अक्सिजनका लागि हारालुछ

‘बिरामीको चाप बढ्दै छ, अक्सिजन झन्झन् घट्दै छ’
भवानी भट्ट

कञ्चनपुर — महाकाली अस्पतालमा बुधबार दिनभरि अक्सिजनको हाहाकार भयो । अस्पतालकै प्लान्टबाट जेनतेन बिरामीलाई उपलब्ध गराइयो । साँझ २० सिलिन्डर अक्सिजन आउँदा बिरामीका आफन्तबीच हारालुछ नै भयो ।

अक्सिजनका लागि हारालुछ

त्यसपछि फेरि उस्तै अवस्था । बिहीबार साँझसम्म फेरि साँझ ५० सिलिन्डर अक्सिजन आएपछि फेरि बिरामीका आफन्तबीच हारालुछ चल्यो । ‘केही दिनदेखि यस्तै चलिरहेको छ,’ अस्पतालका कोभिड १९ फोकल पर्सन डा. गोविन्द रोकायाले भने, ‘अहिलेसम्म त जेनतेन धानिएकै छ, अलि अलि गरेर पुर्‍याएकै छौं ।’ उनका अनुसार बिरामीलाई आवश्यकताभन्दा पनि निकै कम अक्सिजन दिएर जोगाउनुपरेको छ । १० लिटर अक्सिजन आवश्यक भएकालाई ४/५ लिटर मात्रै दिइरहेको उनले बताए ।

कतैबाट अक्सिजन नआएको अवस्थामा अस्पतालकै प्लान्टबाट सिलिन्डरहरूमा अलिअलि भरेर बिरामीलाई दिने गरिएको डा. रोकायाले बताए । अहिले अस्पतालमा ८० बिरामी छन् । आईसीयूका ६ बेड र एचडीयूका १५ बेड सबै भरिभराउ छन् । ५० बेडको आइसोलेसन वार्ड पनि भरिएकै छ । इमर्जेन्सी वार्डमा समेत बिरामीको चाप अत्यधिक छ ।

अस्पतालमा अहिले दैनिक सय सिलिन्डरभन्दा बढी अक्सिजन आवश्यक पर्छ । तर बुधबार र बिहीबार जम्मा ७० सिलिन्डर मात्रै उपलब्ध भएको छ । धनगढी र नेपालगन्जबाटै अक्सिजन प्राप्त हुन नसकेपछि अभाव चर्किएको हो । धनगढीको प्लान्ट बिग्रेको र नेपालगन्जमा पनि माग बढी भएका कारण आवश्यकताअनुसार उपलब्ध हुन नसकेको अस्पतालले जनाएको छ । ‘बिरामीको चाप बढ्दै छ, अक्सिजन झन्झन् घट्दै छ,’ महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, ‘केही दिनदेखि त हाहाकार नै हुन थालेको छ ।’ उनका अनुसार अस्पतालमा खाली सिलिन्डर पनि थोरै भएका कारण झनै समस्या भएको हो । अहिले खाली सिलिन्डर सय मात्रै छन् । सबै एकैपटक भर्न सकिँदैन । आधाआधा गरेर आपूर्ति भइरहेको थियो । उद्योगहरूबाट कम आपूर्ति हुन थालेपछि ५० सिलिन्डरसमेत पाउन समस्या भएको उनले बताए ।

‘आईसीयूका लागि त हाम्रै प्लान्टले धान्थ्यो,’ जोशीले भने, ‘तर अभाव भएका बेला त्यहाँबाट अन्य बिरामीलाई पनि दिनुपरिरहेको छ ।’ पछिल्लो समय अस्पतालका लागि विभिन्न संघसंस्था र व्यक्तिले पनि अक्सिजन सहयोग गरिरहेका छन् । उनीहरूले पनि अस्पतालकै खाली सिलिन्डर भरेर अक्सिजन उपलब्ध गराइरहेका छन् । ‘हामीलाई कम्तीमा दुई सय खाली सिलिन्डरसम्म उपलब्ध भए रोटेसन मिलाउन सहज हुन्थ्यो,’ जोशीले भने, ‘जति हारगुहार गरे पनि खाली सिलिन्डर पाउनै गाह्रो भएको छ ।’ महाकाली अस्पतालमा ठूलो खालको अक्सिजन प्लान्ट निर्माणको अभियान पनि सुरु भएको छ ।

टीकापुरमा जुट्यो ३० लाख जुट्यो

टीकापुर– अक्सिजन अभाव भएपछि कैलालीको टीकापुरमा स्थानीयस्तरबाटै सञ्चालित अभियानबाट झन्डै ३० लाख रुपैयाँ संकलन भएको छ ।

अक्सिजनका लागि टीकापुर सरोकार समूहले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेपछि देश–विदेशबाट रकम संकलन भएको हो । आर्थिक स्रोत जुटे पनि अक्सिजन भने पाउन नसकिएको अभियानमा

संलग्न टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए । ‘अहिले हामीसित पैसाको कमी छैन तर काम भएन । सरकारले अक्सिजनको कोटा बढाइदिए हुन्थ्यो,’ अध्यक्ष भण्डारीले भने, ‘धन र मन भएकाले सहयोग त गरे तर पैसाको उपयोग हुन सकेन ।’

टीकापुर अस्पतालमा दैनिक कम्तीमा ६५ सिलिन्डर अक्सिजन आवश्यक छ तर, नेपालगन्जबाट टीकापुरका लागि जम्मा ४० सिलिन्डर मात्र रिफिल भइरहेको छ ।

प्रकाशित : वैशाख ३१, २०७८ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?