दुर्गममा एम्बुलेन्स न अक्सिजन

बाटो कठिन भएकाले टाँटे स्वास्थ्यचौकीद्वारा सञ्चालित एम्बुलेन्स बूढीगंगाभन्दा माथि चढ्दैन
अर्जुन शाह

धनगढी — एक साताअघि बाजुरा सदरमुकाम बडिमालिका नगरपालिका–७ का वडाध्यक्ष ३४ वर्षीय विनोद विकलाई कोरोना संक्रमणले च्यापेपछि परिवारजनले नजिकैको जिल्ला अस्पतालमा पुर्‍याए । अस्पतालमा प्रारम्भिक उपचार गरे पनि डाक्टरहरूले अवस्था जटिल रहेको भन्दै डडेलधुरा वा धनगढी लैजान भने ।

दुर्गममा एम्बुलेन्स न अक्सिजन

बाजुरामा एउटा पनि एम्बुलेन्स सञ्चालनमा छैन । एम्बुलेन्स नभएपछि परिवारजनले भाडाको जिप खोज्दाखोज्दै ढिला भयो । पछि एक जना व्यवसायीको निजी जिप भाडा लिएर डडेलधुरा लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भयो ।

शव फर्काएर सदरमुकाम ल्याइयो । संक्रमित भएकाले उनको शव अरूजस्तो सद्गत गर्ने अवस्था थिएन । सेनाले शव व्यवस्थापन गर्नुपर्ने प्रावधानअनुसार सेना तयार त भयो तर जिल्लामा एउटा पनि शव वाहन नहुँदा अर्को समस्या आइलाग्यो । त्यो पनि नगरपालिकाले व्यवसायीकै जिप भाडा तिरेर उपलब्ध गराएपछि बल्लतल्ल सेनाले शव व्यवस्थापन गर्‍यो ।

बाजुरा सदरमुकाम मार्तडीमा एउटा पनि एम्बुलेन्स र शव वाहन छैन । जिल्लाभर एउटा मात्रै एम्बुलेन्स छ । टाँटे स्वास्थ्यचौकीले सञ्चालन गरिरहेको उक्त एम्बुलेन्स बूढीगंगाभन्दा माथि चढ्दैन । ‘सदरमुकाम क्षेत्रमा न त एम्बुलेन्स छ न शव वाहन नै,’ प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने, ‘सदरमुकाम आउने बाटो कठिन भएकाले टाँटे स्वास्थ्यचौकीअन्तर्गत रहेको एउटा मात्रै एम्बुलेन्स पनि होचो भएकाले मार्तडीसम्म पुग्न सक्दैन ।’

शव वाहन नहुँदा निकै समस्या हुने गरेको जिल्ला अस्पतालका प्रमुख डा. प्रकाश जोशी बताउँछन् । ‘गत आर्थिक वर्ष एम्बुलेन्स र शव वाहन खरिदका लागि बजेट आएको थियो । त्यो वर्ष खरिद गर्न नसकेर रकम फिर्ता भयो,’ उनले भने, ‘चालु वर्ष पनि एम्बुलेन्स र शव वाहन खरिदका लागि बजेट आएको छ, बल्ल खरिद गर्ने प्रक्रिया सुरु गर्दै छौं ।’

आईसीयू र भेन्टिलेटर त टाढाको कुरा, बाजुरामा अक्सिजनको उस्तै संकट छ । शनिबार जिल्ला अस्पतालमा १० वटा सानो परिमाणको सिलिन्डर मात्रै अक्सिजन मौज्दात रहेको अस्पतालका प्रमुख डा. जोशीले बताए । ‘११ जना संक्रमित उपचाररत हुनुहुन्छ, अर्को बिरामी थपियो वा अहिलेकै बिरामीलाई बढी मात्रामा अक्सिजन आवश्यकता भयो भने हामीलाई आपत् छ,’ डा. जोशीले भने, ‘१७ वटा सिलिन्डर धनगढी भर्न पठाएको एक साता भइसक्यो, पाइएको छैन । पाइहाले पनि धनगढीदेखि मार्तडी पुग्न १२ घण्टा लाग्छ ।’

सदरमुकाम क्षेत्र रहेको बडिमालिका नगरपालिकाका प्रमुख पदमबहादुर बडुवाल एम्बुलेन्स र शव वाहन खरिद गर्न आवश्यक स्रोतका लागि विभिन्न निकायसँग अनुरोध गरिरहेको बताउँछन् । ‘जिल्ला अस्पताल यही सदरमुकाममै भएकाले एम्बुलेन्स अनिवार्य चाहिएको छ । शव वाहन पनि नभई भएको छैन,’ नगर प्रमुख बडुवालले भने, ‘प्रदेश सरकारसहित विभिन्न निकायसमक्ष स्रोतका लागि हारगुहार गरिरहेको छु ।’

अर्कोतिर स्वास्थ्यकर्मीहरूका अनुसार बाजुराका ग्रामीण क्षेत्रमा यतिबेला घरघरमा कोरोना जस्तै लक्षण भएका रुघाज्वरोका बिरामी छन् । तर अधिकांशको कोरोना परीक्षण भने हुन सकेको छैन । भारतबाट घर आएकाहरू निस्फिक्री घुमिरहेका हुन्छन् । ‘गाउँघरको त के कुरा गर्नु, घरघरमा बिरामी छन्, न जाँच छ न उपचार,’ टाँटे स्वास्थ्यचौकीका प्रमुख दीपक शाह भन्छन्, ‘हाम्रोतिर त झन् लथालिंग अवस्था छ । बिरामी स्वयंले कोरोना जाँच गर्ने अग्रसरता देखाएर स्वाब संकलन गराए बेग्लै कुरा हो, नत्र सम्भव छैन ।’ सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमणका कारण बाजुरामा हालसम्म ६ जनाको मृत्यु भइसकेको छ । शनिबारसम्म २ सय २८ सक्रिय संक्रमित छन् ।

प्रकाशित : जेष्ठ २, २०७८ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?