तर, अछाममै पढ्ने विद्यार्थी भने अनलाइन कक्षाबाट वञ्चित छन् । मंगलसेन ५ की आइशा र अन्साले एउटै स्कुलबाट सँगै एसईई दिएका थिए । आइशा साँफेबगरस्थित जनकल्याण माविमा सर्भे विषय पढ्छिन् । उस्तै प्राविधिक विषय पढिरहे पनि आइशाको भने अनलाइन पढाइ छैन । यसले अछाममा पढ्ने विद्यार्थी भने आफ्नो कोर्स पूरा हुनबाट वञ्चित छन् । ‘धनगढी र काठमाडौं पढ्ने विद्यार्थी अछामबाट अनलाइन कक्षा लिन्छन् । हामी भने कलेज सुरु हुने दिनको पर्खाइमा छौ,ं’ आइशाले भनिन्, ‘यहाँका प्राविधिक विषय पढाउने विद्यालयले पनि यसरी कक्षा सञ्चालन गरेको भए अलि राहत मिल्थ्यो होला । कोरोनाको प्रभाव कम भएन भने हाम्रो भविष्य नै अन्योल हुन्छ ।’

मंगलसेन–५ का बिस्नु ढुंगाना शोडषा मावि मंगलसेनमा ८ कक्षामा पढ्छन् । गत वर्ष ७ कक्षाको परीक्षा दिएपछि लकडाउन भयो । बीचमा ७ कक्षाको नतिजा आयो । ८ कक्षाको पढाइ पुसबाट नियमित भयो । ४ महिना नियमित विद्यालय सञ्चालन भए पनि कुनै पनि विषय पूरा पढाइ भएका छैनन् । ‘जेठ २ गतेबाट दोस्रो चरणको परीक्षा हुने कुरा थियो । लकडाउनले वैशाख १३ गते नै विद्यालय बन्द भए । अब के हुन्छ भन्ने थाहा छैन,’ उनले भने, ‘लकडाउन भयो । ३ वटा परीक्षा हुनुपर्थ्यो । एउटा मात्रै भएको छ । अहिले घरमा त्यत्तिकै बसिरहेका छौं । आफैं पढ्छौं ।’

अघिल्लो शैक्षिक सत्र जस्तो यो शैक्षिक सत्रमा शिक्षकले मनोमानी ढंगले नतिजा सार्वजनिक गर्न नसक्ने शोडषा मावि मंगलसेनका प्रधानाध्यापक देवेन्द्र दुवे बताउँछन् । उनका अनुसार शोडषा माविका कुनै पनि विषयको पूरा पढाइ भएको छैन । ‘अहिले नियमित ३ महिना पढाइ भएको छ । पूरा कोर्स हुनलाई कम्तीमा ७ महिना पढाइ हुनुपर्छ । अहिलेसम्म विद्यार्थी उत्तीर्ण हुनेसम्मको पढाइ भएको छैन,’ उनले भने, ‘यस्तै अवस्थामा परीक्षा लिन र मूल्यांकन गर्न गाह्रो हुन्छ । अर्धवार्षिक परीक्षाले सबै मूल्यांकन हुँदैन ।’ जिल्लामा कोरोना संक्रमणको बढेपछि ७८ हजार विद्यार्थीको पढाइ अन्योल भएको शिक्षा विकास तथा समन्वय इकाइ अछामका प्रमुख लक्ष्मण गिरी बताउँछन् । सामुदायिक विद्यालय ४ सय ८५ र संस्थागत १९ मा पढ्ने विद्यार्थी तनावमा रहेको उनले बताए ।

‘अहिलेसम्म अछामका कुनै विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न सकेका छैनन् । सबै एकै ठाउँमा बसेर छलफल गर्न पाएका छैनौं । धेरैजसो शिक्षक विद्यार्थी पनि संक्रमित छन्,’ उनले भने ।

प्रकाशित : जेष्ठ २, २०७८ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?